पदाधिकारी बैठकमा शेखरको प्रष्टीकरण- मैले सरकारलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ भनेको छैन – Nepal Press

पदाधिकारी बैठकमा शेखरको प्रष्टीकरण- मैले सरकारलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ भनेको छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले सरकारलाई विश्वासको मत दिएर गल्ती भयो भन्ने अभिव्यक्ति नदिएको प्रस्टीकरण दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आफूले भन्दै नभनेको कुरा मिडियामा आएको बताएको प्रवक्ता प्रकाशरण महतले बताए।

सरकारलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ भन्ने इतर समूहको बैठकले निचोड निकाल्यो नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, ‘त्यो तपाईँहरूले मिडियामा निकालेको निचोड रहेछ। यहाँ डा. शेखर कोइरालाले मैले भन्दै नभनेको कुरा सार्वजनिक भयो भनेर उहाँले भनिराख्नुभएको छ। त्यस्तो कुनै खालको कुरा भएको छैन।’

उनले राष्ट्रपतिको विषयमा पनि एक ठाउँमा रहेको उल्लेख गर्दै विश्वासको मत सबैले दिएको भएपनि प्रतिपक्ष दल नै रहेको जिकिर गरे।

प्रवक्ता महतले भने, ‘सरकारलाई विश्वासको मत दिएपछि विपक्ष दलको हैसियतले काम गर्छौँ भन्ने कुरामा कुनै दुई मत छैन। त्यो कुरामा हाम्रो आजको बैठकमा कुनै विवाद छैन। यहाँ शेखरजी पनि उपस्थित हुनुहुन्थ्यो। नियोजित रूपमा भ्रम पैदा गर्ने कोसिस भएको छ। विश्वास नगर्नुहोला पार्टी एक ठाउँमा छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर