मैदानमा उत्रिएपछि हारजित हुन्छ, उपविजेता भएकोमा गर्व छः कोमल वली – Nepal Press
नेपाल टक

मैदानमा उत्रिएपछि हारजित हुन्छ, उपविजेता भएकोमा गर्व छः कोमल वली

काठमाडौं ।पछिल्लो समय राजनीतिमा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको आकर्षण बढिरहेको छ । कलाकारिताबाट पनि धमाधम विभिन्न पार्टीको फेर समातेर धेरैजना राजनीतिमा प्रवेश गरिरहेका छन् ।

कलाकारिताबाट राजनीतिमा प्रवेश गरेकामध्ये एक हुन् गायिका कोमल वली । यद्यपि, उनी राजनीतिमा प्रवेश गरेको ७–८ वर्ष भइसकेको छ । सुरुमा राप्रपा प्रवेश गरेकी उनी अहिले एमालेमा छिन् । हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी दाङबाट पराजित भइन् । कांग्रेस उम्मेदवार दिपक गिरीसँग पराजित भएकी वलीले झण्डै ३० हजार भोट ल्याएकी थिइन् र

चुनावमा हार खाए पनि वली निरुत्साहित छैनन् । पराजयलाई सहजताका साथ स्वीकारेको उनी बताउँछिन् । जनताको बीच अझै मिहिनेतपूर्वक काम गर्ने उनको अठोट छ ।

यहाँ एमालेका कुनै पनि उम्मेदवार विजयी नभएको अवस्था, निर्वाचनको समीक्षा, अब चालिने कदमलगायतबारे एमालेकी केन्द्रीय सदस्य एवं दाङ क्षेत्र नं ३ मा पराजित उम्मेदवार पूर्वराष्ट्रियसभा सदस्य कोमल वलीसँग गरिएको कुराकानीः

– चुनावी परिणामलाई कसरी लिनुभएको छ ?

मैले चुनावी परिणामलार्ई एकदमै सामान्य हिसाबले लिएकी छु । जनताले मेरो प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई आफ्नो अमूल्य मत दिएर जिताउनुभयो । मैले ३० हजार हाराहारीमा मत प्राप्त गरें । यत्रो मत आउनु नै ठूलो कुरा हो । जति पनि मत मैले पाएँ, त्यसबाट मलाई एउटा छुट्टै ऊर्जा र सहानुभूति प्राप्त भएको छ । पदको हिसाबले म कुर्सीमा बस्न पाइँन, त्यो बेग्लै कुरा हो ।

तर, यति धेरै मत दिएर जनताले मलाई राजनीतिक रुपमा अनुमोदन गरेका छन् । राजनीतिमा म अनुमोदन भएकी छु । जनताले पनि आफ्नो हिसाबले कोसिस गर्नुभएकै हो । चुनावी मैदानमा विजयी हुन नसके पनि उपविजेता भएर म निस्किएकी छु । त्यसैमा म गर्व गर्छु ।

राजनीति एउटा खेल हो । खेलमा हारजीत हुन्छ । मैदानमा उत्रिएपछि हारजीत जे भए पनि स्वीकार्न सक्ने क्षमता एउटा राजनीतिज्ञमा हुनुपर्छ ।

– केही हजारको मत भिन्नताले तपाईं यसपालिको चुनावमा पराजय हुनुभयो । थोरै मतको कमीले हार्नुपर्दा कतिको दुःख लाग्दोरहेछ ?

जतिसुकै जे भने तापनि हार्दा नरमाइलो र दुःख सबैलाई नै लाग्छ । मलाई पनि लागेको छ । ५ हजार भोटको तलमाथि भएको थियो । मलाईभन्दा अझ धेरै मेरा मतदाताहरुलाई लागेको छ । म एउटा प्रतिस्पर्धीको रुपमा मैदानमा उत्रेको मान्छे हो । त्यसैले मलाई दुःख लाग्नु स्वाभाविक हो । तर, म सँगसँगै मलाई मतदान गर्नुहुने मेरा सम्पूर्ण आमाबुवा, दिदीभाइहरुलाई पनि दुःख लागेको मैले महसुस गरें । मभन्दा धेरै मेरा मतदाताहरु, पार्टीका कार्यकर्ताहरु र पार्टीका नेताहरु दुःखी हुनुभयो । किनकि हामी जीतमा ढुक्क थियौं । पछि समय प्रतिकूल हुँदै गयो । म त स्वीकार्छु पनि । राजनीति एउटा खेल हो । खेलमा हारजीत हुन्छ । मैदानमा उत्रिएपछि हारजीत जे भए पनि स्वीकार्न सक्ने क्षमता एउटा राजनीतिज्ञमा हुनुपर्छ ।

म परिणाम जे आउँछ, त्यसलाई सहर्ष स्वीकार्छु भनेर मैदानमा गएको मान्छे हो । त्यसैले परिणामसँग मलाई कुनै गुनासो छैन । मतगणनापश्चात विजयी प्राप्त गर्नुभएको मेरो प्रतिस्पर्धी दीपक गिरीलाई मैले प्रत्यक्ष रुपमा भेटेर बधाई र शुभकामना पनि दिए । गठबन्धन हुँदासमेत हारजीतमा ठूलो भिन्नता थिएन । त्यसमा पनि यसपालि धेरै मतहरु बदर भए । एक त मेरो निर्वाचन क्षेत्र दाङका तीनवटामा सबैभन्दा ठूलो छ । दाङ क्षेत्र नम्बर ३ एक लाख ४६ हजार २३४ मतदाता नामावली भएको ठाउँ हो । त्यसमध्ये ९० हजार ८४२ मत खसेको थियो । ९० हजार मत खसेको ठाउँ अवश्य पनि ठूलै ठाउँ हो ।

मनमा विजयी भइन्छ भन्ने थियो । तर, गठबन्धन हाबी भएर सम्भव हुन सकेन । एकातिर गठबन्धन र अर्कोतिर धेरै मात्राको मत बदर । मतदाताहरुले एउटै प्रतिनिधिसभाको मतपत्रमा चार ठाउँमा छाप लगाएको पनि फेला पर्‍यो । सूर्य र घण्टी र सूर्य र हलोेलाई मतदान गरिएको मतपत्र धेरै भेटिए ।

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नै निर्वाचन हो । आमनिर्वाचन हरेक ५ वर्षमा आउँछ र प्रतिस्पर्धा हुन्छ । जसमा एउटाले जित्छ र अर्कोले हार्छ । ५ वर्षपछि जनतामाँझ जानैपर्ने हो । त्यो वेला हाम्रो जीत हुन सक्छ । त्यसैले म खुशी नै छु ।

– तपाईंका अनुसार तपाईं पराजय हुनुको मुख्य कारण गठबन्धन वा धेरै मात्रामा आएको बदर मत हो ?

धेरै कारणहरु छन् । गठबन्धन त मुख्य समस्या नै भइहाल्यो । मतदाताले भोट नदिएको पनि भन्न मिल्दैन । मत नदिएको भए त्यत्रो ३० हजार भोट आउँदैनथ्यो । मैले जति जनासँग प्रत्यक्ष बसेर कुरा गरे वा भनौं जति जनाले मेरो कुरा सुन्नुभयो, उहाँहरुले मलाई भोट दिनुभएको छ । खासमा मतदाताहरुमा उम्मेदवारलाई प्रत्यक्ष रुपमा नभेटे, नदेखे र भोट नमागेसम्म के भोट दिने र ? भन्ने हुँदोरहेछ । ठाउँ ठूलो भएकाले सबै मतदातासँग भेट्न सम्भव थिएन । ३६ वटा वडा र ४ वटा पालिका भएको ठाउँमा सबैसँग साक्षात्कार गर्न असम्भव नै थियो । जुन पालिका र ठाउँहरुमा म पुग्न सकिनँ, त्यहाँबाट मलाई अलि कम भोट आयो ।

खासमा मतदाताहरुमा उम्मेदवारलाई प्रत्यक्ष रुपमा नभेटे, नदेखे र भोट नमागेसम्म के भोट दिने र ? भन्ने हुँदोरहेछ । ठाउँ ठूलो भएकाले सबै मतदातासँग भेट्न सम्भव थिएन ।

अर्को कुरा भनेको हामी यो क्षेत्रमा पहिलादेखि नै कमजोर हौं । एमालेलाई गठबन्धनले सखाप नै पार्ने गरी अघि बढेको क्षेत्र हो । स्थानीय चुनावकै परिणाम हेर्ने हो भने पनि हामीले ३६ हजार मत प्राप्त गर्दा गठबन्धनले ४२ हजार मत ल्याएको थियो । त्यति वेला पनि ६ हजार मतको कमी भयो । समानुपातिकमा पनि पार्टीलाई जम्मा २४ हजार मत आयो । त्यही हो वर्षौंदेखि गठबन्धन हावी भएकाले गर्दा हामी थोरै कमजोर भयौं ।

मेरा साथीहरुले गर्नुभएको रिपोर्टिङअनुसार गठबन्धनबाट प्रशासनिक खालको सत्ताको शक्ति लगाउने, ठाउँठाउँमा गएर ठूल्ठूला योजनाहरु वा भनौं बाटोहरु बनाउने तथा विभिन्न प्रमुखहरुलाई बोलाएर प्रलोभनहरु देखाउने र पैसाको चलखेल गर्ने खालका क्रियाकलापहरु भइरहेको छ भन्नुहुन्थ्यो । यी कुराहरुलाई म अन्तिम सत्य त मान्दिनँ । तर, त्यही हो पराजय भए तापनि सबैले माया गरेर दिनुभएको मत हो । आएका भोटलाई सबैले कदर गर्नुपर्छ । उहाँहरुले दिनुभएको एकएक मत अमूल्य भएकाले गणनाभरि म आफैं मत गणनास्थलमा उपस्थित थिए ।

– सुरुवाती दिनहरुमा विजयी हुन्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्थ्यो ?

विश्वस्त नै थियौं । चुनावको समयमा जतिले पनि मलाई भोट दिनुभएन, उहाँहरुलाई अहिले आएर कोमल ओलीलाई जिताउनुपर्ने रहेछ भन्ने महसुस भए जस्तो मलाई लागिरहेको छ । म दाङमै जन्मी, हुर्की, पढी र जिन्दगीको अधिकतम समय यही क्षेत्रमा बिताएको मान्छे हो । म एकदमै सामान्य घरको मान्छे । दाङ भनेको धेरै मात्रामा मध्यम वर्गीय जनताको बसोबास भएको ठाउँ हो । त्यही भएर पनि दाङका जनताले मलाई उहाँहरुको प्रतिनिधिको रुपमा छनोट गर्नुभएको थियो । माया पाएकी हुँ, खुशी लाग्छ ।

अहिले पनि म यही छु । अहिले पनि मलाई यहाँका जनताले साथ दिइरहनुभएको छ । सबैजनाले तपाईं यही बस्नुस्, तपाईंलाई हामीले दक्ष मानेर यस क्षेत्रको जनप्रतिनिधि बनाई भोट दिएका हौं, हामीलाई विकास निर्माणमा तपाईंको हात चाहिन्छ र हाम्रो साथ सदैव तपाईंलाई हुनेछ भनिराख्नुभएको छ । त्यसैले योपालि पराजय भए पनि अर्को पल्टलाई यहाँ मेरोबाहेक अरु कसैको विकल्प छैन ।

– फापअफापमा कतिको विश्वास गर्नुहुन्छ ? कतै राजनीति तपाईंलाई नफापेको त होइन ?

नफापेकोभन्दा पनि समय अनुकूल नभएको हो । गठबन्धन थियो । परिणाम प्रतिकूल भएको हो । तर, मतको हिसाबले हेर्ने हो भने म सन्तुष्ट छु । मलाई साँच्चै भन्नुपर्दा चुनाव लड्नुपर्छ भन्ने पनि थिएन । मैले जोखिम लिएर नै अगाडि बढेको हो । मलाई जनतासँग राजनीति गर्ने मान्छे अनुमोदित भएर आउनुपर्छ भन्ने लाग्छ । त्यसैले म मैदानमा उत्रिएको हो । मलाई त राजनीति फापेको नै लाग्छ । राजनीतिमा प्रवेश गर्नेबित्तिकै म प्रदेशसभाको सदस्य भएँ ।

म फागुन ६ गते राजीनामा दिएर फागुन ७ गते राप्रपाको केन्द्रीय सदस्यमा उठेको हो । त्यहाँ पनि म सबैभन्दा बढी मत प्राप्त गरेर विजयी भएँ । राष्ट्रियसभामा मैले सबैभन्दा राम्रो सांसद बनेर राम्रो प्रस्तुतीकरण राखेको छु । आफ्नो सरकार हुँदा मैले आफ्नो सरकारका नीति तथा कार्यक्रमहरुको पक्षपोषण गरें । आवाजविहीनहरुको आवाज बोलें । गाउँको विकास निर्माण, महिला हिंसा, राष्ट्रिय राजनीतिमा घटेका हरेक घटना परिघटनाहरुमा आफूलाई सहभागी गराएर बोलें । यस्ता विषयहरुमा सबैभन्दा बढी बोल्ने सांसदमध्ये म पनि एक हो । राष्ट्रियसभामा चार वर्ष सक्रिय भएर काम गरें ।

पार्टीमा म केन्द्रीय सदस्य हुँ । पार्टीको लागि म गएको पाँच–छ वर्षदखि सबै काम छोडेर पूर्ण रुपमा राजनीतिमै मेहेनत र सक्रिय भएर लागिरहेको छु ।

दाङमा मैले व्यापक विकास निर्माणका कार्यहरु गरेको छु । जहाँ बाटाहरु थिएनन्, त्यहाँ मैले झोलुङ्गे पुलहरु निर्माण गरेको छु । केन्द्रीय बजेटबाट ठूल्ठूला सडक र राजमार्गहरु लगेको छु । ठूला पुलहरु बनिरहेका छन् । राजमार्ग, तटबन्ध, बाँध, ड्याम, कुलो निर्माण आदि बनाउने आयोजनाहरु मैले कति लिएर गएकी छु । मेरो क्षेत्रका विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउने कार्यक्रमहरु लगेकी छु । त्यहीँ भएर दाङमा मलाई जनताले राजनीतिमा पत्याउनु भएको छ । पार्टीमा म केन्द्रीय सदस्य हुँ । पार्टीको लागि म गएको पाँच–छ वर्षदखि सबै काम छोडेर पूर्ण रुपमा राजनीतिमै मेहेनत र सक्रिय भएर लागिरहेको छु । त्यसैले नफाप्ने त हुँदै हुँदैन ।

– यसपालि र अगाडिको चुनावी माहोल हेर्ने हो भने डाक्टर, इन्जिनियर, अधिवक्तालगायतका पेशाबाट आएका उम्मेदवारलाई जनताले जिताइरहेका छन् । कलाकारको माहोल भने त्यति देखिएन । जनताले कलाकारलाई नपत्याएकै हो त ?

नपत्याएको भन्दा पनि समय र सोच परिवर्तन हुन अलिकति समय लागेकोे हो । जनताले कलाकार, डाक्टरभन्दा पनि भरोसाले मत दिने हुन् । उसको विगतको काम हेरेर मत खसाल्ने हुन् । विगत फर्केर हेर्ने हो भने राजनीतिमा कोही नयाँ व्यक्तित्व आउँदा खुबै आलोचना हुन्थ्यो । त्यो वेलामा मलाई पनि धेरैले आलोचना गर्नुभएको थियो । तपाईं किन राजनीतिमा जानुहुन्छ ?, गाना नै गाउनुहोस्, राजनीति फोहोरी गनाउने खेल हो भन्नुहुन्थ्यो । मान्छेमा कलाकार भएर राजनीति गर्नुहुन्न भन्ने मान्यता थियो । अहिले पनि यो विचार कहींकतै कायमै छ ।

तर, यसपालिको चुनावले भने सबै मतदातामा एउटा छुट्टै ज्ञान छरिदिएको छ । विभिन्न क्षेत्रबाट योगदान गर्नुभएका, गरिरहनुभएका र सिक्दै गरेका युवाहरुको प्रवेशसँगै राजनीतिमा अरु क्षेत्रका दक्ष र सक्षम मान्छे पनि चाहिने रहेछ भन्ने भाव बसाइदिएको छ । विभिन्न क्षेत्रबाट युवाहरुको प्रवेशसँगै सबैमा राजनीति एउटा सुन्दर विषय भएको र यसले नै मुलुक निर्माण गर्ने रहेछ भन्ने भएको छ । सोच परिवर्तन हुँदैछ । आगामी दिनहरुमा जनताले कलाकारिता क्षेत्रबाट राजनीतिमा आउने व्यक्तित्वहरुलाई पनि यसरी नै सहर्ष स्वीकार्नु हुनेछ र स्वागत गर्नुहुनेछ भन्ने मलाई लाग्छ ।

– जनताको मुखबाट राजनीति एउटा फोहोरी खेल हो भन्ने सुनिराख्दा तपाईंको विचारमा राजनीति के हो ?

राजनीति भनेको राष्ट्र निर्माणको मूल नीति हो । यसले मात्र समाज, मानव, ठाउँ र मुलुकको मुहार बदल्न सक्छ । यसले मात्र नीति निर्माण बनाउँछ । जुन नीतिले समाज, मुलुक र हरेक पद्धतिलाई ऊर्जा प्रदान गर्छ । यो नीतिहरुको पनि सबैभन्दा मूल नीति हो । सृष्टिको सबैभन्दा सुन्दर चिज । जसले राष्ट्र निर्माण गर्छ । जसले आम मान्छेलाई सेवा र सुविधा प्रदान गर्छ । त्यसैले राजनीति कदापि पनि फोहोरी नीति हुन सक्दैन । यद्यपि यो नै सबैभन्दा सुन्दर नीति हो ।

जनताका हरेक समस्याहरुलाई, देशको विकासलाई र यो राजनीतिलाई समृद्धि र विकासतर्फ लम्काउने पार्टी भनेको नै नेकपा एमालेभन्दा हुन्छ । राजनीतिलाई विकास र समृद्धिसँग जोड्ने पार्टी एमाले हो ।

– अब तपाईं राजनीतिक यात्रालाई कसरी अगाडि बढाउनुहुन्छ ?

म राजनीतिमा लागिरहेको मान्छे हुँ र लागिरहनेछु । म पार्टीको केन्द्रीय सदस्य हो । आउँदा दिनहरुमा पार्टीको संगठन सुदृढ बनाउन आफ्नो क्षेत्र, दाङ र देशका विभिन्न ठाउँहरुमा जान्छु । हाम्रो संगठनलाई विस्तार गर्दै लैजान्छु । हाम्रा पार्टीका नीति तथा कार्यक्रमहरु छन् । ती कार्यक्रमहरुलाई जनतामाँझ पु¥याउने काम गर्छु । ठाउँठाउँका पालिकाहरुमा हामीले प्रशस्त मात्रामा जितेका छौं ।

आउने दिनहरुमा हाम्रा पालिकाहरुलाई सफल बनाउन म मेरो आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्छु । मैले मेरो क्षेत्रको विकासका लागि सरकारबाट आउने योजनाहरुमा आफ्नो हकदाबी गर्छु । सरकारका विभिन्न ठाउँहरुमा गएर योजनाहरु माग गर्छु । मेरो ठाउँको विकासको लागि दत्तचित्त भएर लाग्नुका साथसाथै सदैव म मेरा आम आमाबुवा, दिदीबहिनी र दाजुभाइको सेवामा लाग्छु ।

– यसपालिको चुनावमा अधिकतम कलाकारहरु स्वतन्त्र पार्टीको पक्षमा उर्भिएको देखियो । तपाईं पार्टीमा भएको मान्छे के भन्नुहुन्छ यसलाई ?

स्वतन्त्रलाई सपोर्ट गर्नु राम्रो हो । तर, हाम्रो सन्दर्भमा स्वतन्त्र सरोकारदेखि धेरै पर भएको कुरा हो । धेरैले स्वतन्त्र उम्मेदवारहरुलाई समर्थन गरेको देखियो । सबैले आफ्नो इच्छाअनुसारको उम्मेदवार रोज्नुभएको होला । त्यो नितान्त आफ्नो व्यक्तिगत इच्छा हो । स्थानीय निकायमा सरकार निर्माण गर्नुपर्ने हुँदैन । त्यसैले स्वतन्त्र व्यक्तिहरुको विजयले पनि गाउँको विकास गर्ने हो । त्यसमा सहकार्य गर्न सकिन्छ ।

तर, संसदीय प्रणालीमा हामीले स्वतन्त्र व्यक्तिको प्रचारप्रसार गर्नुको केही मतलब हुँदैन । आवश्यक परेमा सिद्धान्त, विचार र दिशानिर्देश गर्ने माग नै उहाँहरुले राख्नुभएको हुँदैन । मुख्य रुपमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका उनीहरुले निर्वाह गर्न सक्दैनन् । त्यसकारणले गर्दा राष्ट्रको विकास दिने भनेको पार्टीको नीति र सिद्धान्तले मात्र हो ।

म एउटा कलाकार पनि हो । तर, मलाई एकदुई जना कलाकारबाहेक अरु कसैले पनि शुभकामना दिनुभएन । फोनसमेत गर्नुभएन । सायद उहाँहरुमा पार्टीले गर्दा राजनीति बिग्रेको हो भन्ने सोच होला । यदि त्यस्तो हो भने उहाँहरुलाई यो विषयमा त्यति ज्ञान रहेनछ ।

– पराजयपछि पार्टी परिवर्तन गर्ने सोच छ कि छैन ?

छैन । मेरो यति ठूलो र गौरवशाली पार्टी छ । यो पार्टी छोड्ने भन्ने कुरा मनमा छैन, आउँदैन र कदापि हुने पनि छैन । आजको अवस्थामा जनता र देशको लागि आवश्यक पार्टी भनेको नै नेकपा एमाले हो । जनताका हरेक समस्याहरुलाई, देशको विकासलाई र यो राजनीतिलाई समृद्धि र विकासतर्फ लम्काउने पार्टी भनेको नै नेकपा एमालेभन्दा हुन्छ । राजनीतिलाई विकास र समृद्धिसँग जोड्ने पार्टी एमाले हो ।


प्रतिक्रिया

2 thoughts on “मैदानमा उत्रिएपछि हारजित हुन्छ, उपविजेता भएकोमा गर्व छः कोमल वली

  1. राम्रो विचार । अन्तर्वार्ता पनि परिपक्क र दृढ देखियो । भविष्य राम्रो छ । जनताको सेवा नै मुख्य हो जिते पनि हारे पनि । सफल भविष्यको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर