सात हजार ३२ दिन जेल बसेर निस्किए चार्ल्स शोभराज – Nepal Press

सात हजार ३२ दिन जेल बसेर निस्किए चार्ल्स शोभराज

काठमाडौं । फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष ३ महिना ७ दिनपछि जेलबाट छुटेका छन् ।

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा रहेका शोभराजलाई बुधबार सर्वोच्चले जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएको थियो ।

भक्तपुर जिल्ला अदालतको फैसलाअनुसार शोभराजलाई २०६० असोज २ देखि २०८० असोज १ गते (२०) वर्षको कैद सजाय सुनाइएको थियो । शोभराजलाई ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा गरिएको हो ।

कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका ७८ वर्षीय शोभराज मुटुको रोगी भएकाले ओपन हार्ट सर्जरी गर्नुपर्ने भएकाले कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्थाअनुसार थुनामुक्त गर्न सर्वोच्चले भनेको छ ।

घर फर्काउन उनलाई जेलबाट अध्यागमन विभागतर्फ लगिएको छ ।

पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिबानासमेत गर्नेछ । जरिबाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर