वरिष्ठ संगीतकार गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक – Nepal Press

वरिष्ठ संगीतकार गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक

काठमाडौं । संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’को सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार पुस्तक लोकार्पण गरिएको हो । पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ ।

गजमेरका समकालीन पिटर जे कार्थककी पत्नी रञ्जना कार्थक, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजीत, प्रीतिलगायतले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा गीतकार नगेन्द्र थापाले प्रवासी नेपालीको गीत लेखेर शरण प्रधानलाई संगीतका लागि अनुरोध गर्दा त्यही समूहमा गजमेरलाई भेटेको सम्झिए । सन् १९६३ देखि गजमेरसँगको संगत सुरु भएको भन्दै उनले ६० को दशक संगीतको उत्कर्षको समय रहेको बताए ।

अर्का गीतकार दिनेश अधिकारीले लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्रीलाई’ संगीतबद्ध गरेर गजमेरले जोखिम मोलेको बताए । ‘चर्चित सिर्जना चलाउनु जोखिम हुन्छ, त्यो उहाँले जोखिम मोल्नुभयो र राम्रो सिर्जना दिनुभयो’, उनले भने, ‘त्यसपछि म उहाँको फ्यान भएँ ।’

गजमेरकै कारण आफूले धुनका आधारमा ५ वटा गीत तयार पारेको अधिकारीले सुनाए । ‘संगीतमा दिएको योगदानका कारण उहाँको आयु लामो हुने नै छ’, उनले भने, ‘यो आत्मकथाले उहाँलाई अझ लामो आयु दिएको छ ।’

संगीतकार गजमेरले आफूले नेपाल र नेपालीका लागि संगीतका के कर्म गरे भन्ने प्रमाण पुस्तकमा रहेको बताए । काठमाडौंमा सुरुवाती दिनमा निकै संघर्ष गरेको स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने समकालीनहरुलाई सम्झिए ।

पुस्तकका लेखक शेखर खरेलले गजमेरको समयको जस्तो सांगीतिक समाज आजभोलि नपाइने बताए । ‘हामी कुनै रुखलाई सिंगो रुखमात्र देख्छौं’, उनले भने, ‘यो पुस्तकले रुखको जरा पनि देखाउने काम गरेको छ ।’

कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीतहरु विभिन्न कलाकारले प्रस्तुत गरेका थिए । ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘चिसो चिसो हावामा’, ‘वीरताको चिनो’, ‘भुलिगए सम्झनालाई’ लगायत गीतले प्रतिष्ठानको डबली गुन्जायमान बनेको थियो ।

वाद्यवाधनतर्फ सुरज प्रधान, विक्रम कार्की, रुपेश सिंह, जेपी जोशी, भवन गन्धर्ब, सञ्जीव मैनाली थिए । गायनतर्फ विपीन, कर्म ग्याल्जेन, कमल किरण, नवीन गजमेर, बानिका प्रधान, शीला, जीना रसैली र टीका प्रसाईं थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर