अमेरिका र रुसको सट्टापट्टा : खेलाडीसँग यसरी साटिए हतियार व्यापारी – Nepal Press

अमेरिका र रुसको सट्टापट्टा : खेलाडीसँग यसरी साटिए हतियार व्यापारी

काठमाडौं । ‘मलाई ब्रिटनी सही हालतमा छिन् भनेर भन्न पाउँदा निकै खुशी लागेको छ । उनको अवस्था थप सुधार हुन अझै केही समय लाग्नेछ ।’

यो भनाइ अमेरिकी राष्ट्रपति जो बाइडेनको हो । अमेरिकी राष्ट्रपतिले व्हाइट हाउसमा यो घोषणा गरिरहँदा रुसका सञ्चारमाध्यमहरुमा भने अर्को समाचार मुख्य हेडलाइन बनिरहेको छ ।

हेडलाइन हो, ‘मृत्‍युको व्यापारी, मस्को फिर्ता भएका छन् ।’

हाल विश्वका शक्तिशाली मुलुकको प्रतिस्पर्धामा रहेका रुस र अमेरिकाले गरेको खेलाडी र हतियार व्यापारीबीचको सट्टापट्टाले विश्व समुदायको ध्यानाकर्षण गराएको छ । खेलाडी र हतियार व्यापारीबीच यी दुई राष्ट्रहरुले सट्टापट्टा गर्ने अवस्था कसरी सिर्जना भयो ?

कथा सुरु हुन्छ गत फेब्रुअरीको तेस्रो साताबाट । सो समयमा अमेरिकाकी प्रख्यात बास्केटबल खेलाडी ब्रिटनी ग्रिनर रूसको मस्कोस्थित सेरेमेत्येभो विमानस्थलबाट पक्राउ पर्छिन् । युरो लिग खेल्न पुगेकी ब्रिट्नीको ब्यागमा भाङको तेल भेटेको आरोपमा उनलाई हिरासतमा लगिन्छ र लागूऔषध मुद्दामा दोषी ठहर गर्दै रुसले उनलाई ९ वर्षको कैद सजाय सुनाउँछ ।

प्रतिभावान खेलाडीलाई उक्त सजाय सुनाइएपछि अमेरिकामा ब्रिट्नीलाई स्वदेश फिर्ता गराउनुपर्ने माग तीव्र हुन थाल्यो । अमेरिकाले ब्रिट्नीलाई स्वदेश फर्काउन रुससँग ‘संवाद’ पनि सुरु गर्‍यो ।

यद्यपि रुस र युक्रेनबीच सोही समयमा सुरु भएको युद्धका कारण अमेरिका र रुसबीचको तिक्तता चरम विन्दुमा थियो त्यो वेला । ब्रिटिनीलाई स्वदेश फर्काउन कटिबद्ध देखिएको अमेरिकालाई रुसले संवादको समयमा एउटा सर्त अघि सार्‍यो । सर्त थियो, अमेरिकी जेलमा रहेका आफ्ना नागरिक भिक्टर बुटलाई रिहा गरिनुपर्ने । बुट रूसका खुङ्खार हतियार व्यापारी हुन् ।

अन्तर्राष्टि«य सञ्चारमाध्यमहरुका अनुसार उनले अलकायदालगायतका आतंककारी समूहहरुलाई समेत हतियार बेच्दै आएका थिए । गैरकानूनी रुपमा हतियार बेच्नमा विख्यात भिक्टर बुटको जीवनमा आधारित रहेर ‘लर्ड अफ वार’ नामक चलचित्रसमेत निर्माण भएको छ ।

उनलाई अमेरिकी नागरिकको हत्या योजना बनाइरहेको आरोपमा सन् २००८ मा थाइल्यान्डको राजधानी बैंककबाट पक्राउ गरिएको थियो । पक्राउ गरिएको दुई वर्षपछि थाइल्याण्ड प्रहरीले उनलाई अमेरिका डिपोर्ट गरेको थियो । अमेरिकामा उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

रूसी संस्थापनसँग निकट रहेका बुटलाई छुटाउन रुसले धेरै पहिलाबाट नै प्रयत्न गरेको बताइन्छ । यद्यपि ब्रिट्नी भने रुसको उक्त पहललाई सफल बनाउने कडीको रुपमा प्रस्तुत भइन् । रिपोर्टका अनुसार रुसले बुटलाई रिहा गर्ने सर्त अघि सारेपछि अमेरिकाले ग्रिनरसहित पूर्वजल सैनिक पल ह्वेलनलाई पनि रूसी जेलबाट छोड्न माग गरेको थियो ।

यद्यपि रुसलाई सो सर्त स्वीकार्य भएन र अन्ततः ब्रिट्नीको सट्टामा बुटलाई छोड्न अमेरिका तयार भयो । हाल बुट र ब्रिट्नी दुबै जना आआफ्नो देश पुगेका छन् । रुसमा आवतरण भइसकेपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बुटले भनेका छन्, ‘मध्यरातमा आएर मलाई मेरा सामान प्याक गर्न लगाइयो र रिहा गरियो । अरु मलाई केही थाहा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर