‘६ महिनाभित्र सुन प्रतितोला १ लाख २५ हजार नाघ्छ’ – Nepal Press

‘६ महिनाभित्र सुन प्रतितोला १ लाख २५ हजार नाघ्छ’

काठमाडौं । सुनको मूल्य आगामी ६ महिनामा प्रतितोला १ लाख २५ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अबको ६ महिनामा सुनको मूल्य १ लाख २५ हजार पुग्नेछ ।

अहिले विश्व नै महँगीको चपेटामा छ । खाद्यान्न, लत्ताकपडादेखि बहुमूल्य धातुसम्मको मूल्यको ग्राफ उकालो लागिरहेको छ । योसँगै अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ ।

शाक्यले विश्वको अर्थतन्त्रको विश्लेषणले पनि सुनको मूल्य १ हजार ८ सय डलरमा रहेको र आगामी दिनमा ३ हजार देखि ४ हजार डलरसम्म पुग्ने देखिएको बताए । विश्वको यही आँकडालाई आधार मान्दा नेपालमा सुनको मूल्य २ लाख रुपैयाँसम्म पनि पुग्ने शाक्यको भनाइ छ ।

अध्यक्ष शाक्यले पाउन्डको तुलनामा डलर कमजोर हुँदा अहिले विश्व बैंकले समेत सुनको सञ्चिती बढाउँदै लगेको बताए । ‘विश्वका अधिकांश सेन्ट्रल बैंकले सुनको सञ्चिती बढाइरहेको छ’, उनले भने, ‘सुनको माग आवश्यकताअनुसार बढाउन मिल्दैन । यसले गर्दा विश्वव्यापी रुपमा महँगीदर बढिरहेको देखिन्छ ।’

यस्तै अन्तर्राष्ट्रियस्तरमा देखिएको रसिया र युक्रेन युद्धको समाधान अझै हुन सकेको छैन । यसको प्रत्यक्ष असर विश्वमै परिरहेको छ ।

कोभिड १९ को महामारीमा पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । कोभिडको समयमा व्यापार, व्यवसाय, कलकारखाना सबै बन्द हुँदा लगानी सुनतर्फ डाइभर्ट भएकाले सुनको मूल्य बढेको भन्दै त्यति वेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका थिए । कोरोना माहामारी कम हुँदै जाँदा घट्न थालेको सुनको मूल्यमा अहिले फेरि उतारचढाव देखिएको छ ।

मंगलबारमात्र नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । २०७७ सालमा सुनको मूल्यले नेपाली बजारमा १ लाख रुपैयाँ छोएर रेकर्ड बनाएको थियो । २०७५ सालमा पहिलो पटक सुनको मूल्यले ६० हजारको दर पार गरेको थियो ।

२०७६ सालसम्ममा सुनको मूल्य ८० हजार रुपैयाँ नाघ्यो । २०७७ सालमा सुनको मूल्यले प्रतितोला एकलाख रुपैयाँँ चुमेको सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । २०७८ सालमा पनि सुनको कारोबार प्रतितोला १ लाख रुपैयाँको आसपासमै भयो । अहिले सुनको मूल्यले १ लाख ६ हजार रुपैयाँ प्रतितोला पार गरेर रेकर्ड ब्रेक गरेको हो ।

गत मंसिरदेखि नै सुनको कारोबार प्रतितोला १ लाख रुपैयाँभन्दा माथि भइरहेको छ ।

नेपालमा कसरी निर्धारण हुन्छ सुनको मूल्य ?

बजारमा सुनको मूल्य निर्धारण हुँदा नेपाल सरकारको राजस्व (प्रति १० ग्राममा ८ हजार ५०० रुपैयाँ), बैंकको नाफा, बैंकमा लगानी गरेर किन्ने कम्पनीको नाफा र बैंकले बजारसम्म ल्याउन लाग्ने खर्च सबैलाई जोडेर मूल्य निर्धारण हुने गर्छ । नेपाली बजारमा सुनको मूल्य तलमाथि भइरहन्छ ।

नेपालले सुन अन्तर्राष्ट्रिय बजारबाट ल्याउँछ । त्यसैले त्यहाँको मूल्यको उतारचढावको प्रभाव नेपालमा पनि पर्ने व्यवसायीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर