माओवादीले आलोपालोको अत्तो थापेपछि लुम्बिनीमा एक दिन धकेलियो मुख्यमन्त्री दाबी – Nepal Press

माओवादीले आलोपालोको अत्तो थापेपछि लुम्बिनीमा एक दिन धकेलियो मुख्यमन्त्री दाबी

रुपन्देही । नेकपा माओवादी केन्द्रले आधा कार्यकालको माग गर्दै अत्तो थापेपछि लुम्बिनी प्रदेशमा आजका लागि तय गरिएको मुख्यमन्त्रीको दाबी रोकिएको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्री ५ वर्षकै लागि एमालेको भागमा परेपछि नेकपा माओवादी केन्द्रमा असन्तुष्टि बढेको छ । मंगलबार ४ बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले बहुमत सांसदहरूसहित आउने जानकारी दिएका थिए । प्रदेश प्रमुखको सचिवालयले मंगलबारको कार्यक्रम एमाले सांसद भूमिश्वर ढकालले नै फोन गरेर नआउने जानकारी दिएको जनाएको छ ।

मुख्यमन्त्रीमा दाबी गरिरहेका माओवादी स्थायी कमिटी सदस्य जोखबहादुर महरा असन्तुष्टि लिएर नेता भेट्न काठमाडौं पुगेका छन् । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने गरी उनी काठमाडौं पुगेको माओवादीका एक नेताले बताएका छन् ।

‘माओवादीभित्र जसरी पनि आलोपालो नेतृत्वको दबाब छ, त्यही असन्तुष्टि लिएर महराजी काठमाडौं पुग्नु भएको हो, केही सहमति होला’, ती नेताले नेपाल प्रेससँग भने ।

महरा लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेको र प्रचण्डकै सल्लाहमा उनी मुख्यमन्त्रीको दाबीसहित रोल्पाबाट चुनाव लडेका थिए । तर, सातदलीय गठबन्धनमा भएको पावर शेयरिङको क्रममा यस प्रदेशको पूरै कार्यकाल एमालेलाई परेपछि उनी असन्तुष्ट छन् ।

एमाले सांसद भूमिश्वर ढकालले मंगलबारको तयारीमा नागरिक उन्मुक्ति र जनमतका सांसदहरु नआएर रोकिएको दाबी गरे ।

प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेपनि एक दिन अगाडि नै एमालेले सत्तारुढ दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लागेको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । सत्ता साझेदार दलहरूमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ सांसद छन् । यसैगरी माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४ तथा जसपा र जनमत पार्टीका ३-३ जना सांसद छन् । सत्तारुढ दलसँग ५३ सांसदहरूको समर्थन रहेको छ । स्वतन्त्रबाट निर्वाचित २ सांसद माओवादीबाट टिकट नपाएर उठेका र एमालेले सहयोग गरेकाले उनीहरूको पनि सत्तारुढ दललाई समर्थन गर्ने सम्भावना छ ।

यसैगरी कांग्रेसका २७, लोसपाका ३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर