देउवालाई दाेष दिएर कांग्रेसका दुई महामन्त्री पानीमाथिकाे ‌ओभानाे बन्न मिल्छ ? – Nepal Press

देउवालाई दाेष दिएर कांग्रेसका दुई महामन्त्री पानीमाथिकाे ‌ओभानाे बन्न मिल्छ ?

कांग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउन विशेष महाधिवेशन आवश्यक

नेपालको राजनीतिमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दा एकाएक उतारचढाव सिर्जना हुन पुग्यो । जुन उतारचढावका कारण नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेपाल कम्युनिष्ट पार्टी एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका राजनीतिक दलहरु बीच गठबन्धन निर्माण भयो । उक्त गठबन्धनबाट संसदमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भयो ।

माओवादी अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सत्ताको नेतृत्व गरिरहेको कांग्रेस एकाएक प्रमुख प्रतिपक्षको स्थानमा पुगेको छ । जबकि कांग्रेस प्रमुख प्रतिपक्षमा पुग्छ भनेर न कांग्रेसको नेतृत्वमा बसेका नेताहरुले कल्पना गरेका थिए न त सामान्य कार्यकर्ताले नै । यो पछिल्लो राजनीतिक घटनाक्रमले कांग्रेसको नेतृत्व तहमा रहेकादेखि सामान्यस्तरका कार्यकर्ताहरुसम्म अचम्मित छन् ।

सरकार गठन अवधिको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेर हेर्ने हो भने आफ्नो हातमा रहेको सत्ता फुत्कनुमा कांग्रेस सभापति शेरबहादुर देउवा मुख्य जिम्मेवार देखिन्छन् । त्यस्तै देउवाका किचन क्याबिनेटमा रहेका पार्टी प्रवक्ता प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, प्रधानमन्त्री पत्नी आरजु राणा बढी जिम्मेवार देखिन्छ । किनकि उनीहरुले प्रधानमन्त्री छोड्नु हुँदैन भनेर देउवालाई अनावश्यक दबाब नदिएको भए हुँदाखाँदाको सत्ता गुमाउनुपर्ने थिएन ।

माओवादी अध्यक्ष दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सत्ताको नेतृत्व गरिरहेको कांग्रेस एकाएक प्रमुख प्रतिपक्षको स्थानमा पुगेको छ । जबकि कांग्रेस प्रमुख प्रतिपक्षमा पुग्छ भनेर न कांग्रेसको नेतृत्वमा बसेका नेताहरुले कल्पना गरेका थिए न त सामान्य कार्यकर्ताले नै ।

त्यतिमात्र होइन राष्ट्रपति, सभामुख, मन्त्री र ७ वटा प्रदेशमा भागबन्डामा पर्ने प्रदेश प्रमुख, मुख्यमन्त्री र अन्य मन्त्रीहरुसमेत गुमाउनुपर्ने अवस्था सिर्जना हुने थिएन । यसका अलावा अन्य राजनीतिक नियुक्तिहरुमा समेत बञ्चित हुनुपर्ने अवस्था सिर्जना हुने थिएन । कांग्रेस सत्ताबाट बहिर्गमन हुँदै गर्दा सम्पूर्ण दोषको भारी यतिवेला पार्टी सभापति देउवामाथि थोपरिएको छ । दोषको भारी पार्टी सभापति देउवामाथि थोपरिनु स्वाभाविक पनि हो । किनकि पार्टी सभापति देउवाले ६ पटक प्रधानमन्त्री बन्ने लालसा नदेखाएको भए कांग्रेसले आजको नियति भोग्नुपर्ने थिएन ।

कांग्रेसले आज सत्ता राजनीतिमा जुन नियति भोगेको छ, त्यसमा पार्टी सभापति देउवाको दोष जति छ त्यत्ति नै दोषी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि छन् । किनकि महामन्त्रीद्वयको अपरिपक्वताकै कारण पार्टी सभापति देउवालाई गलत निर्णय गर्न कुनै रोकतोक भएन । फलस्वरुप कांग्रेस सत्ता राजनीतिको खेलबाट बाहिरिन पुग्यो । यदि महामन्त्रीद्वय थापा र शर्मा पार्टीप्रति जिम्मेवार हुने थिए भने सभापति देउवाले कुनै खबर नगरेपनि पार्टी कार्यालयमा अन्य नेताहरुलाई भेला गरेर सरकार निर्माणको विषयमा दबाब दिन सक्दथे ।

तर, महामन्त्रीद्वय थापा र शर्मा पूर्ण रुपमा गैरजिम्मेवार भएको देखियो । पार्टी संसदीय दलको नेता बन्न र बनाउन होटलमा भेला बोलाउने महामन्त्रीद्वय थापा र शर्माले सरकार गठनको विषयमा किन पार्टी कार्यालयमा बहस चलाएनन् ? यो प्रश्न यतिखेर निकै महत्वपूर्ण छ । महामन्त्री जस्तो जिम्मेवार पदमा बसेका थापा र शर्माले सभापति देउवाले सरकार गठनका विषयमा आफूहरुलाई बोलाएनन् भनेर पन्छिन मिल्दैन । सभापति देउवाले महामन्त्रीद्वयलाई नबोलाए पनि उनीहरु बालुवाटारको ढोका धकेलेर आफ्ना कुरा स्पष्टसँग राख्न सक्नुपर्दथ्यो । यो विषयमा महामन्त्रीद्वय चुकेकै हुन् ।

कांग्रेसले आज सत्ता राजनीतिमा जुन नियति भोगेको छ, त्यसमा पार्टी सभापति देउवाको दोष जति छ त्यत्ति नै दोषी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि छन् ।

महामन्त्रीद्वयले पार्टी निर्देशन मान्नु नपर्ने ?

दलको नेता चयन भएलगत्तै पार्टी संसदीय दलले नयाँ सांसदहरुलाई नयाँ सरकार गठन नभएसम्म काठमाडौं भ्याली बाहिर नजानू भनी निर्देशन जारी गरेको थियो । संसदीय दलले सांसदहरुलाई पठाएको म्यासेज यसप्रकार रहेको छ : naya Sarkar gathan nabhaye samma Kathmandu Valley bahira najanu huna nirdesanusar jankari garainchha. N\C Samsadiya Dal

तर, सरकार गठनको अन्तिम दिन महामन्त्रीद्वय थापा र शर्मा लिटरेचर फेस्टिभलमा सहभागी हुन भन्दै पोखरा हानिए । पोखरा हानिएका महामन्त्रीद्वय थापा र शर्मा पोखराको सौन्र्दयता मख्ख परे । पार्टी संसदीय दलको निर्देशनविपरीत पोखरा पुगेका महामन्त्री थापालेआफू अपमानित भएर पोखरा आएको अभिव्यक्तिसमेत दिए । महामन्त्री थापाको यो अभिव्यक्ति सतही रुपमा हेर्दा जो–कोहीलाई ठीकै हो जस्तो लाग्छ । तर, गहिरिएर अध्ययन गर्ने हो भने सरासर गलत छ । किनकि नेपाली कांग्रेस जस्तो इतिहास बोकेको पार्टीका महामन्त्रीहरुले महत्वपूर्ण निर्णय लिनुपर्ने वेलामा कदापि पानीमाथिको ओभानो बन्न मिल्दैन ।

अब विशेष महाधिवेशन

गत स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेको कांग्रेसले निर्वाचन परिणाम आइसकेपछि सरकार गठन गर्ने विषयमा जुन असफलता व्यहोरेको छ । यसमा पार्टीको नेतृत्व गरेका सभापति देउवादेखि पदाधिकारी तहमा बसेका महामन्त्रीद्वय थापा र शर्माको समेत असक्षमता प्रदर्शन भएको छ । तसर्थ कांग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउने हो भने छिटोभन्दा छिटो विशेष महाधिवेशन आयोजना गर्नुपर्दछ । विशेष महाधिवेशनबाट आउने नेतृत्वले कांग्रेसलाई नयाँ दिशामा अगाडि बढाउने निश्चित छ ।

(लेखक अधिकारी नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *