लुम्बिनीमा ११ महिलामध्ये २ जनाको मात्रै जीत, माओवादीका बाहेक सबै फेल – Nepal Press

लुम्बिनीमा ११ महिलामध्ये २ जनाको मात्रै जीत, माओवादीका बाहेक सबै फेल

रुपन्देही । मंसिर ४ मा सम्पन्न आमनिर्वाचनको प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभामा एक–एक जना महिलाले जीत निकालेका छन् ।

प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ क्षेत्र रहेको यस प्रदेशमा प्रमुख राजनीतिक दलबाट ११ जना महिलामात्रै उम्मेदवार थिए । प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ ४ जना महिला उम्मेदवार थिए । जसमध्ये प्रतिनिधिसभा र प्रदेशसभा एक-एक गरी दुई जनाले मात्रै निर्वाचन जिते । बाँकी ९ जना महिला पराजित भएका छन् ।

लुम्बिनीबाट निर्वाचन जित्ने महिला दुवै नेकपा माओवादी केन्द्रका हुन् । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा माओवादी केन्द्रकी रेखा शर्माले जित्दा बाँके १ (१) बाट प्रदेशसभामा कृष्णा केसी विजयी भइन् ।

शर्माले नेकपा एमालेका महासचिव शंकर पोखरेलाई पराजित गरेकी थिइन् । पोखरेललाई १९६ मतान्तरले हराएकी शर्मा लुम्बिनीबाट प्रतिनिधिसभामा पुग्ने एकमात्रै महिला बनेकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पनि दाङबाट जितेकी थिइन् ।

उनले मन्त्री हुँदा र राजनीतिक रूपमा कुनै पनि विवादमा नमुछिएकी नेतृको छवि बनाएकाले सहज जीत लिकाल्न सफल भएको उनी निकट नेताहरुको भनाइ छ ।

एमालेबाट दुई, कांग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादीबाट प्रतिनिधिसभामा एक-एक जना महिलाले प्रत्यक्षमा उम्मेदवारी दिएका थिए । जसमा माओवादीकी शर्माले मात्रै जीतको झण्डा फहराएकी हुन् ।

प्रदेशसभातर्फ माओवादी केन्द्रकै कृष्णा केसी बाँके १ (१) मा विजयी भइन् । केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई हराएकी हुन् । प्रतिनिधिसभातर्फ माओवादीका महेशराज गहतराज र प्रदेशसभा २ मा कांग्रेसका फूलाराम थारु पराजित भए पनि केसीले मात्रै सत्ता गठबन्धनको तर्फबाट जीत निकालेकी थिइन् ।

माओवादीबाटै बर्दिया १ (२) मा उम्मेदवारी दिएकी अञ्जु दहित पराजित भइन् ।

एमालेबाट बर्दिया २ (२) मा कृष्णी थारु र रुकुमपूर्व २ मा भावना बुढाथोकी उम्मेदवार थिए । यसअघि लुम्बिनी प्रदेशसभामा उपसभामुख बनेकी थारुसँगै बुढाथोकी पराजित भए ।

संविधानले संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, दलहरूले उम्मेदवार बनाउन नै महिलालाई उपेक्षा गर्दै आएका छन् ।

को को हुन सकेनन् विजयी ?

लुम्बिनीमा प्रतिनिधिसभातर्फ प्युठानमा उम्मेदवारी दिएकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पराजित भइन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पौडेल एमालेका सूर्य थापासँग पराजित भएकी हुन् ।

यसपटक प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका एमालेका शान्ता चौधरी र कोमल वली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एसकी रामकुमारी झाँक्रीले जीत निकाल्न सकेनन् ।

दाङ क्षेत्र नम्बर १ मा एमालेकी शान्ता र एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीलाई एकीकृत समाजवादीका मेटमणि चौधरीले पराजित गरे । दाङ क्षेत्र नम्बर ३ मा एमालेकै कोमल वलीलाई नेपाली कांग्रेसका दीपक गिरी हराए ।

एउटामात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा कांग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान उपसभामुख पुष्पा भुसाललाई एमाले सचिव टोपबहादुर रायमाझीले पराजित गरे । गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई एमालेका गोकर्ण विष्टले हराए ।

जनता समाजवादी पार्टीबाट पाल्पा २ मा उमेदवारी दिएकी दुर्पता सोमै प्रतिस्पर्धामै आउन सकिनन् । यहाँ एमालेका ठाकुर गैरे र नेकपा एसका सोमप्रसाद पाण्डबीच प्रतिस्पर्धा भएको थियो ।

समानुपातिकमा प्रतिशत पुर्‍याउँदै दलहरु

प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक सूचीबाट दलहरुले महिलाहरुको प्रतिशत पुराउने तयारी गरेका छन् । प्रदेशसभामा महिला सहभागिता समानुपातिकसहित ३३ प्रतिशत पु¥याउनुपर्ने कानुनी बाध्यता छ । यसो हुँदा समानुपातिक सूचीबाट आउने ३५ मध्ये २५ जना महिला हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर