बाघको बंगारा : भीरमा अल्झिएका मौरीहरु – Nepal Press

बाघको बंगारा : भीरमा अल्झिएका मौरीहरु

काठमाडौं । मूलधारका ‘मास मिडिया’ प्ल्याटफर्महरु सामान्य मान्छेका संघर्षका कथालाई चटक्कै बिर्सेर राजनैतिक गसिपमा रुमल्लिएको छ । यही मूलधारका मिडियाले बिर्सेका भूईंमान्छेका कथाहरुलाई कलात्मक ढंगले क्यामरामा कैद गरी दर्शकमाझ पुगिरहेको टीम हो ‘हेर्ने कथा’ टीम ।

यो टीम कहिले सामान्य मान्छेको असामान्य कथा खोज्दै पर्वत पुग्छ, र ‘बेली ब्लुज’को कथा भनिदिन्छ । कहिले दाङ र रोल्पाको सिमाना पुगेर कोइला खानीको कथा भनिदिन्छ ।

यो टीम कहिले राजधानीतिरै बरालिन्छ । र भन्छ, ‘यहाँ कोलाहालमात्रै छैन । उज्ज्वल सागरको मीठो ‘धुन’ पनि छ ।’ यही टीम कहिले प्राणलाई हत्केलामा राखेर परिवर्तनको खोजीमा निस्किएका तर, परिवर्तन महसुस गर्न नसकेका योद्धाहरुको तीतो यथार्थलाई ‘बितेका कथा’ बनाएर पस्किदिन्छ । भोग्नेहरुका लागि सामान्य तर हेर्नेहरुका लागि असामान्य लाग्ने कथा भन्नु नै यो टीमको खासियत हो ।

यही टीमको अथक परिश्रमले जन्मिएको अर्को सुन्दर कथा हो ‘बाघको बंगारा’ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलमा पब्लिक च्वाइस अवार्ड जितेको ‘बाघको बंगारा’ भीर मौरीको शिकारमा निस्किएका ‘मह शिकारी’ हरुको कथा हो ।

परिवेश छ जाजरकोटको खल्टाकुरीमा अवस्थित अक्करे भीरको । ‘बाघको बंगारा’ले मह शिकारीहरुको मात्र कथा भन्दैन । यसले वृत्तचित्र युनिटको पनि कथा भन्छ । समाजका दुई तप्कामा रहेका मानिसहरुको टोलीले जिजीविषाको त्यान्द्रोमा झुण्डिँदा उनीहरुले के महसुस गर्छन् ? यही प्रश्नको खोजीमा सरस ढंगबाट बुनिएको कथा हो ‘बाघको बंगारा’ ।

‘पाटिसिपेटरी’ अर्थात् कथावस्तुका अन्य पात्रसँगै निर्माण टोली पनि कथामै समावेश हुने शैली वृत्तचित्रमा अपनाइएको छ । कथालाई थप सशक्त बनाउने हेतुले आफ्ना अनुभवलाई ‘न्यारेट’ गर्ने ‘अब्जर्भेसेनल’ शैलीको मिश्रणका साथ यो कथालाई प्रस्तुत गर्ने निर्देशक/प्रस्तोता कमलकुमार र उनको टीमको मेहनतले कथालाई बलियो बनाएको छ ।

महको शिकारमा निस्किएका गोविन्द, राजेन्द्र, दलबहादुर र नरबहादुरसँगै ‘हेर्ने कथा’का टीम कमलकुमार, जीवन रिजाल, प्रकाश देवकोटा र चालकबीच यात्राका क्रममा भएका संवादहरु रोचक र भावनात्मक सुनिन्छन् । जसले कथालाई थप सशक्त बनाइदिएको छ । यात्राको क्रममा कमलले सोध्छन्, ‘बाटो कता छ ?’

शिकारीमध्ये एकको जवाफ हुन्छ, ‘बाटो त बनाउने हो नि सर ! तपाईंको तिर जेसीबी हुन्छ हैन ? अहिलेलाई म नै तपाईंहरुको जेसीबी हुँ नआत्तिनुस् । हाम्रा लागि नेपालगञ्जको समथर भूमि जस्तै ठाउँ हो यो । काठमाडौंमा ठूल्ठूला बिल्डिङ हुन्छन् । हाम्रा लागि ती ठूला बिल्डिङ यही भीर हुन् ।’

मह शिकारीले यसो भनिरहँदा उनको मुहार उन्मुक्त हाँसोले भरिएको हुन्छ । हाँसोले भरिएको मह शिकारीको मुहारले अभाव र दुःख देखाउँछ । जीवन कति कष्टकर र अमूल्य छ, डरले कापिरहेका निर्देशकको मुहारले देखाउँछ ।

‘बाघको बंगारा’मा सिनेम्याटोग्राफर जीवनले रेकर्ड अन नै गरेर मह शिकारीलाई क्यामरा समात्न दिन्छन् । ती सट हल्लिएका छन्, ‘सेकी’ छन् । तर, तिनै सटले वृत्तचित्रलाई बलियो बनाएको छ, ती शिकारीका कथालाई मजेदार बनाएका छन् । तिनै अनस्टेबल सटका कारण ‘बाघको बंगारा’ अपूर्ण जस्तो तर आफैंमा पूर्ण बनेको छ ।

नाइलनको डोरीमा अड्काइएका काठका सेराहरुको भरमा चट्टाने भीरमा झुण्डिएका मह शिकारीको एउटा दृश्य कैद गर्न भीरको बीचमा पुगेका हुन्छन् क्यामेराम्यान जीवन । जब उक्त स्थानबाट अलि सहज स्थानमा अवतरण हुन्छन्, अनि भावविह्वल हुन्छन् । जीवनको आँखाबाट खसेको आँसु र उनैले खिचेको भीरमा झुण्डिएका मह शिकारीको दृश्यले दर्शकको मन चिमोट्छ ।

गोविन्द, राजेन्द्र, दलबहादुर र नरबहादुरको मह शिकारको यात्रामा सानो गल्तीले पूर्णविराम लाग्न सक्छ । तर, उनीहरुलाई डराएर मह शिकार नगर्ने छुट छैन । उक्त महसँग उनीहरुको परिवार र भोको पेट जोडिएको छ । उनीहरुको ध्येय एउटै छ, भीर मौरीको मह काढेर बेच्ने र परिवारको जीवन धान्ने ।

उनीहरुले यत्रो दुःख गरेर काढेको मह जब बजारमा पाँच सय प्रतिकेजीमा मात्रै हुन्छ, त्यसले विस्मित तुल्याउँछ । समाजको कुनै वर्ग कति पिल्सिएर बाँचेको छ र राज्यको शासन व्यवस्था कति लाचार छ भन्ने कुरालाई छताछुल्ल बनाइदिन्छ ।

वृत्तचित्रका निर्देशक तथा प्रस्तोता कमल आफ्नो अनुभव सुनाउँछन्, ‘यहाँ कान्छी औंला जत्तिकै पातलो भीरमा म अडिएको छु । भीरबाट खस्यो मात्र भने लाससमेत भेटिन्न । यो अनुभवलाई म शब्दमा बयान गर्न सक्दिनँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *