न्यायाधीशविरुद्ध कान्छी पत्नीको जाहेरी- वैवाहिक बलात्कार र जबरजस्ती गर्भपतन गराएको आरोप – Nepal Press

न्यायाधीशविरुद्ध कान्छी पत्नीको जाहेरी- वैवाहिक बलात्कार र जबरजस्ती गर्भपतन गराएको आरोप

न्यायाधीशद्वारा चोरीको काउन्टर आरोप, डिप्रेसनग्रस्त महिला ‘सेल्टर’ मा

काठमाडौं । एक जिल्ला न्यायाधीशमाथि उनकै कान्छी श्रीमतीले आफूमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी दिएकी छन् । उनको जाहेरीमाथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको छ ।

आफूलाई बन्धक बनाएर न्यायाधीशले पटक पटक बलात्कार गरेको भन्दै महिलाले केही दिनअघि सो जाहेरी दिएकी हुन् । साथै, न्यायाधीशले आफ्नो आमा बन्ने हक खोस्दै दुईपटक जबरजस्ती गर्भपतन गराएको पनि उनको आरोप छ ।

यता जिल्ला न्यायाधीशले भने महिलामाथि नै चोरीको आरोप लगाउँदै ‘काउन्टर उजुरी’ दिएका छन् । ती महिलाले आफ्नो घरबाट गरगहना र विभिन्न सरसामान चोरेर हिँडेको उनको दाबी छ । उनको उजुरी दर्ता भए–नभएको बारे प्रहरी स्रोतले खुलाउन चाहेन ।

स्रोतका अनुसार ती महिला चार वर्षअघि न्यायाधीशसँग निकट बनेकी हुन् । त्यसबेला न्यायाधीश सुर्खेतमा थिए । उनीहरूले बारम्बार आपसी सहमतिमा होटलमा सँगै रात बिताउने गरेका थिए । उनीहरूको सम्बन्ध छताछुल्ल हुन थालेपछि न्यायाधीशले जेठी श्रीमतीसँग समेत सहमति लिएर महिलालाई विवाह गरेको स्रोतको भनाइ छ ।

कान्छी श्रीमतीका रूपमा स्विकारेर सँगै राखेपछि पनि उनीहरूको सम्बन्धमा बारम्बार समस्या आइरहेको थियो । न्यायाधीशले जेठी श्रीमतीलाई घरमा र कान्छीलाई जागिरमा आफूसँगै राख्दै आएका थिए । सुर्खेतबाट सरुवा भएर न्यायाधीश बाँके आए । कान्छी श्रीमतीलाई पनि सँगै ल्याए । बाँकेमा रहँदा पनि उनीहरुबीच यस्तै विवाद भएको थियो ।

‘विभिन्न कारणले आफ्नो घर गएर जेठी श्रीमतीसँग धेरै दिन बिताए भने कान्छीले रडाको गरिहाल्थिन् र उजुरी दिने धम्की दिन्थिन्,’ न्यायाधीश निकट स्रोतले भन्यो । महिलाले यसअघि पनि उजुरी दिन प्रयास गरेको तर प्रहरीले नलिएको स्रोतको भनाइ छ ।

बाँकेबाट न्यायाधीश कपिलवस्तु आए । तर, पनि किचलो समाधान भएन । केहीअघि आमा बिरामी भएको भन्दै न्यायाधीश घर गएका थिए । धेरै दिन नफर्किएपछि महिलाले जाहेरी हालेको स्रोतको भनाइ छ ।

कपिलवस्तु प्रहरीले वैवाहिक सम्बन्ध देखिएका कारण महिलाले दिएको जाहेरी निकै दिनसम्म दर्ता गर्न मानेको थिएन । त्यसपछि महिलाले राष्ट्रिय महिला आयोग र मानवअधिकार आयोगमा समेत उजुरी दिइन् । मानवअधिकार आयोगले जाहेरी दर्ता नभएको विषयमा जिप्रका कपिलवस्तुलाई पत्राचार गरेर सोधेको छ ।

आयोगकी सदस्य लिली थापाले जिल्ला न्यायाधीशमाथि महिलाले दिएको उजुरी दर्ता नहुनुको कारणबारे जिप्रकालाई सोधिएको तर अहिलेसम्म जवाफ प्राप्त नभएको बताइन् ।

‘हिजोसम्म पनि उजुरी दर्ता भएको थिएन, आज भयो कि भएन मलाई जानकारी आएको छैन,’ उनले भनिन् ।

आयोगले यस सम्बन्धमा न्यायपरिषदलाई पनि पत्राचार गरेको छ । न्यायपरिषदले सम्बन्धित न्यायाधीशमाथि अनुसन्धान गर्न एक सदस्यलाई जिम्मेवारी सुम्पिएको स्रोतले बतायो ।

महिला निकट स्रोतका अनुसार उनी अहिले डिप्रेसनको अवस्थामा छिन् । एक जिम्मेवार पदमा रहेका व्यक्तिलाई हिजो आधा रातमा उनले आफू आत्महत्या गर्ने मनस्थितिमा पुगेको भन्दै म्यासेज पठाएकी थिइन् । ‘थ्रेट’ समेत आएकाले उनी अहिले काठमाडौंमै एक सेल्टरमा लुकेर बसिरहेकी छन् । उनलाई महिला आयोगले काउन्सीलिङ गरिरहेको छ ।

आफूमाथि न्यायधीशले लगाएको चोरीको आरोप उनले अस्वीकार गरेकी छन् । चोरीको प्रमाण देखाउने उनले चुनौती दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *