विपीन कार्कीलाई बलिउडमा धोका ! ‘एनिमल’ मा अनुबन्धित भए, खेल्न पाएनन् – Nepal Press

विपीन कार्कीलाई बलिउडमा धोका ! ‘एनिमल’ मा अनुबन्धित भए, खेल्न पाएनन्

काठमाडौं । अभिनेता विपीन कार्कीले बलिउड फिल्ममा काम गर्न लागेको भनेर हल्लाखल्ला भएको एक वर्ष भयो । तर, अहिलेसम्म उनी सो फिल्ममा प्रत्यक्ष जोडिन सकेका छैनन् । अब भने विपीन सो फिल्मबाट बाहिरिएको चर्चा सुरु भएको छ ।

सन् २०१७ मा निर्मित चर्चित तेलुगी फिल्म ‘अर्जुन रेड्डी’ का निर्देशक सन्दीप रेड्डीले निर्देशन गर्ने फिल्म ‘एनिमल’ मा विपीन अनुबन्ध भएको समाचार गत वर्षको पुसमा सार्वजनिक भएको थियो । विपीनले पनि त्यसलाई स्वीकारेका थिए । उक्त चलचित्रमा विपीनले अनिल कपुर, रणवीर कपुर, परिणिती चोपडा, रस्मिका मन्दाना, बबी देवलजस्ता चर्चित कलाकारहरुसँग स्क्रिन शेयर गर्ने भनिएको थियो ।

नेपालका प्रतिभावान कलाकारले विश्वकै ठूलो फिल्म इन्डष्ट्रीमा प्रवेश पाउन लागेको भनेर नेपाली दर्शकहरु पनि निकै उत्साही बने । तर, एक वर्षसम्म पनि विपीन सो चलचित्रको सुटिङमा ज्वाइन हुन सकेका छैनन् । जबकि चलचित्रको सुटिङ भने मुम्बईमा चलिरहेको छ ।

बुझिएअनुसार विपीनले अब सो चलचित्रबाट अलग हुने सोच बनाइसकेका छन् । एक वर्षको अवधिमा ६ पटक मुम्बई-काठमाडौं ओहोरदोहोर गर्दा पनि सुटिङको सेड्यूल नपाएपछि उनी निराश बनेका हुन् । नेपालमा भने उनका केही फिल्म पाइपलाइनमा छन् । नेपाली फिल्मको समेत काम प्रभावित बनेपछि उनले ‘एनिमल’ छोड्ने मनस्थिति बनाएका हुन् । यद्यपि आफूले अहिलेसम्म निर्णय लिइनसकेको उनले बताइरहेका छन् ।

पछिल्लोपटक एनिमलको सुटिङका लागि भन्दै गत महिना विपीन मुम्बई लागेका थिए । तर, सुटिङ गर्न नपाएपछि रित्तो हात नेपाल फर्किएका छन् । आज उनी राजेश हमालसहितका कलाकारहरुको जम्बो टोलीसँग हनी हन्टिङका लागि लमजुङ जाँदैछन् ।

यात्राकै क्रममा उनलाई सञ्चारकर्मी अनुप भट्टराईले ‘एनिमल’ छाडेको विषयमा सोधेका थिए । विपीनले घुमाउरो तरिकाले स्वीकार गरे ।

उनले भने, ‘त्यता आउने-जाने धेरै भयो । यहाँ धेरैवटा फिल्म पेन्डिङमा छन् । मेरो लागि त्यहाँको भन्दा यहाँको जिम्मेवारी महत्वपूर्ण छ । त्यसैले अब म यहाँ आफ्नो काम गर्न थाल्छु । फिल्म छोड्ने विषयमा भने निर्णय लिइसकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर