विद्यार्थी निर्वाचनबाट चुनिने स्ववियु किन बदनाम छ ? – Nepal Press
ब्लग

विद्यार्थी निर्वाचनबाट चुनिने स्ववियु किन बदनाम छ ?

स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीका हकहित र अवसरसँगै सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने विद्यार्थीहरुको आधिकारिक संस्था हो । यो सङ्गठन राजनैतिकभन्दा पनि विद्यार्थीका आवश्यकतालाई केन्द्रमा राखेर सृजना गरिएको हो । तर, विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई बुझ्न नसकेर उही पुरातन पद्धतिमै संगठन लैजान खोज्दा स्ववियुको भूमिका र आवश्यकतामा बारम्बार प्रश्न उठ्ने गरेको छ ।

विद्यार्थी सङ्गठनहरूको इतिहास दोस्रो विश्वयुद्धभन्दा पनि अघिदेखिको छ । दोस्रो विश्वयुद्धमा विद्यार्थी संगठनहरू सैनिकहरूलाई खाना, पानी र विश्वविद्यालयहरूमा सुरक्षा दिन स्वयंसेवकको रूपमा प्रयोग हुन्थे । तर, युद्ध सकिएसँगै ती संगठनहरूलाई विद्यार्थीमैत्री क्रियाकलापहरूमा रूपान्तरण गर्न थालियो । आज पनि विश्वका अधिकांश विश्वविद्यालयहरूमा स्ववियुको अभ्यास रहेको पाइन्छ । नेपालका विभिन्न युगान्तकारी परिवर्तनहरूमा पनि विद्यार्थी संगठनहरूको भूमिका उल्लेखनीय देखिन्छ ।

इतिहासलाई केलाउँदा नेपालमा विद्यार्थी सङ्गठनको सुरुवात विसं १९९१ मा नेपाली छात्र संघको नामबाट भारतको बनारसमा भएको थियो । १९९७ सालमा तत्कालीन राणा शासकबाट आफूविरुद्ध लागेको अभियोगमा त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो । यस अर्थमा गंगालाल श्रेष्ठ नेपालको पहिलो विद्यार्थी सहिद र समग्र विद्यार्थी आन्दोलनको प्रेरणाको स्रोत पनि हुनुहुन्छ ।

त्यसपछि चर्किंदै गएको विद्यार्थी आवेगले २००४ सालमा आन्दोलनको स्वरूप लियो । जसलाई ‘जयन्तु संस्कृतम्’ नामले पनि चिनिन्छ । राणा शासकहरू जनताले केही सिकून्, जानून भन्ने चाहँदैनथे । त्यसैले देशभर सञ्चालित अधिकांश पाठशालाहरूमा केवल कर्मकाण्डमात्र पढाइन्थ्यो र विद्यार्थी पनि केही जाति र सम्प्रदायका मात्र हुन्थे । उक्त आन्दोलन गरेबापत नेपाल संस्कृत छात्राबासबाट ४३ जना विद्यार्थी निष्कासित हुनुपरेको थियो । यसबाट पनि प्रस्ट हुन्छ नेपालमा राम्रो मागको लागि पनि विद्यार्थी पीडित हुनुपरेको इतिहास धेरै पुरानो हो ।

२०१९ सालमा राजा महेन्द्रले दलहरूलाई प्रतिबन्ध लगाइसकेपछि आफ्नो विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम नै विद्यार्थी संगठन थियो । २०३६ को जनमत संग्रह होस् या पहिलो र दोस्रो जनआन्दोलन विद्यार्थी संगठनहरुको भूमिका प्रशंसायोग्य छ । तर, विसं २०६२÷६३ को युगान्तकारी परिवर्तनपछि भने विद्यार्थी संगठनको क्रेज र औचित्य निरन्तर गिर्दाे छ ।

त्यसपछिका हरेक परिर्वतनसँगै विद्यार्थी संगठन र आन्दोलन जोडिएर आउँछन् । २०१९ सालमा राजा महेन्द्रले दलहरूलाई प्रतिबन्ध लगाइसकेपछि आफ्नो विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम नै विद्यार्थी संगठन थियो । २०३६ को जनमत संग्रह होस् या पहिलो र दोस्रो जनआन्दोलन विद्यार्थी संगठनहरुको भूमिका प्रशंसायोग्य छ । तर, विसं २०६२÷६३ को युगान्तकारी परिवर्तनपछि भने विद्यार्थी संगठनको क्रेज र औचित्य निरन्तर गिर्दाे छ ।

विद्यार्थी संगठनहरूले आफूलाई समयसँगै ढाल्न सकेका छैनन् । २०४६ साल र २०६३ सालमा आन्दोलन समयको माग थियो । शासकबाट आफ्ना अधिकार फिर्ता लिन नारा-जुलुस गर्नैपर्ने थियो । अहिले समस्या समाधानको माध्यम त्यो बन्न सक्दैन र होइन पनि । अहिले हरेक विश्वविद्यालयमा १० भन्दा बढी संगठन छन् । त्यसैभित्र पनि गुट, उपगुट छन् । कहिले कसले बन्द गरेको छ, कहिले कसको टाउको फुटाएको छ । दिनप्रतिदिन विद्यार्थी आन्दोलन बदनाम बन्दैछ । खासमा त विद्यार्थी संगठनहरू ‘आवाजविहीनको आवाज’ बन्नुपर्थ्यो, सुविधाबाट बञ्चित समुदाय‌को सहारा बन्नुपर्थ्यो । तर, यहाँ विद्यार्थी नेतृत्व सबै मुद्दाबारे बोल्छन्, विद्यार्थीका मुद्दामा गुपचुप गर्छन् । राजनीतिक संस्कार सिक्ने माध्यम बन्नुपर्ने स्ववियु विद्यार्थी संगठन र त्यसका नेताहरुको गुण्डागर्दीको केन्द्र बन्दैछन्, जुन भर्त्सनायोग्यमात्रै होइन, आपत्तिजनक पनि छ ।

अहिले देशको नेतृत्व गरिरहेका बहुसङ्ख्यक नेता विद्यार्थी आन्दोलनबाट उदाएका हुन् । विश्वविद्यालय व्यक्तित्व र नेतृत्व विकासको प्रयोगशाला पनि हो । राम्रोसँग कार्यसम्पादन गर्नसक्ने हो भने स्वतन्त्र विद्यार्थी युनियन केवल विद्यार्थीको मात्र होइन समग्र देशकै महत्वपूर्ण अंग बन्नसक्छ । स्ववियुको भूमिकामा यसरी प्रश्न उठ्नुको महत्वपूर्ण कारण राजनैतिक गतिशीलता नहुनु पनि हो । ५० वर्षअघि नेपाल विद्यार्थी संघको दोस्रो सभापति हुँदै राजनीतिमा हाम फालेका शेरबहादुर देउवा अझै पनि सक्रिय राजनीतिमै छन्, लीलामणि पोख्रेल, युवराज ज्ञवालीहरू अझै शीर्ष स्थानमा पुग्ने समय कुर्दैछन् । शीर्ष नेतृत्व सदैव आफैमात्र पदमा बसिरहने लोभको सीधा असर समग्र क्षेत्रमा परेको छ ।

दिनप्रतिदिन विद्यार्थी आन्दोलन बदनाम बन्दैछ । खासमा त विद्यार्थी संगठनहरू ‘आवाजविहीनको आवाज’ बन्नुपर्थ्यो, सुविधाबाट बञ्चित समुदाय‌को सहारा बन्नुपर्थ्यो । तर, यहाँ विद्यार्थी नेतृत्व सबै मुद्दाबारे बोल्छन्, विद्यार्थीका मुद्दामा गुपचुप गर्छन् ।

त्यसैले कसैको राजनीती बचाइदिन, नेताको नातागोता आफन्तलाई भर्ती गर्न र बफादारहरूको झुण्ड बनाउन विद्यार्थी संगठन प्रयोग भएकाले अहिलेसम्म निर्वाचित भए तापनि स्वतन्त्र विद्यार्थी संगठनहरूले राम्रोसँग काम गर्न सकेका छैनन् । लगभग ८ वर्षको पर्खाइपछि २०७३ मा भएको स्ववियु चुनावमा यिनै लुछाचुढी र भागबन्डाले गर्दा त्रिभुवन विश्वविद्यालयका ६० मध्ये २१ क्याम्पसका विद्यार्थीले मात्रै आफ्नो प्रतिनिधि चुन्न पाए । देशका बाँकी ११ मध्ये अधिकांश विश्वविद्यालयले स्ववियु निर्वाचन गराउनै चाहँदैनन् । यसले एक त विद्यार्थीलाई हानि गर्छ । जायज माग उठाउने संगठन नै हुँदैन । अर्काे भोलि देशको नेतृत्व गर्ने जनशक्ति उत्पादन हुँदैन ।

अहिले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेकाे छ । अबको केही समयपछि हुने निवार्चन विद्यार्थी नेतृत्वको लागि परीक्षाको घडी पनि हो । समग्रमा हामीले कस्ता व्यक्ति उठाउने, कस्ता व्यक्तिलाई जिताउने हो, त्यसले नै आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा निर्धारण गर्नेछ । अब पनि उम्मेदवार उठाउँदा यति पटक ढुङ्गा हानेको, यति दिन जेल बसेको, यति नेताको चाप्लुसी गरेको जस्ता मानकका आधार बनाइयो भने स्ववियु चुनाव हुनु वा नहुनुमा कुनै फरक हुनेछैन । विद्यार्थी नेतृत्वले हरेक आवाजविहीनहरुको आवाज बन्ने प्रत्याभूति दिनुपर्छ । विश्वविद्यालयमा हुने गरेका विकृति विसङ्‌गतिलाई कानूनी तवरले समाधान गर्न स्ववियुको भूमिका रहनुपर्छ । देशको राजनैतिक विषयमा आवाज उठाउनु राम्रो हो । तर, विद्यार्थी नेतृत्व केवल त्यसैतर्फ मात्र केद्रित हुनु राम्रो होइन ।

देश बनाउन सबैभन्दा पहिला शिक्षा क्षेत्र सुधार आवश्यक छ । नपढेकाहरू कतार, साउदी र पढेकाहरू अस्ट्रेलिया, अमेरिका लाग्ने जुन विकराल अवस्था देशमा आएको छ । त्यसलाई वेलैमा मनन गर्नुपर्छ । हाम्रा विश्वविद्यालय केवल सैद्धान्तिक ज्ञानका पाठशाला बनेका छन् । तिनलाई चाँडोभन्दा चाँडो प्रयोगात्मक पद्धतिमा ढाल्नैपर्छ । देशका जिम्मेवार नागरिक र सबैभन्दा सक्रिय जनशक्ति विद्यार्थीहरूले विकृतिहरूको सफाइको सुरुवात आफ्नै कलेजहरूबाट गर्न सके, चुनिएका प्रतिनिधिले पनि कुनै नेताप्रति नभई विद्यार्थीप्रति उत्तरदायी भई काम गर्ने सके बल्ल विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियनको औचित्यसिद्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *