सुदीपदेखि प्रेमप्रसादसम्मको घटना : ऋण र खस्कँदो व्यापारले दिएको पीडा – Nepal Press

सुदीपदेखि प्रेमप्रसादसम्मको घटना : ऋण र खस्कँदो व्यापारले दिएको पीडा

काठमाडौ । २०७७ भदौमा मध्यपुर ठिमीका किराना व्यवसायी सुदीप अधिकारी परिवारसहित घरमै मृत भेटिए । बैंकको ऋण लिएर व्यवसाय सञ्चालन गरेका अधिकारी मानसिक तनावमा रहेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

कोरोना महामारीका कारण लगानी खेर गएपछि र ऋण तिर्न नसक्ने देखेर आत्महत्या गरिएको भनियो ।

न्यूरोड रञ्जना मलमा व्यापार गर्दै आएका सुदर्शन घिमिरेले पनि गत भदौमा आत्महत्याको बाटो रोजे । ऋणको ब्याज तिर्न बैंकले पटक पटक ताकेता गर्दै दबाब दिएपछि उनले आत्महत्याको बाटो रोजेको रञ्जनाकै व्यवसायीले त्यतिबेला पत्रकार सम्मेलन गरेर जानकारी गराएका थिए ।

पछिल्लोपटक मंगलबार संसद भवनअगाडि आत्मदाह गरेका इलाम फिक्कलका प्रेमप्रसाद आचार्यले पनि घटनाअघिको फेसबुक स्टाटसमा व्यवसायमा एकपछि अर्को असफलता औंल्याएका छन् । ठमेलको ट्राभल एजेन्सी र कृषिजन्य उत्पादनको व्यापारमा घाटा भएको र तिर्नै नसक्ने गरी ऋण लागेको उनले लेखेका छन् ।

आत्महत्या गर्ने अधिकांश व्यवसायी बैंकको ऋणमा डुबेका घटनाक्रमले देखाएको छ ।

व्यवसाय डुबेर आत्महत्या रोजेकादेखि व्यवसायबाटै पलायन भएका व्यवसायीको तथ्यांक व्यवसायीकै हकहितमा पैरवी गर्ने छाता संगठनहरूसँग छैन ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल धेरै व्यवसायी बैंकको ऋणका कारण तनावमा भएको बताउँछन् । कोही ऋण तिर्न नसकेर आत्महत्या गरेका छन भने केही पलायन समेत भएको उनले सुनाए । सरकारले संकूचित नीति लिएकै कारण उद्यमी व्यवसायी धेरै ठाउँमा अप्ठेरोको अवस्थामा रहेको अग्रवालको भनाइ छ ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले नेपालमा चाहिनेभन्दा बढी नियमन हुदा व्यवसायीहरूमा वितृष्णा बढाएको देखिएको बताए ।

उनी भन्छन्, ‘काम गर्नेहरूलाई आफ्नो बल बुद्धि लगाएर गरिखान दिनुपर्छ । ताकी बाँकी व्यवसायी हतोत्साहित हुने, आत्मदाह गर्ने अवस्था नआओस् । ’

व्यवसायीहरूले कोरोनाका कारण शिथिल बनेको अर्थतन्त्र, रुस-युक्रेन युद्धले खल्बल्याएको आर्थिक गतिविधिको चेन र साँघुरिएको सरकारी नीतिकै कारण उद्योगी-व्यवसायीले ऋण तिर्न सक्ने क्षमता गुमाएको बताइरहेका छन् ।

बैंकको बढ्दो ब्याजदरलाई लिएर उनीहरू सडकसम्म पनि उत्रिएका थिए । ऋणको भार थेग्न नसक्ने भन्दै तालाचाबी सरकारलाई बुझाउने व्यवसायीले पटकपटक चेतावनी दिँदै आएका छन् । सरकारले सधैँ आफूहरूको मनोबल बढाउन कानून, सेवा सुविधालगायतले प्रोत्साहित गर्नुपर्ने उनीहरूको माग छ ।

आत्महत्या किन गर्छन् ?

मनोविद् गोपाल ढकाल मानिसमा आश भन्ने कहीँ बाँकी नभएपछि आत्महत्याको बाटो रोज्ने बताउँछन् । विशेषगरी डिप्रेसनमा गएको मानिसले योजनाबद्ध रुपले आत्महत्या गर्ने उनको तर्क छ । आत्महत्या गर्ने ८० प्रतिशत जति डिप्रेसनकै कारणले हुने गरेको ढकालले सुनाए । अर्को क्षणिक आवेगमा आएर आत्महत्या गर्नेमा भने डिप्रेसनको लक्षण देखिँदैन ।

उनी भन्छन, ‘मान्छेको शारिरीकभन्दा कैयौं गुण ठुलो हुन्छ मनको पीडा । त्यसकारण यसको बैलेमा परामर्श तथा उपचार नपाए आत्महत्याकै बाटोमा पुग्छन् ।’

आफ्ना समस्याहरू खुलस्त भन्न नसक्ने वा भनेपनि कतैबाट सुनुवाइ नहुँदा मानिस डिप्रेसनमा पुग्छ र उसलाई दलदलमा फसेजस्तो हुन्छ । कतैबाट सहयोग नपाउने देखेपछि उसको लागि जिन्दगी जिउनुको सबै बाटो बन्द भई आत्महत्या हुने ढकालको भनाइ छ ।

प्रेमप्रसादको मृत्यु समाज र व्यक्तिले राज्य संयन्त्रबाट भोगिरहेको समस्याको प्रतिनिधिमुलक घटना भएको भन्दै उनको आत्महत्या नभई हत्या भएको आवाजसहित दबाबसमेत सुरू भएको छ । सरकारले समेत उनले उठाएका सवालहरूको छानबिन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *