मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर – Nepal Press

मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर

दोहा। लियोनल मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर बनेका छन्। विश्वकप फुटबलको उपाधि जितेसँगै उनी सर्वकालीन महान् फुटबलर हुन् की होइनन् भन्ने विवाद अन्त्य भएको हो।

मेस्सीले ७ पटक फिफा वर्ष खेलाडी अवार्ड जितेपनि विश्वकप उपाधि हात नपारेकाले पेले र म्याराडोनासँग तुलना गर्न नहुने तर्क रहँदै आएको थियो। फिफा विश्वकपको आधिकारिक फेसबुक पेजमा पनि सर्वकालीन महान् खेलाडी विवाद समाधान भएको उल्लेख गरेको छ।

मेस्सीले क्लब फुटबलका सबै उपाधि र व्यक्तिगत अवार्ड जितेपनि विश्व विजेता बन्न सकेका थिएनन्। मेस्सीले सन् २००५ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन्। सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा मेस्सी टोलीको प्रमुख सदस्य थिए। ओलम्पिक फुटबलमा यू-२३ राष्ट्रिय टोली सहभागी हुने भएकाले त्यसले मेस्सी महानताको बहसमा खासै अर्थ राखेको थिएन।

सन् २०१४ मा मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो। लगातार दुई वर्ष तीन ठुला प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएपछि मेस्सीले सन् २०१६ मा सन्न्यासको घोषणा गरेका थिए। आफ्नो भाग्यमा सिनियर अन्तर्राष्ट्रिय उपाधि लेखिएको रहेनछ भन्दै रुँदै सन्न्यास लिएका मेस्सीले चौतर्फी दबाबपछि सन् २०१७ मा फेरी अर्जेन्टिना टोलीका लागि उपलब्ध हुने निर्णय गरेका थिए।

गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिका जितेर उनले अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको पुरा गरेका थिए। अर्जेन्टिनाले त्यो २८ वर्षपछि जितेको पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि थियो। तर पनि विश्वकप जित्न नसकेको भनेर उनीमाथि लगातार प्रश्न उठिरहेको थियो।

यो विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै साउदी अरबसँग पराजित भएपछि दबाबमा आएको थियो। तर दोस्रो खेलबाट अर्जेन्टिनाले पछाडि फर्केर हेर्नु परेन। नेदरल्यान्ड्सलाई क्वाटर फाइनलमा टाई ब्रेकरमा हराएको अर्जेन्टिनाले फाइनल जित्न पनि साबिक विजेता फ्रान्सविरुद्ध टाई ब्रेकरसम्मै पुग्नु पर्‍यो। अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो। अन्तिम पटक अर्जेन्टिनालाई यस्तो सफलता डिएगो म्याराडोनाले दिलाएका थिए।

अर्जेन्टिना विजेता बनेसँगै मेस्सीले यो विश्वकपमार्फत थुप्रै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकप इतिहासमा दुईपटक सर्वोत्कृष्ट खेलाडी अवार्ड हात पार्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले सन् २०१४ मा पनि गोल्डेन बल प्राप्त गरेका थिए। यस्तै एउटै विश्वकपका हरेक चरणमा गोल गर्ने कीर्तिमान पनि मेस्सीको नाममा बनेको छ। समूहगत चरणमा दुई गोल गरेका मेस्सीले प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलमा एक एक गोल गरेका थिए। फाइनलमा आइतबार राती उनले दुई गोल गरे। उनी एकै विश्वकप र समग्र विश्वकप इतिहासमा सर्वाधिक प्लेयर अफ दी म्याच हुने खेलाडी पनि बनेका छन्। उनी कतार विश्वकपमा ५ पटकसहित समग्रमा ११ औँ पटक प्लेयर अफ दी म्याच भए। उनीपछि विश्वकप इतिहासमा सर्वाधिक प्लेयर अफ दी म्याच हुने कीर्तिमान ७ पटकसहित क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्।

मेस्सीले लगातार पाँच वटा विश्वकपमा गोल असिस्ट, सर्वाधिक गोलअसिस्टसहित एक दर्जनभन्दा बढी विश्वकपका कीर्तिमानहरू आफ्नो नाममा लेखाएका छन्। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन्। उनको नाममा १३ गोल रह्यो।

यसअघि राष्ट्रिय टोलीबाट उपाधि नजित्दासम्म मेस्सी र रोनाल्डोबीच को सर्वोत्कृष्ट खेलाडी भन्ने विवाद रहँदै आएको थियो। रोनाल्डोले पाँच पटक फिफा वर्ष खेलाडी अवार्ड जितेका छन् भने सन् २०१६ मा युरो कप पनि जितेका छन्। रोनाल्डो पनि सिनियर अन्तर्राष्ट्रिय फुटबल र युरोपियन च्याम्पियन्स लिगका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्।

३५ वर्षीय मेस्सीले यसअघि क्लब फुटबलमा ११ पटक घरेलु लिग, चारपटक च्याम्पियन्स लिग र तीनपटक फिफा क्लब विश्वकप जितेका थिए। सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष उनले फिफा वर्ष फुटबलर अवार्ड जिते। उनी लगातार सर्वाधिक यो अवार्ड हात पार्ने खेलाडी हुन्। ६ पटक युरोपियन गोल्डेन बुट प्राप्त गरेका मेस्सी अर्जेन्टिनाका १४ पटकका वर्ष फुटबलर पनि हुन्।


प्रतिक्रिया

One thought on “मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर

  1. म्याराडाेना ले बिश्वकप जितेदेखि मलाई सबभन्दा मनपर्ने टिम( अर्जेन्टिना ) ले म्याराडाेना पछि वर्ल्डकपमा कप उचाल्न नसकेर दुखिरहेकाे मन यसपालि मेसि सहितकाे अर्जेन्टिनाले वर्ल्डकप जित्दा मन हलुङ्गाेभई सार्हैनै खुसिभई अाँखाबात अाँसु बगिरहेकाे चालै पायन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर