सामूहिक कुटपिटबाट महिलाको मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय घेराउ – Nepal Press

सामूहिक कुटपिटबाट महिलाको मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय घेराउ

विराटनगर । सामूहिक कुटपिटबाट धरानमा एक जना महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले आन्दोलन शुरु गरेका छन् ।

धरान १३ मा डेरा गरी बस्ने उषा राईको सामूहिक कुटपिट मृत्यु भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग राख्दै पीडितहरूले इलाका प्रहरी कार्यालय धरानमा घेराउ गरेका छन् ।

एक महिना अघि राई माथि कुटपिट भएकोमा उपचारका क्रममा मंसिर १३ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीयका अनुसार मृतक उषामाथि आमा समूहको नाममा कात्तिक ३ गते महिलाहरूको एक समूहले कुटपिट गरेको थियो ।
कुटपिटपछि घाइते उषालाई तत्काल बीपी प्रतिष्ठान धरानको सघन कक्षमा उपचारका लागि पुर्‍याइएको थियो ।

उपचारपछि डिस्चार्ज भएकी उषाको स्वास्थ्य अवस्था मंसिर ६ गते पुनः बिग्रिएको थियो । अस्वस्थ भई अस्पताल भर्ना भएकी उषाको उपचार कै क्रममा मृत्यु भएको मृतकका आफन्त देवाहांग राईले बताए ।

मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा घेराउ र नाराबाजी भएको छ ।

कुटपिटमा संलग्न मध्ये उर्मिला राईलाई प्रहरीले पक्राउ गरेको छ । पीडितहरूले उर्मिलाका श्रीमान् गोविन्द राई र ४ जना महिलाहरूलाई पनि पक्राउ गर्नु पर्ने माग राखेका छन् । उनीहरू विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

उनीहरूले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने,मुख्य आरोपीको श्रीमान् गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाएका छन् ।

उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् । आन्दोलनरत महिलाहरूको अडानको कारण मृतकको पोष्टमार्टम पनि हुन सकेको छैन ।
मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन् । उनको श्रीमानको करिब २ वर्षअघि नै मृत्यु भइसकेको थियो । उनले कपडा सिलाएर घर खर्च जुटाइरहेका थिए ।

सुनसरीका प्रहरी प्रमुख प्रभु ढकालले प्रहरीले अनुसन्धान गरिरहेको र घटनामा संलग्नको खोजी कार्य भइरहेको बताए । उनले घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाई कारबाही गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर