राजेश हमालकाे ‘गाेल्डेन सेक्रेट’- एक असल कूटनीतिज्ञ – Nepal Press

राजेश हमालकाे ‘गाेल्डेन सेक्रेट’- एक असल कूटनीतिज्ञ

‘व्यक्तिले राजनीति छुन्न भनेपनि राजनीतिले उसलाई छुन आइपुग्छ’

काठमाडौं । चलचित्र क्षेत्रका महानायकका रुपमा चिनिएका राजेश हमालले आफू असल कुटनीतिज्ञ हुनसक्ने बताएका छन् । राजनीतिक विषयमा उनले टिप्पणी गर्दै आफू राजनीतिमा भन्दा कुटनीतिमा अब्बल हुनसक्ने जस्तो लागेको बताए ।

शुक्रबार काठमाडौंको मनोरम स्थल बुढानिलकण्ठस्थित देकाइदो रिसोर्टले आयोजना गरेको ‘गोल्डेन सिक्रेट विथ राजेश हमाल’ अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । सहभागीहरुले विभिन्न कलाकारहरु राजनीतिमा आइरहेको प्रसंग उल्लेख गर्दै हमाललाई राजदूतको अफर आएकोबारे प्रश्न गरेका थिए । जसमा राजेशले आफूलाई अफर आए पनि कलाकार नै रहने बताए । सांसद वा राजदूत रोज्दा के रोज्नुहुन्छ भन्ने सहभागीको प्रश्नमा हमालले भने, ‘मेरो बुबा पनि कुटनीतिज्ञ हुनुहुन्थ्यो, त्यसकारण पनि मलाई कुटनीति मनपर्छ र यसमा म अलिक अब्बल हुनसक्छु जस्तो लाग्छ ।’ उनले आफूले राजदूत रोज्ने संकेत गरे । उनले थपे, ‘हुन त मलाई केही अफर आएको भन्ने कुरा साँचो होइन तर राजदूतको जिम्मा पाउने हो भने गर्न सकिन्छ जस्तो लाग्छ ।’ उनले राजनीतिमाथि टिप्पणी गर्दै थपे, ‘व्यक्तिले राजनीति छुन्न भनेपनि राजनीतिले तपाईंलाई छुन आइपुग्छ, यो सत्य हो ।’

त्यस्तै, हरेक व्यक्तिले आफ्नो जीवनमा एक किसिमको व्यक्तिगत सफलता हासिल गरे मात्रै समाज, देशका लागि थप केही गर्न सक्नेबारे सोच्न सक्ने हमालको तर्क छ । आफूले फिल्म क्षेत्रमा कदम राख्दा अर्को फिल्म पाउने नपाउने बारेमा आफूलाई निश्चित नभएको तर हातमा आएको कार्यलाई बेस्ट गर्न लागेकैले जीवनका तीन दशक यस क्षेत्रमा बितेको उनको अनुभव सेयर गर्दै हरेकले पहिले आफ्नो व्यक्तिगत तवरमा सफल हुनुपर्ने बताए । उनले भने, ‘जब तपाई आफू आफ्नो लक्ष्य एवम् कार्यमा अब्बल बन्नुहुन्छ, तब समाज र राष्ट्रका लागि तपाईंले झन बढी गर्नसक्नुहुन्छ ।’

त्यस्तै, विवाहका बारेमा आफ्नो व्यक्तिगत जीवनको अनुभव सुनाउँदै हमालले नयाँ युवा पुस्तालाई विवाह गर्ने सोच हुँदा समयमै गर्न पनि सुझाव दिए । सहभागीले नै छिटो र ढिलो विवाह गर्दा हुने फाइदा बेफाइदा के के छन् भनेर सोधेको प्रश्नको उत्तर दिँदै उनले भने, ‘मेरो सोच विवाह नगर्ने थियो, त्यही भएर मेरो विवाह ढिलो भएको हो । यदि तपाईंहरुको विवाह गर्ने सोच छ तर ढिलो गरौं भन्ने हो भने समयमै गर्दा राम्रो हुन्छ, उमेरमै छोराछोरी हुर्कन्छन् ।’ यसैमा आएको उनको सन्तानको योजनाप्रतिको प्रतिप्रश्नमा हमालले हाँस्दै थपे, ‘मधु यहीँ छिन् (श्रीमती मधु भट्टराईलाई देखाउँदै) म अझै जवान छु नि !’

त्यस्तै, हमालले आफू जीवनको खेलको लामो रेसमा टिकिरहने किसिमले लाग्दै आएको बताए । उनले कुनै पनि क्षेत्रमा अब्बल हुनु महत्वपूर्ण कुरा रहे पनि त्यसमा टिकिरहन भने लामो धैर्यता, लगनको आवश्यक हुने उनको ठम्याइ छ । आफैं विभिन्न विवाद सिर्जना गर्दै लाइम लाइटमा आइरहनेबारेको प्रश्नले हमालले आफू लामो रेसमै रहेकाले हुक एण्ड क्रुक र सस्तो लोकप्रियता तर्फ आफू आकर्षित नभएको बताए ।

त्यस्तै, पछिल्लो समय सामाजिक सञ्जालले मानिसहरुलाई चाहिनेभन्दा बढी सूचना प्रदान गर्ने गरेको बताएका छन् । उनले आजभन्दा ३०/३५ वर्षको नेपाली जीवन र ३०० वर्ष अघिको आम मानिसको जीवनमा तुलनात्मक रुपमा फरक नभएको तर विगत २०/२५ वर्षको प्रविधिको विकासले मानिसको जीवनमा अत्यन्तै बदलाव ल्याएको टिप्पणी गरे ।

हमालले सामाजिक सञ्जालको विकाससँगै अहिले घरघरमा कलाकार जन्मिएको बताउँदै हमालले कन्टेन्ट क्रियट गर्नेलाई प्लाटफर्म धेरै भएको बताए । ‘मूल कुरा प्लाटफर्म हो, त्यसपछि कन्टेन्टका लागि प्रेरणा मिल्छ’, उनले भने, ‘पहिले क्यामरा अगाडि बोल्न डराउने दर्शकहरु अहिले कतै भेट्दा राजेश दाइ टिकटक बनाऊँ भन्दै नाच्ने गाउने गर्नुभएको छ ।’

उनले देकाइदो रिसोर्टले यस्ता कार्यक्रमहरु गर्नु पृथकमात्र नभएर निकै सुनौलो सुरुवात भएको बताए । कार्यक्रममा बीआईए इन्स्टुच्युटलाई आयोजकका तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत नगद एक लाख रुपैयाँ प्रदान गरिएको थियो । प्राकृतिक वातावरणमा चिया कफी पिउँदै केही छलफल गर्नु र सामाजिक कार्य गर्नु सह्रानिय भएको भन्दै हमालले प्रशंसा गरेका थिए । र यस्ता कार्यक्रमको निरन्तरताका लागि कामना गरेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै देकाइदो रिसोर्टका सञ्चालक अर्जुन अधिकारीले आफूहरुले विदेशमा रहँदाका सीपहरुलाई नेपालमा ल्याएर केही गर्ने सोचले रिसोट सुरु गरिएको बताए । एक दशकभन्दा बढी समय जापान बसेर नेपाल फर्केका उनले अब देशका लागि केही गर्नुपर्ने भावनाले आफू फर्किएको बताए । यस्ता कार्यक्रम नियमित गर्ने योजना रहेको उनको भनाइ छ ।

त्यस्तै, रिसोर्टका अर्का सञ्चालक एवम् सफाई व्यवसायीका रुपमा परिचित खेम शर्माले आफूले सन् २०१५ मा त्रिभुवन विमानस्थल सफाई गरिसकेपछि मानिसहरुबाट आएको सकारात्मक शब्दहरुले अब मैले व्यक्तिगत र पारिवारिक जिम्मेवारी मात्रै लिएर रहन नहुने प्रेरणा मिलेको उल्लेख गरे । आफूले महानायक हमालका फिल्महरुबाट उत्प्रेरणा मिलेको र गुरु मानेको बताए । उनले भने, ‘मैले जीवनमा महानायक राजेश हमाललाई गुरु मानेको छु, उहाँबाट म प्रेरित भएको छु ।’ उनले उमेर हुँदासम्म कमाउने र ५५ वर्षपछि औषधि उपचार र धर्मकर्ममा जाने अवस्थाको सिर्जना हुने कुराले आम जीवन चल्ने भन्दै त्यसरी नहुने रहेछ बेलैमा समाज र देशको लागि सोच्नुपर्ने महसुस भएको शर्माको अनुभव सुनाए । त्यस्तै, उनले प्रस्तोता टीकाराम यात्रीको प्रश्न सोध्ने शैलीबाट आफू र आफ्नी श्रीमती अत्यन्त्रै प्रभावित भएको र यात्रीले लिएका अन्तर्वार्ताहरु हेर्ने गरेको उल्लेख गरे । सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने शर्माले जनाए ।

कार्यक्रममा देकाइदो रिसोर्टका तर्फबाट बीआईए इन्स्टिच्युटलाई नगद एक लाख रुपैयाँ प्रदान गरिएको थियो । बीआईए इिन्स्टिच्युट यस्तो संस्था हो जसले शारीरिक रुपमा फरक क्षमता भएका मानिसहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका कार्यक्रम, तालिम, वर्कसप सञ्चालन गर्दछ ।

प्राकृतिक वातावरणमा भएको प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले उत्साहका साथ सोधेका फरकफरक पृष्ठभूमिका प्रश्नलाई हमालले सक्रियताका साथ जवाफ दिएका थिए ।

अन्तरक्रियाको कार्यक्रमलाई प्रस्तोता टीकाराम यात्रीले सहजीकरण गरेका थिए भने अन्य कार्यक्रम सुदर्शन आचार्यले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर