‘मरेको मान्छे बचाउने’ गफ दिएर भाइरल बनेका मणिरत्न ‘सम्पर्कविहीन’, भिडियो युट्युबबाट हटाइयो – Nepal Press

‘मरेको मान्छे बचाउने’ गफ दिएर भाइरल बनेका मणिरत्न ‘सम्पर्कविहीन’, भिडियो युट्युबबाट हटाइयो

काठमाडौं । संसारमा कुनै पनि जीवित प्राणीको एकपटक मृत्यु भइसकेपछि फेरि बौरिनसक्ने कल्पना विज्ञानले गरेको छैन । तर, यस्तै अकल्पनीय दाबी गर्दै एक युवक यतिवेला सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।

चितवन घर भएका मणिरत्न सापकाेटाले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिएर आफू मरेको मान्छे ब्युँताउने अनुसन्धानमा रहेको दाबी गरेका थिए । सो अन्तर्वार्ता वीर अस्पतालको गेट अगाडि रातको समयमा लिइएको थियो ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘अकालमै मरेका मान्छेहरुलाई बचाउन सक्ने केमिकल मैले बनाएको छु । यसकै परीक्षणका निम्ति भर्खर मृत्यु भएका व्यक्तिको शवको खोजीमा वीर अस्पताल आएको हुँ । अन्य अस्पतालमा पनि हामीले ताजा लाशहरु खोजिरहेका छौं ।’

आफ्नो टीमले बनाएको केमिकल केही बट्टाइ र मुसामा सफल परीक्षण गरेको सापकाेटाको दाबी थियो । मानिसमा भने परीक्षण गर्न बाँकी रहेको उनले बताएका छन् । कालगतिले वा वृद्धावस्थाले मरेकाहरुलाई बचाउन नसक्ने, तर झुण्डिएर, हृदयघात भएर वा अन्य आकस्मिक कारणले शरीरमा गम्भीर चोट नलागिकन मृत्यु भएकाहरुलाई बचाउन सक्ने सापकाेटाको भनाइ छ ।

युट्युबमा झण्डै साढे पाँच लाख फलोअर्स भएको रातोपर्दा टीभीमा यो ‘एक्स्क्लुसिभ’ अन्तर्वार्ता प्रशारण भएको थियो । मरेको मान्छे बचाउने अविश्वसनीय दाबी गरिएपछि अन्तर्वार्ता भाइरल भइहाल्यो । यद्यपि, धेरैले उनको दाबीमा अपत्यार गरे । उनलाई अर्को ‘विजय शाही’ को उपमा पनि दिइयो । कतिपयले चाहिं संसारमा केही पनि असम्भव नहुने भन्दै उनलाई प्रयास जारी राख्न हौस्याए ।

अन्तर्वार्तामा सापकाेटाका तीन वटा मोबाइल नम्बर पनि सार्वजनिक गरिएका थिए । उनले कतै कसैको अकाल मृत्यु भएमा तुरुन्तै आफूलाई खबर गर्न भन्दै हेलिकोप्टर चढेर भए पनि आउने बताएका थिए । तर, अन्तर्वार्ता आएसँगै सापकाेटा ‘सम्पर्कविहीन’ बनेका छन् । अन्तर्वार्तामा दिइएका तीनवटै नम्बरमा फोन लाग्दैन ।

अहिले उक्त अन्तर्वार्ता रातोपर्दा टीभीले युट्युबबाट हटाएको छ । आफ्नो नाम सागर बताउने उक्त युट्युब च्यानलका सञ्चालकले युवक नै सम्पर्कविहीन बनेपछि भिडियो हटाएको जानकारी दिए ।

‘उहाँलाई हामीले हिजो दिनभर फोन ट्राइ गर्‍यौं । तर, सम्पर्क हुन सकेन । त्यसैले भिडियो हटाएका छौं’, उनले भने ।

मरेको मान्छे बचाउने जस्तो हावादारी कुरा गर्नेको अन्तर्वार्ता किन लिएको भन्ने प्रश्नमा उनले बट्टाइ र मुसामा परीक्षण गरेको भिडियो नै देखाएपछि आफूहरु प्रभावित भएको बताए ।

‘उहाँले हामीलाई मोबाइलमा भिडियो देखाउनुभएको थियो । त्यसमा धेरै मानिसहरुको बीचमा मरेको बट्टाइ र मुसामाथि केमिकल परीक्षण गरिएको छ । केमिकलको प्रयोग भए पनि दुइटै जीव बाँचेको भिडिओमा देखिन्छ’, उनले भने ।

उनले ती युवा आफैं सम्पर्कमा आएपछि उनको बारेमा सोधखोज गरेको उल्लेख गरे ।

‘चितवनमा फार्मेसी सञ्चालन गर्नुहुँदो रहेछ । औषधि उपचारको सामान्य ज्ञान पनि भएकाले विश्वास गर्न कर लाग्यो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर