प्रदेश १ सरकारका संरचना डङ्ग्राहामा बनाउन महानगरको प्रस्ताव – Nepal Press

प्रदेश १ सरकारका संरचना डङ्ग्राहामा बनाउन महानगरको प्रस्ताव

विराटनगर । प्रदेश १ सरकारका लागि एकिकृत संरचना बनाउन विराटनगर महानगरले मोरङको बुढीगंगा गाँउपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरको नाममा मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर ६ डङ्ग्रामा रहेको ५ बिगाहा जग्गा प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । त्यहाँ महानगरको नाममा २७ विगाह जग्गा रहेको छ ।

महानगरको कार्यपालिका वैठकले प्रदेश राजधानीका लागि आवश्यक संरचना निर्माण गर्न जग्गा दिने निर्णय गरेको महानगरका उप प्रमुख शिल्पा कार्की निरालाले बताइन् ।

२०७६ साल वैशाख २३ गते विराटनगरलाई प्रदेशको राजधानी तोकी व्यवस्थापिका र कार्यपालिका संरचना बृहत विराटक्षेत्र भित्र स्थापना गर्ने निर्णय गरेको थियो ।

राजधानी तोकिएको अढाइ बर्ष बित्दा पनि प्रदेश सरकारका संरचना निर्माणको काम शुरु भएको छैन ।

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश सरकारका संरचना बनाउन आवश्यक जग्गा खोजी गर्ने कार्यदलले १५ दिन अघि मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझाएपनि मुख्यमन्त्री राजेन्द्र राईले प्रतिवेदन सार्वजनिक गरेका छैनन् ।

महानगरको कार्यापालिका बैठकमा प्रदेशमन्त्री क्वार्टर निर्माणका लागि जग्गा व्यवस्थापन सम्बन्धमा भन्ने प्रस्ताव गरिएको थियो ।

प्रस्तावमा मन्त्री क्वार्टरका लागि जग्गा व्यवस्थापन भनिएपनि निर्णय गर्दा प्रदेशको कार्यपालिका, व्यवस्थापिका र प्रदेश प्रमुखको कार्यालयसमेत निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउने लेखिएको छ ।

कार्यपालिका बैठकको निर्णयमा बृहत् विराट क्षेत्रभित्र प्रदेशको कार्यपालिका र व्यवस्थापिका, प्रदेश प्रमुखको कार्यालय, तथा निवास, सभामुख तथा उपसभामुखको निवास, मन्त्री निवास लगायतका संरचनाहरु एकीकृत रुपमा निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराउने उल्लेख छ ।

महानगरको निर्णयमा प्रदेश नं. १ सरकारबाट सार्वजनिक सूचना प्रकाशित भएकोले सोका लागि विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको डंग्राहा स्थित जग्गामध्येबाट ५-०-० (बिघा) जग्गा उपलब्ध गराउनेगरी प्रदेश नं. १ सरकारलाई प्रस्ताव गर्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *