संकटमा परेको जर्मनी आज स्पेनसँग भिड्दै – Nepal Press

संकटमा परेको जर्मनी आज स्पेनसँग भिड्दै

दोहा– कतार विश्वकपमा आइतबार राती दुई पुर्व विजेता जर्मनी र स्पेन आमनेसामने हुँदैैछन्।  समूह ईअन्र्तगत नेपाली समयअनुसार राती पौने १ बजे सुरु हुने  यो प्रतिस्पर्धामा जर्मनी जित्नैपर्ने दबाबमा रहेको छ।

पहिलो खेलमा जापानसँग पराजित भएकाले जर्मनी संकटमा देखिएको हो। स्पेनविरुद्ध हार वा बराबरीको नतिजाले जर्मनीको यात्रा समाप्त हुन सक्ने छ। समूहमा एक खेलपछि स्पेन र जापानको ३÷३ अंक छ। जर्मनी र कोस्टारिका अंकविहिन छन्।
जर्मनी  अघिल्लो संस्करणमा  पहिलो चरणबाटै बाहिरिएको थियो। त्यतिबेला सन् १९३८ पछि पहिलोपटक विश्वकपमा पहिलो चरणबाट बाहिरिएको थियो। यता स्पेनले पहिलो खेलमा कोस्टा रिकालाई ७–० गोलले हराएको थियो। युवा खेलाडीसहित कतार आइपुगेको स्पेन उच्च मनोबलमा देखिन्छ।

यसअघि स्पेनले जर्मनीसँगको अन्तिम भेटमा ६–० गोलको नतिजा निकालेको थियो। दुई वर्षअघि भएको त्यो प्रतिस्पर्धामा जर्मनीले ब्यहोरेको  हार उसका लागि ९ दशकयताकै फराकिलो थियो। आइतबार रातीको प्रतिस्पर्धामा पनि स्पेनिस युवा खेलाडीहरु केन्द्रमा रहने छन्।

अघिल्लो खेलमा कोस्टा रिकाविरुद्ध गोल गर्दै गाभि विश्वकपमा गोल गर्ने सन् १९५८ यताकै सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। विश्वकपमा स्पेन र जर्मनी पाचौँपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि सन् १९६६ मा यी दुई टोली पहिलोपटक भिडेका थिए। त्यतिबेला जर्मनी २–१ गोलले विजयी भएको थियो।

सन् १९८२ को विश्वकपमा जर्मनीले २–१ गोलले नै हराएको थियो भने सन् १९९४ को विश्वकपमा यी दुई टोलीबीच १–१ गोलको बराबरी भएको थियो। सन् २०१० को विश्वकपमा स्पेनले जर्मनीलाई १–० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो। जर्मनी पाचौँपटक विश्वकप जित्ने प्रयाशमा रहेको टोली हो।

अन्तिमपटक सन् २०१४ को विश्वकप जितेको जर्मनी ब्राजिलको नाममा रहेको सर्वाधिक उपाधि जित्ने टोलीको कीर्तिमान बराबरी गर्न चाहन्छ। यो विश्वकपमा जर्मनी मात्र ब्राजिलको उक्त कीर्तिमान बराबरी गर्न सक्ने स्थितीमा रहेको टोली हो। अर्को चारपटकको विजेता इटाली यसपटक छनोट नै भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *