धरानका पर्यटन व्यवसायीको प्रश्न- गाडी र उद्योग २४ घण्टा चल्न हुने, होटल नहुने ? – Nepal Press

धरानका पर्यटन व्यवसायीको प्रश्न- गाडी र उद्योग २४ घण्टा चल्न हुने, होटल नहुने ?

इटहरी । सोमबार दिउँसो विराटनगरमा नेपाल पर्यटन बोर्ड, नेपाल सरकार, युएनडीपी तथा होटल व्यवसायी संघको संयुक्त आयोजनमा एक पर्यटन कार्यशाला भयो । ‘जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना’ शीर्षक कार्यशालामा पूर्वी तराईका व्यवशायीहरुको उपस्थिति रहेको थियो ।

कार्यशालामा बोल्दै धरानका पर्यटन व्यवसायी बासु बरालले पर्यटन बोर्ड र नेपाल सरकारका अधिकारीहरुलाई प्रश्न गरे, ‘गाडी र उद्योग २४ घण्टा चल्न हुने, होटल नहुने ?’ उनले उद्योगलाई भन्सारदेखि विद्युतमा छुट भएको भन्दै उद्योगकै रुपमा दर्ता हुने होटलहरुमा भने विभेद गरिएको बताए ।

उनले भने, ‘अहिलेको हाम्रो प्रतिस्पर्धा भनेको सिक्किमसँग हो । तर, यस्तो तरिकाले प्रतिस्पर्धा हुन्न । भारतबाट आएकाहरुलाई ठाँउ ठाँउमा रोकिन्छ ।’ बरालले भारतीय गाडिलाई सात दिने निःशुल्क नेपाल प्रवेशको पर्मिट दिएमा प्रदेश १ को पर्यटनमा धेरै राहत हुने तर्क गरे ।

कृषिमा जस्तै पर्यटनमा पनि सरकारले अनुदान दिनुपर्ने भन्दै बरालले पर्यटनमा काम गर्दा क्षेत्र विशेष, परियोजना विशेष मात्रै प्रतिफल हुने खालको लागनी हुनुपर्ने तर्क गरे ।

कार्यक्रममा बोलेका विराटनगरका पर्यटन व्यवसायी भवेश श्रेष्ठले प्रदेश १ मा सगरमाथा बाहेकका हिमाल आरोहणदेखि टे«किङको अनुमति प्रदेशबाटै मिल्नुपर्ने बताए । इटहरीका पर्यटन व्यवसायी रविन गौतमले कुरामा भन्दा काममा अबको पर्यटन कर्म केन्द्रित हुनुपर्ने बताए ।

झापाका व्यवसायी गणेश प्रसाद गौतमले प्रदेश १ को जैविक विविधतालाई पर्यटन उत्सव र उत्पादन बनाएर प्रवद्र्धन गर्नुपर्ने बताए । यातायात व्यवसायी राजु धमलाले हरके बसपार्क क्षेत्रमा पर्यटन सूचनाको राम्रो प्रबन्धदेखि सवारी मजदुरहरुलाई पर्यटन साक्षरताका कक्षाहरु चलाउनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले कानुनकै नाममा काम गर्न नपाएको दुःख व्यक्त गरे । ‘यसो केही गर्न खोज्यो कानुनकै समस्या देखाइन्छ’, साहले भने, ‘बरु बेरुजु तिरौला भनेर आँट गर्यो अदालतबाट स्टे अर्डर आउँछ । पर्यटन बोर्डमा काम भन्दा मुद्धामामिला धेरै हुने समस्या रहेछ ।’

समस्याका बाबजुद केही कामहरु अगाडि बढेको साहले बताए । कंचनजंघा क्षेत्रमा जो ब्राउन र जर्ज व्यान्डले पहिलोपटक आरोहण गरेको नाममा उनीहरुको नाममा ट्रेल निर्माणदेखि रेड पान्ड ट्रेल जस्ता मौलिक परियोजना प्रदेश १ मा आएको बताए । उनले सबै सरोकार पक्षले जिम्मेवार भएर लाग्दा प्रदेश १ को पर्यटनले फड्को मार्ने तर्क गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर