नेपालप्रेस समाचार प्रभाव : महँगा मोबाइलमा निगरानी, विमानस्थलबाट एक करोडबढीको सेट बरामद – Nepal Press

नेपालप्रेस समाचार प्रभाव : महँगा मोबाइलमा निगरानी, विमानस्थलबाट एक करोडबढीको सेट बरामद

काठमाडौं । नेपालमा अवैधरूपमा भित्र्याइएका महँगा मोबाइल सेटमा निगरानी बढाइएको छ । ३ सय डलरभन्दा माथिका मोबाइल फोन आयात र बिक्रीमा प्रतिबन्धका बाबजुद विक्रेताले खुलेआम त्यस्ता सेट बिक्री गरिरहेको समाचार नेपाल प्रेसमा प्रकाशन भएलगत्तै भन्सार विभाग तातेको हो ।

गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ६१ थान आईफोन र ४ थान सामसङ मोबाइल नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका उपसचिव यम पाण्डेले गएराति भन्सार छली गरेर ल्याइएका ती सेट वबरामद गरिएको नेपाल प्रेसलाई बताए ।

भन्सारले ३ कोरियन नागरिकबाट ती सेट बरामद गरेको हो । लगेज एक्सरेमा चेकजाँच गर्ने क्रममा आईफोन-१४ र १३ प्रो-म्याक्स ६१ वटा, चार्जर ८० वटा र सामसङ मोबाइल चार थान बरामद गरिएको छ । यी मोबाइलको मूल्य १ करोड १५ लाख रूपैयाँ बराबर छ ।

यो पनि पढ्नुस्- आयात प्रतिबन्ध लगाइएका महँगा मोबाइल सेट कसरी भइरहेछ खुलेआम बिक्री ?

कोरियन नागरिकले मोबाइल बिक्रेतासँग मिलेर अवैध रूपमा मोबाइल सेट ल्याएको हुनसक्ने भन्सारका एक कर्मचारीले बताए ।

३ सय डलरभन्दा महँगा मोबाइल आयातमा सरकारी प्रतिबन्धको ८ महिना पुग्दासम्म विश्व बजारका महँगा मोबाइल राजस्व छलेर अवैधरूपमा बिक्री भइरहेका थिए ।

विक्रेताले फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा यस्ता सेटको विज्ञापन बुस्टसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर