रास्वपाले विज्ञताका आधारमा मन्त्री पठाउने, यी हुन् प्रमुख दाबेदार – Nepal Press

रास्वपाले विज्ञताका आधारमा मन्त्री पठाउने, यी हुन् प्रमुख दाबेदार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने आफ्ना मन्त्रीहरूबारे आन्तरिक तयारी सुरु गरेको छ । अन्य पार्टीहरूले गुटगत भागबण्डाका आधारमा मन्त्री सिफारिस गर्ने प्रचलन गरे पनि रास्वपाले भने सांसदहरूको विज्ञता हेरेर निर्णय लिने स्रोतले बतायो ।

७ वटा पार्टीको समर्थनमा बनेको प्रचण्ड सरकारमा कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । सरकारलाई समर्थन गरेकामध्ये राप्रपा र नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेका छन् । बाँकी ५ पार्टीलाई २५ वटा मन्त्रालय भाग लगाउनुपर्ने छ ।

५ वटा पार्टी सरकारमा सहभागी हुँदा संसदभित्र चौथो शक्तिको हैसियतमा रहेको रास्वपाले ५ वटा मन्त्रालयमा दाबी प्रस्तुत गर्ने स्रोत बताउँछ । पार्टीको रुचि ‘मालदार’ भन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने कामकाजी मन्त्रालयमा छ । गृहपछि शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र कानून रास्वपाले चाहेका मन्त्रालय हुन् । यदि ती मन्त्रालय पाएको खण्डमा पार्टीबाट को–को मन्त्री हुने भन्ने स्पष्टै छ ।

‘हाम्रो पार्टीमा को वरिष्ठ को कनिष्ठ भन्ने छैन । सबैजसो युवा भएकाले उमेरको प्रश्न पनि छैन । गुट पनि मिलाउनु छैन । हामी केवल विज्ञता हेर्नेछौँ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय पाएको अवस्थामा डा. तोसीमा कार्कीले अवसर पाउनेछिन् । पेसाले आफैँ चिकित्सक रहेको, प्रत्यक्षमा लोकप्रिय मतसहित चुनाव जितेको, तथा चुनावअघि देखि नै स्वास्थ्य मन्त्रालय हाँक्ने आत्मविश्वास प्रस्तुत गरेकाले सो मन्त्रालयमा उनलाई पठाउने निधो गरिएको हो ।

त्यसो त राप्रपामा प्रत्यक्ष समानुपातिकतर्फबाट पनि दुई जना चिकित्सक डा. चन्दा कार्की र डा. ढाकाकुमार श्रेष्ठ निर्वाचित भएका छन् । तर, उनीहरूको तुलनामा तोसीमाको दाबेदारी बलियो छ । उनी स्वास्थ्य मन्त्री बन्नेमा ढुक्क भएर बसेकी छन् । उनी ललितपुर ३ बाट निर्वाचित सांसद हुन् । स्वास्थ्यमा यदि राज्यमन्त्री पनि पाएको खण्डमा चन्दा र ढाकामध्ये एक जनाले अवसर पाउनेछन् ।

यदि शिक्षा मन्त्रालय पाएको खण्डमा पनि कसलाई मन्त्री बनाउने भन्नेमा रास्वपाभित्र द्विविधा छैन । स्रोतका अनुसार पार्टीले काठमाडौं ६ बाट चुनाव जितेका शिशिर खनाललाई शिक्षामा पठाइने छ । खनाल शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका अभियन्ता भएका कारण उनी निर्विकल्प देखिएका हुन् ।

रास्वपाबाट मन्त्री बन्न सक्ने अर्की दाबेदार शोभिता गौतम हुन् । यसपालिको चुनावकी एक चर्चित उम्मेदवार शोभिता काठमाडौं २ बाट विजयी बनेकी थिइन् । यदि रास्वपाले कानून मन्त्रालय पाएको खण्डमा कानूनको विद्यार्थी भएको हिसाबले उनलाई सरकारमा पठाइने छ ।

यदि पर्यटन र संस्कृति मन्त्रालय पार्टीको भागमा आयो भने विराजभक्त श्रेष्ठ र डीपी अर्यालमध्ये एक जनाको ढोका खुल्ने छ । काठमाडौं–८ बाट विजयी श्रेष्ठ संस्कृति र सम्पदा क्षेत्रका सक्रिय अभियन्ता हुन् ।

समानुपातिकबाट निर्वाचित अर्याल रास्वपाका उपसभापति हुन् । अनुभवी पर्यटन व्यवसायी भएको कारणले पर्यटन मन्त्रालय पाए उनको पनि दाबेदारी रहनेछ । यस्तै, सञ्चार मन्त्रालय पाएको खण्डमा शोभिता गौतम र मनिष झाले आफ्नो दाबी प्रस्तुत गर्न सक्छन् । झा समानुपातिक सांसद हुन् ।

उद्योग र कृषि पाएको खण्डमा कसलाई पठाउने भन्ने चाहिँ निश्चित भइसकेको छैन । ती मन्त्रालयमा पनि विज्ञतालाई मानक बनाइने भएको छ । रास्वपाले आफूभित्र विज्ञता नभएका परराष्ट्र, रक्षा, वनलगायतका मन्त्रालय इच्छा देखाएको छैन ।

प्रत्यक्ष चुनाव जितेकाहरूलाई प्राथमिकतामा राखिरहँदा समानुपातिकतर्फ बढीमा दुई जना मात्रै मन्त्री बन्ने देखिन्छ । पार्टीले जनजीविकासँग जोडिएका मुद्दाहरूलाई मुख्य प्राथमिकता दिएर अघि बढ्ने रणनीति लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर