सुस्ता बचाउ अभियानका संयोजकको उपचारका क्रममा मृत्यु – Nepal Press

सुस्ता बचाउ अभियानका संयोजकको उपचारका क्रममा मृत्यु

रुपन्देही । भारतीय पक्षद्वारा अतिक्रमित नेपाली भूमि संरक्षणमा संघर्षरत सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको क्रममा निधन भएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भई झण्डै एक महिनादेखि अस्पतालमा उपचाररत थिए। उनको उपचारको क्रममा मँगलबार साँझ मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

गुरुङको अकस्मात मस्तिष्काघात भएपछि रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको थियो । नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ देखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध लड्दै आएका थिए ।

२०६२ देखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाउ अभियान’ नामक समिति गठन गरेर अतिक्रमणको विरोध गर्दै आएका थिए । अतिक्रमण विरुद्ध लागेको भन्दै भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो । राजनीतिक परिवर्तनसँगै फेरिने सरकारसँग गुरुङसहितको टोलीले सुस्ताको अतिक्रमण भूमि फिर्ता ल्याउन माग गर्दै आएको थियो ।

स्थायी सीमा नभएका कारण भारतले पटकपटक अतिक्रमण गर्दै आएको भन्दै स्थायी सीमा स्तम्भ राख्न पहल गरिदिन सुस्तावासीले माग गर्दै आएका छन् । सुस्ताको १९ हजार चार सय ८० हेक्टरलाई भारतले विवादित भन्दै लालपुर्जा भएको जग्गा पनि नेपालीलाई जोतभोग गर्न दिएको छैन् ।


प्रतिक्रिया

One thought on “सुस्ता बचाउ अभियानका संयोजकको उपचारका क्रममा मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *