सुदूरपश्चिममा ९ बजे सभामुखको निर्वाचन, आजपनि चयन नभए संवैधानिक संकट – Nepal Press

सुदूरपश्चिममा ९ बजे सभामुखको निर्वाचन, आजपनि चयन नभए संवैधानिक संकट

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनको लागि निर्वाचन हुने भएको छ । यसअघि दुई पटक सम्म भएको निर्वाचनका कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन हुन लागेको हो ।

यहाँ माओवादीबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल सभामुखका उम्मेदवार छन् । पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २६ मत मात्रै पाए ।

३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन। सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नगरी उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुवैको बहुमत पुग्न सकेको थिएन ।

आज बिहान ९ बजेको सभामुख चयन गर्न पुन बैठक बोलाइएको छ ।

सङ्कटको खतरा

संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ । उपधारमा १ मा भनिएको छ , ‘प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने छन् ।’

संविधानको यो दफा अनुसार माघ २ गते सभामुखको निर्वाचन गर्ने भनिएको छ ।

प्रदेश सभा सचिवालयले सोही दफा अनुसार अहिले सभामुखको निर्वाचन गराइरहेको छ । उपसभामुख को पनि निर्वाचन १५ दिन भित्रै गर्नु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभा नियमावली ७ मा सभामुखको निर्वाचन र ९ मा उपसभामुखको निर्वाचनबारे व्यवस्था छ ।

प्रदेश सभा नियमावलीको धारा ९ को उपधारमा १ मा ‘उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने छ’ भन्ने उल्लेख छ । १५ दिन भित्र सभामुख चयन गरिसक्नु पर्ने र १५ दिन भित्रै सभामुखले उपसभामुखको लागि पनि निर्वाचन मिति र समय तोक्नु पर्ने हुँदा माघ २ गतेको भित्रै सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ ।

सभामुख निर्वाचन हुन नसकिरहेको बेला सभामुख निर्वाचित पछि मात्रै उ उपसभामुखको निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

आज पनि सभामुख निर्वाचित हुन नसके संविधानमा उल्लेख भएको प्रदेश सभाले पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख पाउने सम्भावना क्षीण छ । पहिलो बैठक आज १५ दिन पुग्दै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर