आयात प्रतिबन्ध लगाइएका महँगा मोबाइल सेट कसरी भइरहेछ खुलेआम बिक्री ? – Nepal Press

आयात प्रतिबन्ध लगाइएका महँगा मोबाइल सेट कसरी भइरहेछ खुलेआम बिक्री ?

राज्यलाई करोडौं राजस्व घाटा

काठमाडौं । सरकारले ३ सय डलरभन्दा महँगा मोबाइल आयात प्रतिबन्ध लगाएको ८ महिना बित्न लागेको छ । तर, विश्व बजारमा आएका नयाँ मोबाइल सेट नेपालमा अवैधरूपमा बिक्री भइरहेको छ ।

महँगा मोबाइल आयात प्रतिबन्धको केही प्रभाव नेपाली बजारमा छैन । मोबाइल पसलमा ३ सय डलरभन्दा माथिका सेट खुलेआम बिक्री भइरहेको छ । विक्रेताले फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालहरूमार्फत २ लाखसम्मको मोबाइल बिक्रीमा भनेर विज्ञापन गरिरहेका छन् । अनलाइनमा यस्ता सेटको विज्ञापन बुस्टसमेत भइरहेका छन् ।

सीटीभी मोबाइल नामक विक्रेताले अनलाइनमै मोबाइल बिक्रीमा राखेको छ । यो कम्पनीले ९९ हजारदेखि १ लाख ९९ हजार ९९९ रूपैयाँसम्मका मोबाइल बिक्रीमा राखेको छ ।

त्यस्तै, मेराकी ट्रेड लिंकले पनि १ लाख ५६ हजारदेखि १ लाख ९० हजारसम्मको आइफोन बिक्रीमा भन्दै विज्ञापन गरेको छ ।

मेराकी ट्रेड लिंकका एक सञ्चालकले पहिले नै ल्याएर स्टक रहेको सेट बेचिरहेको दाबी गरे ।

उनले नेपाल प्रेससँग भने, ‘हामीसँग पहिलेको स्टक भएर नै अहिले मोबाइल बेचिरहेका छौं । अब सकिन लाग्यो । यी फोनहरू ९ महिना अघि नै हामीले आयात गरेका थियौं ।

एक बिक्रेताले अवैध सेटहरू बजारमा छ्याप्छ्याप्ती भएकालेले आफूहरूजस्ता वैध व्यवसायीलाई समस्या परेको बताए ।

उनले भने, ‘हामीले सरकारी निकायमा प्रमाण पेस गर्दा पनि रोकिएको छैन । सरकारले अवैध फोन आयात र बिक्री रोक्न चाहेमा केही समयमा नै रोकिने छ । तर, सरकारी कर्मचारीको मिलेमतोमै यस्ता कारोबार भइरहेको छ ।’

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले पहिले नै एलसी खोलेकाहरूले मोबाइल आयात गरेको हुनसक्ने नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘हामीले पनि कसरी आयात भएको रहेछ भनेर बुझ्नुपर्ने हुन्छ ।’

मोबाइल फोन इम्पोटर्स एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले अहिले पनि नेपालमा अवैध फोन आयात भइरहेको बताए ।

उनले भने, ‘सरकारले महँगा मोबाइल आयातमा ९ महिना लामो प्रतिबन्ध त लगाएको छ तर यस्तो सेट भित्रिरहेका छन् । सरकार देखेर पनि नदेखे जसरी बसिरहेको छ । राज्यलाई राजस्व गुमिरहेको छ । तर, कुनै चासो नै छैन ।’

अवैधरूपमा आएका मोबाइल बन्द गर्ने गरी सरकारले सुरू गरेको (एमडीएमएस) पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अग्रवालले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्योनेजमेन्ट सिस्टम (एमडीएमएस) सिस्टम लागू गरिसकेको छ । तर, अहिले सरकारले प्रतिबन्ध लगाएको ३ सय डलरभन्दा माथिएको फोन प्रतिबन्ध लागाए पनि आयात र बिक्री रोकिएको छैन ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडलले ३ सय डलरभन्दा माथिका मोबाइल आयातबारे अनविज्ञता जनाए ।

नेपालमा एमडीएमएस सिस्टम लागू हुनुभन्दा पहिले पनि अवैधरूपमा मोबाइल आयात हुने गरेको थियो । तर, अहिले आयात प्रतिबन्ध भएको बेलासम्म महँगा मोबाइल आयातमा भएर बिक्री भइरहँदा पनि कतैबाट रोक्न नसकेको आयातकर्ताले भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर