तिलोत्तमामा चल्ने भयो देशकै पहिलो ट्राम रेल – Nepal Press

तिलोत्तमामा चल्ने भयो देशकै पहिलो ट्राम रेल

५० किलोमिटरमध्ये एक वर्षभित्र ४ किलोमिटरमा गुड्ने

रुपन्देही । तीन वर्षअघि रुपन्देहीको तिलोत्तमामा गरिएको लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नगरपालिकाभित्र ट्राम रेल चल्ने भएको छ । नगरपालिकाका मेयर रामकृष्ण खाणले शुक्रबार ट्राम रेल सञ्चालन शिलान्यास गरेका हुन् ।

नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारिएको यो योजना नगरवासीको साथ र सहयोगमा सम्पन्न हुने मेयर खाणले बताए । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिगामा नयाँ शहर विकास गर्ने कामसमेत अघि बढाइरहेको उनले जानकारी दिए ।

अघिल्लो सरकारको समयमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा यो परियोजना अगाडि बढाइएको थियो । तत्कालीन मेयर वासुदेव घिमिरेले लगानी सम्मेलनमा लगानीकर्ताले देखाएको चाहनाअनुसार तत्काल डीपीआर बनाउन लगाएका थिए । यो योजना नगरपालिकाले पब्लिक कम्पनी मोडेलमा अघि बढाएपछि प्रदेश सरकारले समेत सहयोग गरेको थियो ।

कुल ८ अर्ब लागतमा नगरभित्र ५० किलोमिटरको दुरीमा रेल सेवा सञ्चालन गर्न प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानी जुटाइने छ । चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन गरिनेछ ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डीपीआर तयार गरिएको उनले जानकारी दिए ।

रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले विविध कारणले एक वर्ष ढिलाइ भएको बताए । स्रोत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उनले बताए ।

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट रेल्वे भएको उनले जानकारी दिए । रेल सेवामा दैनिक ३० हजार, मासिक ८ लाख र वर्षमा १ करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानीलगायतको समेत सेवा दिन सकिने उनले बताए ।

यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर १ अर्ब बचत हुने प्रबन्ध निर्देशक भोला शर्माले दाबी गरे । परियोजना सुरु भएपछि १०० जना स्थायी कर्मचारीले रोजगार पाउनेछन् । ६ वटा ट्राम टाइगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उनले बताए ।

प्रतिदिन एउटा ट्राममा एक पटकमा २५ सय चढ्न सक्ने उनले बताए । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तर वृद्धि र विकास गर्ने लक्ष्य रहेको प्रबन्ध निर्देशक भोला शर्माको भनाइ छ ।

रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेका छन् । यो रेल्वे देशकै नमुना हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर