एमाले छाडेको १० वर्षपछि एमालेकै साथमा अशोकको जित, २८ वर्षपछि प्रत्यक्षमा निर्वाचित – Nepal Press

एमाले छाडेको १० वर्षपछि एमालेकै साथमा अशोकको जित, २८ वर्षपछि प्रत्यक्षमा निर्वाचित

विराटनगर । जनता समाजवादी पार्टीका नेता अशोक राईले २८ वर्षपछि प्रतिनीधिसभाको निर्वाचनमा जित निकालेका छन् । २०५१ सालको मध्यावधि चुनावमा खोटाङ २ बाट विजय भएपछि उनले जितेका थिएनन् । सुनसरी १ बाट १७०५१ मत ल्याएर राईले संसद यात्रा तय गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा ४५० ले पछि पार्दै राई विजयी भए ।

उनी एमालेसँगको तालमेलमा उम्मेदवार भएका थिए । चुनावको मौन अवधि सुरू हुनुअघि धरान आएर एमाले अध्यक्ष केपी ओलीले अशोक राईलाई चुनाव जित्न ‘एमाले हुनु नै पर्ने भो’ भनेका थिए । ओलीले भनेजस्तै राई एमाले त भएका छैनन् तर एमालेको साथले २८ वर्ष पनि निर्वाचित भएका छन् ।

२०४८ सालको निर्वाचनमा राई खोटाङबाट निर्वाचित भएका थिए । ५१ को मध्यावधिमा पनि उनले खोटाङबाटै जिते । ५४ सालमा एमाले विभाजन हुँदा उनी मालेमा लागे । मालेमा लागेपछि उनले आफ्नो निर्वाचन क्षेत्र खोटाङ पनि छाडे । ५६ मा उदयपुरबाट उठेका उनी त्यसताका विजयी भएनन् ।

माले-एमाले एकतापछि पहिलो संविधानसभामा उदयपुरबाट उठेका उनी कांग्रेसका नारायण खड्कासँग पराजित भए ।

६९ सालमा एमालेबाट फुटेर उनले संघीय समाजवादी पार्टी नेपाल बनाए । एमाले उपाध्यक्ष भएकै बेला पार्टी फुटाएका अशोक ७० मा समानुपातिकबाट संविधानसभा सदस्य बने । ७९ मा उनको पार्टी जसपाले एमालेसँग तालमेल गर्‍यो ।

जसपासँगको तालमेलका कारण एमालेले सुनसरी क्षेत्र छाडेको थियो । जसपालाई छाडेको झोंकमा धरानका प्रभावशाली नेता मनोज मेङ्याङ्बो बागी उठेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *