अस्थायी संरचनामा प्रदेश राजधानी सारेर अनावश्यक विवाद सिर्जना नगर्न एमाले सांसदहरूको आग्रह – Nepal Press

अस्थायी संरचनामा प्रदेश राजधानी सारेर अनावश्यक विवाद सिर्जना नगर्न एमाले सांसदहरूको आग्रह

रुपन्देही । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरूले कामचलाउ हैसियतमा रहेको लुम्बिनी प्रदेश सरकारले अस्थायी संरचनामा प्रदेशको राजधानी सारेर अनावश्यक विवाद सृजना नगर्न सरकारलाई सचेत गराएका छन् ।

सत्तारुढ नेपाली कांग्रेस, कर्मचारी संगठन तथा एमालेले समेत अस्थायी संरचनामै प्रदेशका मन्त्रालय सार्न खोजेर अनावश्यक रुपमा राज्यको खर्च नबढाउन दबाब दिँदै आएका छन् ।

सबै क्षेत्रबाट विरोध गरिरहेको समयमा मुख्यमन्त्री कुलप्रसाद केसीको दबाबमा अस्थायी संरचनामै भए पनि स्थायी राजधानीमा सबै मन्त्रालय सार्ने सरकारी तयारीको आइतबार एमालेबाट निर्वाचित सांसदहरूले विरोध गरेका हुन् ।

प्रदेश सांसदहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अब केही दिनमा बन्ने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारीमाथि काम चलाऊ सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

स्थायी राजधानीमा व्यवस्थित गुरुयोजनासहितका संरचना बनाएर राजधानी लैजाने यसअघिको सरकारको निर्णय विपरीत कार्यभार हस्तान्तरण गर्न लागेको अवस्थामा प्रदेश सभा र आगामी सरकारको कामलाई हस्तक्षेप हुने गरी विवाद नगर्न उनीहरूले आग्रह गरेका छन् ।

यसअघि मुकाममा रहेका कर्मचारीले अहिलेको समयमा मन्त्रालय सारेर समस्या समाधान नहुने र त्यस विवादमा कर्मचारी सहभागी नहुने धारणा सार्वजनिक गरेका छन् भने कांग्रेस र एमालेले पनि अस्थायी संरचनामा मन्त्रालय सारेर सरकारको खर्च नबढाउन आग्रह गरिसकेका छन् । तर जुनसुकै अवस्थामा पनि सबै मन्त्रालय यही महिनामा लैजाने गरी तयारी गर्न मुख्यमन्त्री कुलप्रसाद केसीले कर्मचारीलाई दबाब दिँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर