एकथान ‘सीडीओ’ बिदाइमा म किन छुट्नु ? – Nepal Press

एकथान ‘सीडीओ’ बिदाइमा म किन छुट्नु ?

दोलखा जिल्लामा सीडीओ (प्रमुख जिल्ला अधिकारी) र डीएसपी (प्रहरी नायब उपरीक्षक) सरुवा भै आउँदा र बिदा भै जाँदा स्वागत र बिदाइ गर्ने परम्परा छ ।

अब एकखाले हामीहरु जस्ताले सीडीओ भोजराज खतिवडालाई बिदाइका नाटकहरु मञ्चन गर्नेछौं । भोजराज खतिवडा दोलखाको सीडीओको जिम्मेवारी पूरा गरी सिरहा जिल्लामा सरुवा हुनुभएको छ । अब दोलखामा केही थान चाकडी समारोह चल्नेछन् । केही सय रुपैयाँका खादाहरु खतिवडाका गलामा बेहरिनेछन् । भोजभत्तेरहरु चल्नेछन् । विभिन्न गुणस्तरका फ्रेम र अनेक शब्दचाकरीले भरिएका अभिनन्दनपत्रहरु उहाँका हातमा थमाइनेछन् । मिले नमिलेका दाँत चम्काउँदै जबरजस्त हाँसो पोतिएका उहाँ र अरु जोडिएका तस्बिरहरु सामाजिक सञ्जालमा देखिनेछन् । रोइलोले भरिएका शब्दहरुले उहाँलाई उचाल्नसम्म उचालेर अझ उक्साउनेछ ।

सीडीओ खतिवडा सरुवाको कागज बुझेर रमनाका अन्तिम पलसम्म चाकरी सोहर्न दौडनेछन् । हिजोको परम्पराअनुसार सरकारी सेवा प्रवाह छाडेर हाकिमहरु चाकडी सभामा व्यस्त हुनेछन् । संघसंस्था र वित्तीय, सहकारी निकायहरु उहाँलाई बिदाइ गर्न समय माग्दै होलान् । कतिपय मिडिया कार्यालयभित्रबाट बिदाइका तस्बिरहरु सार्वजनिक हुनेछन् ।

सीडीओको प्रशासकीय भूमिकामा रहँदा उहाँले खास व्यक्ति र निकायहरुलाई खास गुण लगाउनु भएकै छ । उहाँहरुबाट आशीर्वाद र ढाड्स थाप्नुभयो नै होला । सायद अहिलेको सरकारले पनि दोलखा जिल्ला प्रशासन कार्यालयको इतिहासमै सबैभन्दा कमजोर र विवादास्पद सीडीओ भोजराज खतिवडालाई सिरहामा अनुमोदित गरेर पुरस्कृत गरेको छ । अहिलेको सरकारले सिरहा जिल्लाको सीडीओ बनाउनु उहाँको प्रयासको प्रतिफल होला । तर, उहाँको प्रशासकीय भूमिकामा सिरहामा कुनै पनि निर्वाचन नहोस् । ताकि सिरहावासी दोलखाली नागरिकले झैं मताधिकारबाट बञ्चित हुन नपरोस् ।

मैले दोलखाको विद्यार्थी र पार्टी राजनीतिको अगुवाको भूमिकामा हुँदा सीडीओहरुका कामहरु नजिकबाट नियालेको छु । तीन दशक लामो सक्रिय पत्रकारिता पेशामा रहँदा पनि सीडीओ र डीएसपीका काम र क्रियाकलाप नजिकबाट परिचित छु ।

मैले दोलखाको विद्यार्थी र पार्टी राजनीतिको अगुवाको भूमिकामा हुँदा सीडीओहरुका कामहरु नजिकबाट नियालेको छु । तीन दशक लामो सक्रिय पत्रकारिता पेशामा रहँदा पनि सीडीओ र डीएसपीका काम र क्रियाकलाप नजिकबाट परिचित छु । मेरा स्मरणमा कोही नरम व्यवहारका थिए, कोही रुखो स्वभावका । स्वभावहरु जे भए पनि केही (भ्रष्टाचारी र व्यभिचारी आरोपित) बाहेक प्रायः सबै सीडीओहरुमा काम, कर्तव्य, अधिकारहरु कानूनबमोजिम व्यवहार पाएको थिएँ । भूमिकाहरु सकेसम्म तटस्थ र सन्तुलित पाएको थिएँ । अरु सीडीओले पनि निर्वाचनहरुमा शान्ति सुरक्षाको नेतृत्व गरेको मैले देखेको थिएँ । सबै दलहरुसँग व्यवहार पनि रिझाएरै गरेकै हुन्थे । एक-दुईलाई छाडेर हेर्दा कुनै पनि सीडीओहरु अहिले जसरी यसअघि असक्षम र बदनाम भएनन् ।

निर्वाचनका कारणलाई लिएर भोजराज खतिवडालाई नेकपा एमाले दोलखाले कालोसूचीमा राख्नु राजनीतिक प्रतिशोध मान्न सकिएला । निर्वाचनमा पराजय भएको रिस सीडीओमाथि लगाएको भन्न सकिएला । एकजना नोकरशाहको नेतृत्व गर्ने सीडीओले कुनै राजनीतिक दललाई वास्ता गर्नुपर्छ भन्ने पनि छैन । कुनै राजनीतिक दलबाट पाएको आड, भरोसा र ढाड्सका कारण भोजराज खतिवडाले नेकपा एमालेको कालोसूचीबारे बाल दिनुपर्छ भन्ने पनि छैन ।

सरकारको प्रशासकीय भूमिकाभन्दा दलीय नून चाख्न रुचाएकै कारणले भर्खरै सम्पन्न तीन तहको निर्वाचनको खुलेयाम धाँधलीमा सीडीओ हिन्दु धर्ममा आधारित महाभारतका पात्र पक्षपाती धृतराष्ट्र झैं बन्नुभयो । १४ ठाउँमा जनताको मत लुटपाट, आधा दर्जन ठाउँमा मतपत्र र पेटिका कब्जा भैरहँदा उहाँ दृष्टिविहीन धृतराष्ट्र झैं हुनुभयो । महाभारतको हस्तिनापुर राज्यमा पाण्डवले जुवामा हारेको द्रौपदीलाई अपमान गर्न लछारपछार गर्दै सभामा ल्याइँदा उनी रजस्वला भएकी थिइन् । हिन्दु धर्ममा रजस्वला भएकी नारीलाई छोइबाट बञ्चित गरिन्छ । पर सरेका वेला शारीरिक अपमानित हुनुपरेपछि द्रौपदीले धृतराष्ट्रसामु प्रश्न गरेकी थिइन, ‘के यहाँको धर्म यही हो ?’ त्यसको जवाफमा धृतराष्ट्रले भनेका छन, ‘जुन वेला शक्तिमा हुनेले जे गर्छ त्यो नै धर्म हो ।’

सरकारको प्रशासकीय भूमिकाभन्दा दलीय नून चाख्न रुचाएकै कारणले भर्खरै सम्पन्न तीन तहको निर्वाचनको खुलेयाम धाँधलीमा सीडीओ हिन्दु धर्ममा आधारित महाभारतका पात्र पक्षपाती धृतराष्ट्र झैं बन्नुभयो ।

शक्तिमा भएको वेला गठबन्धन मिलेर निर्वाचनमा जे गर्‍यो, त्यो नै कानूनबमोजिम हो भन्ने आसयको बयान निर्वाचन आयोगमा दिएर पुनः निर्वाचन गराउन नदिन उहाँ निकै जोडबलले लाग्नुभयो । त्यस्तो अवस्थामा मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारीहरुले धाँधली भएकै हो भन्ने आसयको बयानका कारण आंशिक स्थानमा पुनः निर्वाचन हुनसक्यो । नागरिकहरुले स्वतन्त्रपूर्वक आफ्नो मत आफैंले हाल्न पाए ।

भलै उहाँ दोलखाबाट सीडीओको हैसियतले बिदा भएर जाँदै हुनुहुन्छ । जे-जस्तो भए पनि हामी जस्ताले उहाँको बिदाइ कार्यक्रम गर्नेछौं । जनमतको अपमान गर्ने सीडीओ भनेर पनि भुलिदिनेछौं । सिरहा जिल्लामा पुगेपछि पनि उहाँको स्वागत समारोह हुनेछ । अन्यन्तै सालिन, भद्र, मिलनसार, सहयोगी उहाँको स्वभावबाट सिरहाका नेकपा एमालेजन पनि लोभिनेछन् । सहयोग गरेजस्तो, स्वतन्त्र र विवेकी प्रशासक जस्तो उहाँको नाटकीय शैलीले एमालेजनहरु मख्ख पर्नेछन् । जसरी दोलखामा मख्ख परेका थियौं ।

सीडीओ खतिवडाले गएको वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि शान्ति सुरक्षको भूमिका निर्वाह गरेका थिए । त्यसवेला वैत्येश्वरलगायतका स्थानहरुमा बुथ कब्जा भएको थियो । त्यो धाँधली गर्नेहरुलाई उहाँ आफैं गालीगलौज गर्नुहुन्थ्यो । अझै पनि जंगली स्वभाव भएको जिल्ला भन्नुहुन्थ्यो । निष्पक्ष निर्वाचनको मानौं आफूलाई एउटा मानक झैं भई प्रस्तुत हुनुहुन्थ्यो । आखिर त्यो उहाँको कला रहेछ, स्थानीय निर्वाचनमा पनि बुथ कब्जा गर्न उहाँको भूमिका सहमतिपूर्ण रहेको तथ्यहरु बाहिर आएका छन् । उहाँका छद्मभेषी कलाले दोलखाका एमालेजनहरुलाई समेत लठ्यायो । सीडीओका चिल्ला कुराहरुले पुलकित बनायो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको भूमिकापछि मात्र सीडीओ खतिवडालाई चिनियो ।

उहाँलाई चिनिसकेपछि जिल्लाबाट उहाँको शीघ्र बिदाइका दिनहरु पर्खेर बसेका थियौं । सायदै आफ्नो मत आफैं हाल्न नपाउने मतदाताहरु पनि यही दनको प्रतीक्षामा हुनुहुन्थ्यो । जिल्ला प्रशासनभित्रका कर्मचारी सर्कलमा उहाँका शैलीहरु कुशल प्रमुख जिल्ला अधिकारी हुन नसकेको गाइँगुइँ चल्थ्यो ।

उहाँलाई चिनिसकेपछि जिल्लाबाट उहाँको शीघ्र बिदाइका दिनहरु पर्खेर बसेका थियौं । सायदै आफ्नो मत आफैं हाल्न नपाउने मतदाताहरु पनि यही दनको प्रतीक्षामा हुनुहुन्थ्यो । जिल्ला प्रशासनभित्रका कर्मचारी सर्कलमा उहाँका शैलीहरु कुशल प्रमुख जिल्ला अधिकारी हुन नसकेको गाइँगुइँ चल्थ्यो । उहाँका भित्री पाटाहरु बाहिरिएका छन् ।

मैले एउटा प्रश्नको जवाफ पाएको छुइँन, जिल्लामा सीडीओ र डीएसपी सरुवा भै आउँदा र जाँदा किन चाकडी समारोह चल्छ । कसरी यो परम्परा बन्यो ? यसलाई कसले सुरु गर्‍यो ? न्यायाधीशहरु आउँछन्, जान्छन् । डाक्टर र इन्जिनियरहरु आउँछन्, जान्छन् । अरु हाकिमहरु आउँछन् र जान्छन् । सशस्त्र प्रहरीका डीएसपी र गणपतिहरु पनि फेरिरहेकै हुन्छन् । अरुको आउजाउमा खासै महत्व राखिँदैन । तर, सीडीओ र डीएसपीले किन भाउ पाउँछन् ?

परन्तु, त्यही सीडीओ र डीएसपीहरुका भूमिकाहरु क्रमशः विवादित र पक्षपाती हुँदै जाने हो भने उहाँहरुमा गरिने स्वागत र बिदाइका चाकडीहरु ठट्टा हुँदै जानेछन् । नेपाली व्याकरणमा नभएको तर, सामान्यतय सबैले सम्मानपूर्वक ‘सीडीओसाप’ र ‘डीएसपीसाप’ भनेर सम्बोधन गरिन्छ । त्यो रकले सीडीओ र डीएसपी पदप्रति गरेको सम्मान हो । जिल्लामा उक्त दुई पदप्रति नागरिकको भरोसा पनि हो । सीडीओ र डीएसपीहरुका भूमिका विवादास्पद र असन्तुलित हुँदै जाँदा नागरिकले हेर्ने र बुझ्ने दृष्टिकोण बदलिँदै जान्छ । नागरिकलाई राज्यबाट शान्ति सुरक्षाको प्रत्याभूति नभएको अनुभूति हुँदै जान्छ । गएका निर्वाचनहरुमा शान्ति सुरक्षा हुन नसकेपछि त्यसको दोष सीडीओ र डीएसपीले लिनुपर्छ । उहाँहरु सुरक्षाको मामलामा कसैको आदेश शीरोपर गर्ने कारिन्दा हुनु नै दुभाग्य हो । पदीय दुरुपयोग त हुँदै हो, असक्षम सीडीओ र डीएसपीको फुली पहिरिनु पनि हो । भलै, व्यक्तिगत रुपमा भोजराज खतिवडा निर्दोष हुनुहोला । तर, सीडीओ भोजराज खतिवडा जनमत खोस्ने मतियार प्रशासक पक्कै हो ।

(मानन्धर नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *