स्थिर विनिमयदरमा विदेशी लगानी भित्र्याउन अर्थले माग्यो प्रस्ताव – Nepal Press

स्थिर विनिमयदरमा विदेशी लगानी भित्र्याउन अर्थले माग्यो प्रस्ताव

काठमाडौं । स्थिर विनिमयदरमा विदेशी लगानी भित्र्याउन चाहने बैंकसँग अर्थमन्त्रालयले प्रस्ताव माग गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी गर्दै हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने बैंकसँग प्रस्ताव माग गरेको हो । नेपाल सरकारको पुर्ण वा आंशिक स्वामित्व रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकलाई १५ दिनभित्र प्रस्ताव ल्याउन आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘हेजिङ्ग नियमावली, २०७९ को नियम ६ मा हेजिङ्ग सुविधा प्रदान गर्ने संस्थाको रूपमा काम गर्न चाहने प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपाल सरकारको पूर्ण वा आंशिक लगानी रहेको पूर्वाधार विकास बैंक वा वाणिज्य बैंकले आफ्नो व्यावसायिक योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको छ। साथै सोही नियममा सो प्रस्ताव साथ पेस भएको हेजिङ्ग सम्बन्धी व्यावसायिक योजना तथा सम्बन्धी प्रस्तावकको कार्यक्षमता समेतको आधारमा मूल्याङ्कन गरी मन्त्रालयले कुनै बैंकलाई हेजिङ्ग गर्ने संस्थाको रूपमा तोक्नेछ भन्ने व्यवस्था भएकोले सो अनुसार हेजिङ्ग सुविधा प्रदान गर्न चाहने संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो व्यावसायिक योजना यस मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेस गर्नुहुन सूचित गरिन्छ ।’

हेजिङ विदेशी विनिमयको दरमा आएको परिवर्तन वा उतारचढावबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा हो। विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा परिवर्तनबाट हुने नोक्सानीबाट बच्न हेजिङको सुविधा प्रयोग गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर