एनसेलले शुरु गर्‍यो तीन प्लान, कुल लिँदा ग्राहकलाई कस्तो फाइदा – Nepal Press

एनसेलले शुरु गर्‍यो तीन प्लान, कुल लिँदा ग्राहकलाई कस्तो फाइदा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि नयाँ प्रिपेड प्लान ल्याएको छ । दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रूपमा यी प्लानहरू सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ प्रिपेड प्लान अन्तर्गत सजिलो, सहयात्री र सही गरी तीनवटा प्लान अपडेट गरिएका छन् । यी प्याकहरू आइतबार (मंसिर ४) देखि सञ्चालनमा आएका हुन् । ग्राहकले सजिलोको कर सहित ९७ रुपैयाँ सहयात्री प्लानको ९८ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्छन् ।

स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रूपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समय सीमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ । त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १.६२ रुपैयाँ प्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउन सक्छन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यका लागि सहयात्री प्लान रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले १० रुपैयाँ मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समय सीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् ।

सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफूले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेट पछि छुट प्राप्त गर्न सक्छन् ।

त्यस्तै गरी अर्को स्टार्टर प्याक हो युवा वर्गलाई लक्षित सही यो प्लान । यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समय सीमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समय सीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् ।

यसका साथै, यी सबै स्टार्टर प्याकहरूमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्य राति सम्म २ सय रुपैयाँ र सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहन्छ ।

नेपाल घुम्न आउने पर्यटकहरूका लागि पनि एनसेलले १००, ५०० र १००० रुपैयाँका तीन प्लानहरू प्रदान गर्दै आएको छ । १०० रुपैयाँको प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् ।

५ सयको प्लानमा पर्यटकले ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समय सीमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् ।

त्यस्तै १००० रुपैयाँको को प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समय सीमा रहेको २५ जीबी डेटा पाउने एनसेलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर