गृह मन्त्रीलाई प्रहरीले नटेरेकै हो ? प्रवक्ता भन्छन्- कोइरीको तीव्र खोजीमा छौं – Nepal Press

गृह मन्त्रीलाई प्रहरीले नटेरेकै हो ? प्रवक्ता भन्छन्- कोइरीको तीव्र खोजीमा छौं

काठमाडौं । सत्ता साझेदार नेकपा एमालेका सांसद हत्या आरोपी लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्दै तीव्र आलोचना भएपछि गृहमन्त्री रवि लामिछाने दुई दिनअघि प्रहरी प्रधान कार्यालयमाथि खनिए ।

गृह मन्त्रालयको तर्फबाट प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत भनियो, ‘कोइरीलाई कानून बमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री ज्युबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ ।’

आफू मातहतको निकायमाथि गृहमन्त्रीले यसरी विज्ञप्ति निकाल्नु शोभनीय थिएन । गृह मन्त्रालयको यो विज्ञप्ति लामिछानेको निर्देशनबेगर सम्भव पनि थिएन । त्यसपछि रवि आफैले स्टाटस लेख्दै कोइरी पक्राउ नपर्नुको बचाउ गरे ।

फेसबुकमा लामिछानेले लेखेका छन्, ‘पुराना फरारहरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ । हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ । थोरै पर्खिनु चाहिँ पर्छ ।’

पछिल्लो समय कोइरी काठमाडौंमै रहेको, संसद बैठकमा समेत उपस्थित रहेको चर्चापछि सत्ता गठबन्धनको बचाउमा गृहमन्त्री लामिछानेले हत्या आरोपी कोइरीलाई पक्राउ नगरेको र प्रहरीलाई ‘ब्याक’ गरेको आरोप खेपिरहेका छन् । संसद बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले कोइरीको विषयमा सरकारमाथि प्रश्नसमेत गरेका थिए ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले कोइरीको निरन्तर खोजी भइरहेको दाबी गरे । ‘उहाँ (कोइरी) सांसद निर्वाचित भएपछि हामीले काठमाडौं प्रवेश गर्न सक्ने बुझेर डिसेम्बर २२ तारिखमा ७७ वटै जिल्लामा लिखित निर्देशन दिएका थियौँ । गृहमन्त्रीले कोइरी पक्राउ गर्ने विषयमा बोलेपछि फेरी प्रहरी प्रधान कार्यालयले मातहतलाई मौखिकरुपमा निर्देशन दिएको थियो’, डीआईजी राईले भने ।

गृह मन्त्रालयले लिखित निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले फेरी ७७ वटै जिल्लालाई पत्राचार गरेको उनको भनाई छ । उनले संसद बैठकका बेला पनि कोइरीलाई पक्राउ गर्न चारैतर्फ प्रहरी परिचालन गरिएको बताए । ‘उहाँ त्यहाँ जानु भएको थियो भन्नेजस्ता कुराहरु आइरहेका छन् । सत्य हो भने पक्राउ परेपछि थाहा होला । तर प्रहरीले चनाखो भएर निगरानी गर्दा पनि उहाँलाई देख्न भेट्न नसकेको सत्य हो’, राईले भने । उनले कोइरीको निरन्तर तिव्र खोजी भइरहेको बताएका छन् ।

शसस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोप कोइरीमाथि छ । झडपमा घाइते भएपछि उपचारका लागि लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर विकको हत्या भएको थियो । महोत्तरी जिल्ला अदालतले धरौटीमा छाडेका कोइरीविरुद्ध उच्च अदालतले तल्लो अदालतको आदेश उल्टाएर मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सुनाएको थियो । २०७७ मंसिरमा उच्च अदालतले उक्त आदेश गरेपनि कोइरी पक्राउ पर्न सकेका छैनन् । मुद्दा खेपिरहेकै समयमा कोइरीले माओवादीका गिरिराजमणि पोखरेललाई हराएर प्रतिनिधि सभा सांसद निर्वाचित भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर