शेखरले भने- गठबन्धन प्रकरणमा कांग्रेसजनको राजनीतिक हत्या भएको बिर्सन सक्दैनौं – Nepal Press

शेखरले भने- गठबन्धन प्रकरणमा कांग्रेसजनको राजनीतिक हत्या भएको बिर्सन सक्दैनौं

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले सत्ता गुमाए पनि शक्ति नगुमाएको बताएका छन् । गठबन्धन टुटेर केन्द्रदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने परिस्थितिको उनले गम्भीर समिक्षा गर्ने बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।’

संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको उल्लेख गरेका छन् ।

कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको बताए ।
‘राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो’ उनले भनेका छन्, ‘गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ । विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो ।’

अहिलेको परिस्थितीले कांग्रेसको नेतृत्वमा बस्नेले शिक्षा लिनुपर्ने बताए । कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको बताए ।

‘गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन’, उनले भनेका छन् । तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक भएको उल्लेख गरेका छन् । उनले पार्टी कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् ।

‘हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईहरुको घर आँगनमा आउने छौँ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौं’, उनले भनेका छन्, ‘कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्र देखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँवाट हामी सबैको परीक्षा सुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनताबीच जानेछौँ ।’

जनतासँग संवाद सुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुट्नुको विकल्प नभएको बताएका छन् । उनले सत्ता गुमाउँदैमा कांग्रेसको शक्ति नगुमाएको जिकिर गरेका छन् । थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर