लुम्बिनी कांग्रेस : दलको नेताका लागि दुवै पक्षमा भएन सहमति – Nepal Press

लुम्बिनी कांग्रेस : दलको नेताका लागि दुवै पक्षमा भएन सहमति

रुपन्देही । तीन दिनअघि लुम्बिनीमा मुख्यमन्त्रीको सम्भावनासहित संसदीय दलको नेता बन्न दौडधुप गरेका नेपाली कांग्रेसका सांसदहरूले बदलिँदो राजनीतिक समीकरणसँगै सुरक्षित अवतरण खोजेका छन् ।

पहिले दलको नेतृत्वका लागि ४ जना नेताहरू कस्सिएपनि अहिले खासै वास्ता नगरेको पार्टी नेताहरूले बताएका छन् । नेतृत्वको दाबी गरेका ४ मध्ये तीन जना संस्थापन समूह र १ इतर समूहबाट रहेका थिए । तर उनीहरूमध्ये दुईले सरकारको नेतृत्व गर्न नपाउने अवस्थामा विपक्षी दलले पाउने सार्वजनिक लेखा समितितर्फ सुरक्षित अवतरण गर्न खोजेका छन् ।

पहिले संस्थापन समूहबाट तीनै जना बलियो उम्मेदवारले दाबी गरेकाले शीर्ष नेताहरूलाई मिलाउन चुनौती थपिएको थियो ।

विशेष गरी यो समूहबाट यसअघि संघीय सरकारमा राज्यमन्त्री बनेका पार्टी केन्द्रीय सदस्य रुपन्देहीका अब्दुल रज्जाक र अहिले पार्टीको तर्फबाट प्रदेश सरकारमा नेतृत्व गरेर महासमिति सदस्य दाङका डिल्ली चौधरी र प्रदेश उपसभापति राजु खनालले दावेदारी गरेका थिए ।

प्रधानमन्त्री पत्नी आरजु राणाको रोजाइमा परेका दाङका चौधरीका कारण रुपन्देहीका रज्जाकलाई समस्या आएको कांग्रेस निकट नेताहरू बताउँछन् ।
यहाँको जिम्मेवारीमा कसलाई पठाउने भन्ने विशेष भूमिका रहेका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण तथा सहमहामन्त्री किशोरसिंह राठौरले कसलाई समर्थन गर्छन् भन्नेमा निर्भर रहने छ । रज्जाक रुपन्देहीका भएपनि निर्वाचनको समयमा गृहमन्त्री खाणले सहयोग नपाएकाले उनी निकट नेताहरूले गुनासो गरेकाले चौधरी बलियो बन्न सक्छन् ।

तर चौधरी र रज्जाकसँग संसदीय दलको नेता दाबी गरेका दाङकै प्रदेश उपसभापति राजु खनाल रहेकाले चौधरी र खनालको विवाद बढेमा रज्जाकले पाउने सम्भावना बढी छ । तर प्रधानमन्त्री पत्नी राणाको गैससमा काम गरेका चौधरीले केन्द्रबाटै च्यानल मिलाएको उनी निकट नेताहरूको दाबी छ ।

पार्टीको संस्थापन खेमाका नेता रञ्जाक रूपन्देही–१ (२) बाट, चौधरी दाङ–३ (१) र राजु खनाल दाङ २(१) बाट निर्वाचित भएका हुन् । रज्जाक यसअघि संघीय सांसद भएका अनुभवी नेता हुन् । अहिले पनि पार्टीको निर्वाचित केन्द्रीय सदस्य छन् । चौधरी अहिले पार्टीबाट सरकारमा नेतृत्व गरेका मन्त्री हुन् भने खनाल प्रदेशको पार्टी उपसभापति हुन् ।

त्यसैगरी इतर समूहबाट अहिलेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना आफ्नो समूहबाट नेतृत्वका लागि कस्सिएका छन् । पाल्पा २ को १ बाट निर्वाचित रानाले शेखर कोइराला समूहसँग भेटेपछि उनको समूहले रानालाई अगाडि सारेको हो ।

प्रदेश सभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिकमा १० सांसदसहित २७ जना सांसद रहेकोमा इतर समूहबाट १० जना मात्रै रहेकाले त्यो समूहले नेतृत्व पाउने सम्भावना कम रहेको एक सांसदले बताए । तर इतर समूहले आफूहरू १२ जना रहेको दाबी गरेको छ ।

प्रदेशमा कांग्रेसको नेतृत्व दाबी गरेका पार्टी प्रदेश सभापति अमरसिंह पुन तथा यसअघि संसदीय दलको नेता रहेका वीरेन्द्र कनौडिया चुनावमै पराजित भएपछि बाँकी ४ जनाको दाबी रहेको हो ।

लुम्बिनी प्रदेश समितिमा इतर समूहको बहुमत भएको र संसदमा संस्थापन समूहको बहुमत भएकाले यहाँ दलको नेता छान्न असहज भएको हो । कांग्रेस प्रदेश समितिले १६ गते शपथ सकिएसँगै दलको नेता छान्ने जनाएको छ ।

१६ गते शपथ छ, १८ गते सदन छ, त्यो बीचमै हामीले दलको नेता चयन गर्नेछौँ– मन्त्री वीरबहादुर रानाले भने । उनले सकेसम्म सहमतिमै छान्ने र नभए प्रतिस्पर्धाका आधारमा चयन गर्ने र आफ्नो दावेदारी फिर्ता नभएको बताए ।

कांग्रेस नेताहरूका अनुसार दलको नेतामा संस्थापन समूहबाट डिल्ली चौधरी र इतर समूहबाट वीरबहादुर राना चुनावमा जान सक्नेछन् । नेतृत्वले एकजनालाई लेखा समितिमा राखेर एकलाई दलको नेता बनाउन खोजेपनि गुटका कारण समस्या भएको बताइएको छ ।

चुनावमा जाने अवस्थामा संस्थापनबाट रज्जाक र खनाललाई ब्याक गराएर चौधरीलाई पठाउने अवस्था देखिएपछि इतर समूहले पनि सहजै नजित्ने अवस्थामा सहमतिमै आउने अपेक्षा संस्थापन पक्षको छ ।

एमालेबाट प्रदेश सरकारका निवर्तमान मन्त्री तथा पोलिटब्यूरो सदस्य लीला गिरी, केन्द्रीय सदस्य, पूर्वमन्त्रीहरु चेतनारायण आचार्य, भोजप्रसाद श्रेष्ठ, पूर्व संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल नेतृत्वका लागि दौडधुपमा छन् ।

गिरी रूपन्देही– २ (१) र ढकाल रूपन्देही–५ (१) बाट निर्वाचित भएका हुन् । तर गिरी नै संसदीय दलको नेतामा सिनियर नेता भएकाले छानिन सक्ने एमाले नेताहरूको भनाइ छ । तर पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आफू निकट नेतालाई अगाडि सार्न खोजेकाले सहजै मिलाउन समस्या छ । गिरी र श्रेष्ठ पौडेल निकट मानिन्छन् भने आचार्य र ढकाल पोखरेल निकट मानिन्छन् ।

केन्द्रमा नयाँ समीकरणअनुसार लुम्बिनीमा माओवादीले मुख्यमन्त्री दाबी गरे पछि यहाँ एमालेले पाउने सम्भावना कम रहेको छ । माओवादीबाट भने रोल्पाका जोखबहादुर महराको नाम एकलजस्तै आएको छ । पार्टीमा महरा सिनियर नेता भएको र अध्यक्ष प्रचण्डकै प्रस्तावमा प्रदेशमा उम्मेदवार बनेकाले उनैले पाउने नेताहरूको भनाइ छ । ८७ सदस्यीय प्रदेश सभामा अहिलेको गठबन्धनमा ५२ सांसद छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर