सच्चिने कि सक्किने ? – Nepal Press

सच्चिने कि सक्किने ?

अन्ततः देश र जनताप्रति बफादार बन्छु भनेर निर्वाचित सासंदहरुबीच पुनः प्रधानमन्त्री को बन्ने भन्नेमा हानथाप सुरु भइसकेको छ । सबैभन्दा लोकतान्त्रिक दल नेपाली कांग्रेस गठबन्धनको बलमा पहिलो पार्टी बने तापनि नयाँ राजनैतिक पार्टीको उदय र जनमतका मागलाई समेत बेवास्ता गरी पुनः प्रधानमन्त्री को बन्ने भन्ने रडाको र नेताहरुको अभिव्यक्तिले पनि दलका नेताहरु पुनः शक्ति र सत्ता केन्द्रित भएको पुष्टि गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैं संसदीय दलको नेता बन्ने दाउमा छन् । प्रधानमन्त्री पुनः देउवा नै बन्ने उनका निकट नेताहरुबाट अभिव्यक्ति आइसकेको छ । त्यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अबको प्रधानमन्त्री म हो’ भनेर हरेक सभामा भनिसकेका छन् । कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेतामा दाबी गर्ने भनेर प्रधानमन्त्रीमा दाबी गरिसकेका छन् ।

त्यतिमात्र होइन, शशांक कोइरालाले समेत अब आफ्नो दाबी प्रधानमन्त्रीमा रहनेछ भनेर मुख खोलिसकेका छन् । प्रकाशमान सिंहको दाबी पुरानो भइसक्यो । नेपाली कांग्रेसका यति धेरै नेताहरु प्रधानमन्त्रीको दावेदार बनिरहँदा जनता भने रमिते बन्न बाध्य छन् । देशका आवश्यकता र जनताको आकांक्षाको पहाड थुप्रिएको सन्दर्भमा नेपाली कांग्रेसभित्र नै यति धेरै आकांक्षी प्रधानमन्त्रीमा रहेर नेताको सत्तोसराप गरिरहँदा नेताको असली रुप चित्रित भएको छ ।

गठबन्धनका नाममा रहेर लामो समयसम्म सहकार्य गर्ने भनेर चुनावमा होमिएको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसभित्र प्रधानमन्त्री बन्ने लालसा पालेका नेताहरुको कमी छैन । पद र शक्तिका लागि जे पनि गर्न सक्ने नेताहरुको अबको अभिव्यक्ति र व्यवहार हेर्न अब धेरै दिन पर्खन पर्दैन ।

देशका आवश्यकता र जनताको आकांक्षाको पहाड थुप्रिएको सन्दर्भमा नेपाली कांग्रेसभित्र नै यति धेरै आकांक्षी प्रधानमन्त्रीमा रहेर नेताको सत्तोसराप गरिरहँदा नेताको असली रुप चित्रित भएको छ ।

गठबन्धनका नाममा शक्ति र सत्ताका लागि जस्तोसुकै पनि हत्कण्डा मच्चाउने दलहरुको प्रवृत्ति हिजोको भन्दा भिन्न हुने छाँट छैन । बहुमत र अल्पमत अनि गठबन्धनका नाममा गरिएको अराजक गतिविधिको विरुद्ध देशमा नयाँ शक्तिको उदय भएर संसदमा प्रत्यक्ष निर्वाचित भइसक्दा पनि हेक्का नराखी गरिएको गतिविधिले पुरानो राजनैतिक दलहरुमा अझै चेत नखुलेको प्रस्ट हुन्छ ।

राजनीति दीर्घकालीन हुनुपर्दछ । तर, नेपालको राजनीति अल्पकालीन र स्वार्थ केन्द्रित बनिदियो । पाउँदा उपभोग गरिहाल्ने रणनीति देश र जनताको लागि घातक हुन्छ भन्ने कुरा नेतृत्व तहले नबुझिदिँदा देशमा राजनैतिक उथलपुथल रहिरह्यो । पद र शक्ति केका लागि भन्ने कुराहरुको गठजोड रहँदा देश सधैं अस्थिरतातर्फ उन्मुख बनिदियो ।

राजनीतिको यो चरम बेथिति र यसले पारेको प्रभाव देशको हरेक क्षेत्रमा देखिएको छ । जनतालाई सधैं दास सम्झने परिपाटी यो निर्वाचनले पनि देखायो । निर्वाचन परिणामको सूक्ष्म विश्लेषण गरेर अगाडि बढ्नुभन्दा फेरि पनि सत्ताको किचलोले अबको दिनमा झन राजनैतिक, आर्थिक र सामाजिक रुपमा देश पछाडि धकेलिने कुरामा कुनै शंका छैन ।

राजनीति दीर्घकालीन हुनुपर्दछ । तर, नेपालको राजनीति अल्पकालीन र स्वार्थ केन्द्रित बनिदियो । पाउँदा उपभोग गरिहाल्ने रणनीति देश र जनताको लागि घातक हुन्छ भन्ने कुरा नेतृत्व तहले नबुझिदिँदा देशमा राजनैतिक उथलपुथल रहिरह्यो ।

यसै पनि कम्युनिष्ट पार्टीमा आत्मसमीक्षाको प्रवलता बढी हुन्छ । आत्मसमीक्षा फगत आत्मकेन्द्रिततर्फ उन्मुख बनिदिँदा दिनानुदिन जनताको आक्रोश बढिरहेको छ । नयाँ युवा पिंढीमा पुरानो राजनैतिक पार्टीप्रति वितृष्णा बढिरहँदा र यो निर्वाचनमा नयाँ स्वतन्त्र र अन्य दलहरुको उदय हुँदासमेत फेरि उही सत्ताको किचलोले देश समृद्ध र सुखी नेपाली बन्ने अभियान देखाउने दाँत बनेको छ ।

नेता र यही राजनैतिक दलहरु सच्चिऊन् । जनताको न्यूनतम आवश्यकता, देशमा रोजगारीको सृजना, उत्पादन तथा वितरण प्रणाली र न्यायमा समान पहुँच भन्ने आमधारणा हो । देशमा उत्पादन र रोजगारीको उचित प्रवन्ध नहुँदा दैनिक धेरै नेपालका योग्य व्यक्तिहरु विदेशिरहँदा, नेपालको सम्पत्ति बेचेर अध्ययनका नाममा विदेश गइरहँदा त्यसले नेपालको अर्थतन्त्रमा पार्ने, दक्ष जनशक्तिको अभावले देशमा पार्ने प्रभावले देश झन झन हरेक क्षेत्रमा कमजोर बन्दै गएको छ ।

जनता व्यक्तिगत लाभहानी चाहँदैनन् । बस आमजनताको चाहना भनेको योग्यताअनुसारको कर्म, सुरक्षाको वातावरण, भ्रष्टाचारविहीन समाज र जनताप्रति सरकारको उत्तरदायित्व भन्ने हो । यही बीचमा रहेर राजनीति अगाडि लैजाने हो भने नेपाल जस्तो विविधताले भरिएको देशमा आर्थिक विकास र समृद्ध देश बनाउन गाह्रो छैन । राजनीतिको मूल नै सधैं धमिलो हुने हो भने भोलिका दिनमा झन विकाराल अवस्था सिर्जना हुनेछ । देशमा काम गर्ने वातावरणको सिर्जना नहुने तर भ्रष्टाचारमा लिप्त भइरहने हो भने सडकबाट नै आमजनताले यो व्यवस्था र राजनैतिक पार्टीलाई नै बढार्नेमा कुनै शंका छैन ।

नेपालको सन्दर्भमा हेर्ने हो भने शासन व्यवस्था हैन, नेतृत्वको बहिर्गमन नै अपरिहार्य भइसक्यो । अब यही शासन व्यवस्थाबाट नै देश समृद्ध बनाउन सकिन्छ । व्यवस्था परिवर्तन हुँदै आफै विकास र समृद्ध हुन सक्दैन ।

जीत र पद केका लागि भन्ने कुराको सान्दर्भिकता नहुने हो भने जो प्रधानमन्त्री र राष्ट्रपति भए तापनि कुनै अर्थ छैन । हरेक पदको गरिमा जोगाउने गरी लाग्ने हो भने गिजोलिएको साखलाई फर्काउन गाह्रो छैन । हैन भने सधैं जनताका नाममा गरिने यो खोक्रो राजनीतिको कुनै अर्थ छैन । नेपालको सन्दर्भमा हेर्ने हो भने शासन व्यवस्था हैन, नेतृत्वको बहिर्गमन नै अपरिहार्य भइसक्यो । अब यही शासन व्यवस्थाबाट नै देश समृद्ध बनाउन सकिन्छ । व्यवस्था परिवर्तन हुँदै आफै विकास र समृद्ध हुन सक्दैन ।

अन्ततः पुनः देश गठबन्धनका नाममा उही पुरानो बेथितिमा धकेलिनेमा कुनै शंका छैन । यो वा त्यो बहानामा शक्ति र सत्तामा रहने अभिष्टभन्दा अन्य केही देखिँदैन । यो सन्दर्भमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीलगायत स्वतन्त्र सांसदको जबरजस्त उदयले संसदको यो अराजकतालाई चिर्ने प्रयत्न गर्दछ कि त्यही संसदीय भासमा भासिन्छ त्यो हेर्न भने बाँकी नै छ । सधैं देश र जनताको नाममा देशलाई अस्थिर बनाउने प्रयत्न अब सम्भव छैन । अबको युग भनेको प्रतिस्पर्धाको युग हो । जो प्रतिस्पर्धामा सफल हुन्छ, उसैले शासन गर्छ । इतिहासलाई भजाएर शासन गर्ने दुस्साहस अब कसैले नगर्दा हुन्छ । कोही पनि कसैको दास मनोवृत्ति अब जनतालाई सह्य हुँदैन ।


प्रतिक्रिया

One thought on “सच्चिने कि सक्किने ?

  1. यो शीर्षक अरूको लागि लागू होला तर एमालेको हकमा लागू हुँदैन । एमालेले यो देशमा अभूतपूर्व विकास गरेको छ । विधि पद्वति अनुसार पार्टी चलाएको छ ।पार्टीका फटाहाहरू पार्टी छोडदै हिडेका छन् । अरू पार्टीको लागि शीर्षक मिल्यो एमाले र ओलिलाई नमिसाउ । अन्याय हुन्छ । तिमीले निष्पक्ष र कसैले नलगाईकन लेख लेखेको हो भने एमाले यो लेखमा आउनै मिल्दैन । अरू पार्टी नेपालमा लुटन र भारतको लागि दलाली गर्न बनेका हुन् । तिनको लागि मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *