एमालेलाई नेकपा एसको चुनौती- झलनाथमाथि लगाइएको तथ्यहीन आरोप पुष्टि गर – Nepal Press

एमालेलाई नेकपा एसको चुनौती- झलनाथमाथि लगाइएको तथ्यहीन आरोप पुष्टि गर

झलनाथले मतपरिणालाई अस्वीकार गरेपछि इलाममा चर्कियो विवाद

काठमाडौं । इलाम १ को मतपरिणामलाई लिएर नेकपा एमाले र एकीकृत समाजवादीबीच विवाद बढेको छ। मंसिर ४ मा भएको प्रतिनिधि सभाको निर्वाचनको परिणामलाई नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अस्वीकार गरेपछि विवाद बढेको हो।

उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए। तर, नेता खनालले आफूलाई धाँधली गरेर हराएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गरेर कानुनी उपचारको खोजीमा जाने बताएका थिए।

‘मतदानको प्रक्रिया सुरु देखि नै स्वस्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कैयौँ मतपेटिकामा खसेको मत गणना गर्दा सयौँ मतपत्र नभेटिएको’ नेता खनालले विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘सयौँ मतपत्रहरू गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौँ मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रूपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ।’

खनालको असन्तुष्टिपछि बुधवार एमालेको तर्फबाट इलाम १ मा निर्वाचन परिचालन कमिटीको संयोजन गरिरहेका उदयबहादुर राईले विज्ञप्ति जारी गर्दै नेता खनाललाई हारको हताश मानसिकता बोकेर जथाभाबी नबोल्न चेतावनी दिएको थियो।

खनाललाई चेतावनी दिँदै आपराधिक क्रियाकलापबाट जालझेल र षड्यन्त्र गरेर गरेर चुनाव जित्न गरेको प्रयासलाई असफल पारेको एमालेले दाबी गरेको थियो।

‘नेकपा (एमाले) को राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभीष्ट थियो जुन पूरा हुन सकेन।’

तर, शुक्रवार नेकपा एसका जिल्ला कमिटी अध्यक्ष इलाम भक्त केसीले विज्ञप्ति जारी गरेर नेता खनालमाथि लगाएको आरोप पुष्टि गर्न एमालेलाई अर्को चुनौती दिएको छ।

गम्भीर विवाद रहेको कुरा गठबन्धनका साझा उम्मेदवार खनालले आफ्नो विज्ञप्ति मार्फत प्रष्ट गरिसकेको समेत उल्लेख गरेको छ।

अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै विषयलाई लिएर के.पी. ओली नेतृत्वको नेकपा एमाले जिल्ला कमिटी इलामले मिति २०७९/०८।१४ गते हाम्रा उम्मेदवार क. झलनाथ खनालको नाम जोडेर सार्वजनिक गरिएको विज्ञप्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

झलनाथलाई एमालेको चेतावनी- हारको हतास मानसिकता बोकेर जथाभावी नबोल्नू

निर्वाचनमा भाग लिएर मतगणना सुरु भई प्रारम्भिक नतिजा आउनुभन्दा अगाडि अवस्थामा नेकपा एमाले त्रसित मानसिकताबाट ग्रस्त भई आफै मोबाइल ट्रयाकिङ गर्ने, मतदातालाई भड्काउन माईजोगमाई गाउँपालिका वडा नम्बर ५ मा बम पड्काएको आरोप लगाएका छन्।

‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तानेको उखान झैँ एमालेको गतिविधिले देखिन्छ । त्यो सम्पूर्ण घटनाक्रम स्वयं आफैले गराएर आफ्नै विज्ञप्तमा स्वयं निर्वाचन परिचालन कमिटीका क्षेत्र नं १ का संयोजक उदय राईले सिलसिलाबद्ध रूपले आफ्नो हर्कत बाहिर आउने डरले अरुलाई आरोप लगाएर पन्छिन खोजेको सहजै अनुमान लगाउन सकिन्छ’ उनले भनेका छन्।

बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण विना नै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराध जन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गरेका छन्।

उदयबहादुर राईबाट जारी भ्रमित, कपोकल्पित, अपुष्ट, नीच सोचाइबाट ग्रस्त र प्रमाणविहीन भएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘व्यक्तिगत किटान गरेर नेता खनाललाई लगाएको आरोप पुष्टि गर्न उदयबहादुर राई र एमाले पार्टीलाई चुनौती दिन चाहन्छु ।’


प्रतिक्रिया

4 thoughts on “एमालेलाई नेकपा एसको चुनौती- झलनाथमाथि लगाइएको तथ्यहीन आरोप पुष्टि गर

  1. हरूवा झलनाथले हारेको झोकमा भनेक‍ा विषय नकोट्याउ । लाज बचाउन यसो केही त भन्नै पर्यो नि ।

  2. कम्युनिस्ट विरोधी एस् भन्ने पार्टीले यस्ता कुतर्क र अपराधिक मनोवृत्ति बाट विज्ञप्ति के का लागि हामी जनताले पत्याउदैनौ । सर्पनाथ कम्युनिस्ट आन्दोलनका गद्दार हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर