नेपाल टी-२० लिग शुक्रबारबाट, विदेशी खेलाडीहरु आउन सुरु – Nepal Press

नेपाल टी-२० लिग शुक्रबारबाट, विदेशी खेलाडीहरु आउन सुरु

काठमाडौं । ऐतिहासिक प्रतियोगिताका रुपमा हेरिएको नेपाल टी-२० क्रिकेट लिग शुक्रबारबाट सुरु हुँदैछ । उक्त प्रतियोगितामा छानिएका अन्तर्राष्ट्रिय क्रिकेटरहरु काठमाडौं आउन थालेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभन थ्री स्पोर्टससँगको सहकार्यमा गर्न लागेको यो नेपालको आधिकारिक व्यवसायिक घरेलु टी-२० प्रतियोगिता हो । यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको प्रतियोगिता अब भने भव्य रुपमा आयोजना गर्न तयारी लगभग पूरा भएको छ । कतारमा आयोजित विश्वकप फुटबलमा झुमेका नेपाली खेलकुदप्रेमीहरु अब नेपाल टी-२० ले रम्नेछन् ।

यस प्रतियोगितामा विभिन्न ६ फ्रेन्चाइज टोली सहभागी छन् । विराटनगर सुपर किङ्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, लुम्बिनी अल स्टार्स र पोखरा एभेन्जर्स प्रतियोगितामा सहभागी रहेका छन् । प्रत्येक टीमले एकपटकमा ४ जना विदेशी खेलाडीलाई मैदानमा उतार्न सक्छन् । ६ वटै टीमले आफ्नो खेलाडीहरुको नाम फाइनल गरिसकेका छन् ।

फ्रेन्चाइजहरुलाई टीम छान्न विभिन्न मापदण्डहरु दिइएको थियो । नेपाली खेलाडी र विदेशी खेलाडीको पारिश्रमिकका फरक–फरक सीमाहरु तोकिएका छन् । त्यही सीमाभित्र रहेर ६ वटै टीमले स्वदेशी र विदेशी खेलाडीहरु हायर गरिसकेका छन् ।

आज जनकपुर रोयल्सले आफ्नो टीम अनाउन्समेन्ट गर्दैछ । सो टीमका विदेशी खेलाडीहरु नेपाल आइसकेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा शु्क्रबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको फाइनल जनवरी १० तारिखमा हुनेछ । त्यसअघि डबल राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल पुग्न प्रतिस्पर्धा हुनेछ ।

विजेता फाइनल पुग्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्न फेरि एकपटक अवसर पाउनेछ । उसले राउन्ड रोबिन लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच हुने खेलको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । उक्त खेलमा विजयी हुने टोली पनि फाइनल पुग्नेछ ।

नेपाल टी-२० घोषणासँगै नेपालमा हुँदै आएका अन्य फ्रेन्चाइज लिगहरु बन्द हुने अवस्थामा पुगेका छन् । क्यानले आफ्नो आधिकारिक व्यवसायिक क्रिकेट लिग नेपाल टी-२० रहेको र अन्य फ्रेन्चाइज लिगले मान्यता नपाउने जनाएको थियो । क्यानले नेपाल टी-२० आयोजना अधिकार भारतीय कम्पनी सेभन थ्री स्पोर्टसलाई दिएको छ ।

नेपाल टी-२० प्रतियोगितामा चर्चित विदेशी अनुहार पनि सहभागी छन् । भारत, पाकिस्तान, जिम्बावे, वेस्ट इन्डिजका परिचित अनुहारलाई फ्रेन्चाइजहरुले आबद्ध गरेका छन् । दुई दर्जनभन्दा बढी विदेशी खेलाडी प्रतियोगितामा सहभागी रहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर