लुम्बिनीमा को-को बन्दैछन् समानुपातिक सांसद ? – Nepal Press

लुम्बिनीमा को-को बन्दैछन् समानुपातिक सांसद ?

रुपन्देही । प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ क्षेत्र रहेको लुम्बिनी प्रदेशमा समानुपातिकको पनि मतगणना सकिएको छ । ८७ सदस्यीय प्रदेशसभामा ५२ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् । समानुपातिकबाट ३५ जना थपिनेछन् ।

प्रत्यक्षतर्फ एमालेले १८, कांग्रेसले १७, माओवादीले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २-२, जनमत पार्टीले एक र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सीट जितेका छन् ।

लुम्बिनीमा ३२ वटा दलले निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदबारको बन्दसूची बुझाएका छन् । तर, सबैले न्यूनतम आवश्यक मत (थ्रेसहोल्ड) कटाएका छैनन् । प्रदेशसभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ३५ सीट निर्धारण गरिएको छ । थ्रेसहोल्ड पार गरेका दलले पाएको मतको आधारमा समानुपातिकको सीट निकालिन्छ ।

निर्वाचित सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचन गर्ने भन्ने निर्धारण हुन्छ । तर, संविधानमा भएको व्यवस्थाअनुसार दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेसी १५.३ प्रतिशत, थारु ६.६ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र खस आर्य ३१.२ प्रतिशत निर्वाचित भएको हुनुपर्छ । यी सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ ।

प्रत्यक्षमा महिलातर्फ एकजना माओवादीबाट मात्रै निर्वाचित भएकाले सबै दलले सबै क्लष्टरबाट महिलालाई पहिलो प्राथमिकता दिनुपर्नेछ ।

प्रत्यक्षतर्फ १८ सीट जितेको नेकपा एमाले समानुपातिकतर्फ पनि सबैभन्दा अगाडि छ । समानुपातिकमा १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा एमालेले ५ लाख ७० हजार ९२१ पाएको छ ।

एमालेले आदिवासी जनजातितर्फ बन्दसूचीको १ नम्बरमा सरिता पुनलाई राखेको छ । यस्तै सोही समूहको १ नम्बरमा बालसिंह काउचा पनि परेका छन् । महिला आदिवासीबाट पुन र पुरुष आदिवासीबाट काउचा प्रदेश सांसद हुने करिब निश्चित जस्तै छ । यस्तै खसआर्य समुदायबाट गिरिधारीलाल न्यौपाने एक नम्बरमा छन् । खसआर्य समुदायको २ नम्बरमा लक्ष्मण रायमाझी, ३ नम्बरमा वेदनिधि धिताल र ४ नम्बरमा भूमिलाल सापकोटाको नाम छ ।

३५ वटा सीटमै आफ्ना उम्मेदारको सूची बुझाएको नेकपा एमालेले थारु पुरुषतर्फ जनक चौधरी बर्दिया र महिलातर्फ सीता शर्मा चौधरी दाङको नाम समावेशी समूहभित्र पहिलो नम्बरमा राखेको छ ।

दलित पुरुषतर्फ बोमबहादुर विश्वकर्मा अर्घाखाँची र महिलातर्फ इन्द्रकुमारी गहतराज पाल्पाको नाम पहिलो सूचीमा छ । मुस्लिमतर्फ कुटमद्दिन अली अर्घाखाँची र महिला मुस्लिममा सायरा वानी बाँकेको नाम पहिलो नम्बरमा छन् । यस्तै शान्ति लोध रुपन्देहीको नाम मधेसीभित्र अल्पसंख्यक जातिबाट सूचीकृत भएको छ ।

प्रत्यक्षतर्फ १७ सीट जितेर दोस्रो भएको नेपाली कांग्रेस समानुपातिकमा पनि दोस्रो रहेको छ । कांग्रेसले ४ लाख ९९ हजार ९८६ मत पाएको छ । कांग्रेसबाट आदिवासी जनजातिमा पुरुषतर्फ गोपाल घर्ती रोल्पा र महिलातर्फ धनलक्ष्मी श्रेष्ठ प्यूठानको नाम पहिलो नम्बरमा छ ।

यस्तै जमुना ढकालको नाम खसआर्य महिलाको पहिलो नम्बरमा छ । विष्णुप्रसाद खनाल अर्घाखाँची दोस्रो नम्बरमा छन् । तेस्रोमा मणिप्रसाद शर्मा रुपन्देही, चौथोमा परशुराम ढकालको नाम रहेको छ । महिलातर्फ नीमा गिरी दोस्रोमा, मालती सोंङारी तेस्रोमा र सरस्वती शाह चौथोमा छन् ।

५ सीट जितेको माओवादी केन्द्रले १ लाख ९८ हजार ४५० मत पाएर समानुपातिकमा पनि तेस्रो दल भएको छ । माओवादीले खसआर्यतर्फ पुरुषमा निमबहादुर पाण्डे गुल्मी र महिलातर्फ मीना बुढामगरलाई एक नम्बरमा राखेको छ । जनजाति समूहतर्फ भने केयरसिंह राना मगर र दिलकुमार बुढाको नाम एक नम्बरमा छ ।

प्रत्यक्षमा २ सीट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख २७ हजार ४५२ मतसहित चौथो दल बनेको छ । राप्रपाको आदिवासी जनजाति समूहमा प्रदीपकुमार उदय एक नम्बरमा छन् । महिलातर्फ मीनाकुमारी श्रेष्ठ छिन् । खसआर्यतर्फ गौरव चन्द बाँके र मेनुका खाण रुपन्देही १ नम्बरमा रहेका छन् ।

प्रत्यक्षमा २ सीट जितेको नागरिक उन्मुक्ति पार्टी समानुपातिकमा १ लाख २५ हजार ५५१ मतसहित पाँचौं ठूलो दल बनेको छ । उसले आदिवासी जनजाति पुरुषतर्फ रामकुमार थारु र महिलातर्फ निर्मलादेवी चौधरीको नाम पहिलो नम्बरमा राखेको छ ।

यस्तै खसआर्यतर्फ चन्द्रप्रकाश शर्मा बेल्बासे पुरुष र महिलातर्फ नरमाया ढकालको नाम एक नम्बरमा छ ।

प्रत्यक्षमा १ सीट जितेको जनमत पार्टी ८१ हजार ६०५ मतसहित छैटौं दल बनेको छ । जनमतबाट खसआर्यको एक नम्बरमा बालकृष्ण पाण्डे र महिलातर्फ सुमन शर्मा रायमाझीको नाम रहेको छ । आदिवासीतर्फ राजनकुमार श्रेष्ठ र महिलातर्फ गीता गुरुङको नाम पहिलो नम्बरमा छ ।

प्रत्यक्षमा २ सीट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा ६० हजार ८८६ मत पाएको छ । जसपाले आदिवासी जनजातिमा बोमबहादुुर दर्लामी मगर र हिमानी थापा मगरको नाम एक नम्बरमा राखेको छ । खसआर्यतर्फ केशवराज पौडेल र महिलातर्फ अम्बिका पौडेलको नाम एक नम्बरमा रहेको छ ।

प्रत्यक्षमा २ सीट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिक ३७ हजार ६३१ मत ल्याएको छ । उसको तर्फबाट आदिवासी जनजाति पुरुषतर्फ रमेशमान मल्ल, महिलातर्फ खगेश्वरी घर्तीमगर १ नम्बरमा छन् । खसआर्यमा विवेक ओली र हेमा बेल्बासे केसी रुपन्देही एक नम्बर सूचीमा छन् ।

प्रत्यक्षमा कुनै सीट नजितेको नेकपा एकीकृत समाजवादीले ४२ हजार ६२१ मत ल्याएको छ । नेकपा एसबाट आदिवासी जनजाति १ नम्बरमा भिउमान घर्ती र सरिता श्रीस महिलातर्फ एक नम्बरमा छन् । यस्तै खस आर्यतर्फ लेखनाथ पोखरेल र भगवती अधिकारी एक नम्बरमा छन् ।

प्रत्यक्षमा कुनै सीट नजितेको राष्ट्रिय जनमोर्चाले ३२ हजार ६४७ मत पाएको छ । जनमोर्चा र नेकपा एकीकृत समाजवादीले एक–एक सीट पाउने सम्भावना छ ।

कसरी गरिन्छ सीट बाँडफाँट ?

समानुपातिकतर्फको निर्वाचनमा पहिलो हुने निर्वाचित विधिबाट निर्वाचित हुने उम्मेदवारको प्रभाव पर्छ । त्यसैले समानुपातिकतर्फको निर्वाचनको लागि सबैभन्दा पहिला निर्वाचित हुने विधिवत निर्वाचित हुनेको मत परिणामसहितको अन्तिम नतिजा आउनुपर्छ । अन्तिम नतिजा आएपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ । यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको १.५ प्रतिशतको अंकलाई थ्रेसहोल्ड बनाइएको छ ।

कुल सदर मतको १.५ प्रतिशत मत कटाउन सकेका दलले मात्रै समानुपातिकबाट सीट पाउनेछ । समानुपातिकतर्फको थ्रेसहोल्ड (प्रदेशसभाको समानुपातिक निर्वाचनको थ्रेसहोल्ड १.५ प्रतिशत) र केही क्लस्टर र त्यसको प्रतिशत फरक छ ।

थ्रेसहोल्ड कटाउन नसकेका पार्टीहरु

प्रदेशको समानुपातिकमा हाम्रो नेपाली पार्टीले २७ हजार ७०४, राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८६७, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५ हजार १०९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८६७, नेकपा मालेले ६ हजार ४४५, नेपाल जनता पार्टीले ५ हजार २२२, बहुजन शक्ति पार्टीले ४ हजार ४६, राप्रपा नेपालले ३ हजार ३४९, नेपाल सुशासन पार्टीले २ हजार ७९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९१२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाल मजदुर किसान पार्टीले १ हजार ६५९, नेपालका लागि नेपाली पार्टीले १ हजार ६०७, नेपाली जनता दलले १ हजार ४१९, नेपाली कांग्रेस बीपीले १ हजार २८८, जनसमाजवादी पार्टीले १हजार २१४, नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २०७, नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९७३, मौलिक जरोकिलो पार्टीले ९२८, विवेकशील साझा पार्टीले ७९१, नेकपा माओवादी समाजवादीले ४८९ र नेशनलिस्ट पिपुल्स पार्टीले ४५७ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । ३२ दलमध्ये २२ दलको थ्रेसहोल्ड कटेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर