बैंकमा लगानीयोग्य रकमको अभाव उस्तै, चुनावको प्रभाव कति ? – Nepal Press

बैंकमा लगानीयोग्य रकमको अभाव उस्तै, चुनावको प्रभाव कति ?

काठमाडौं । चुनावताका बैंकिङ सिस्टममा प्रशस्तै पैसा आउने र तरलता सहज हुने अनुमान थियो । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने धेरै ठूलो रकम बैंकिङ सिस्टमबाट भित्रिएको देखिँदैन । केन्द्रीय बैंकको तथ्यांकअनुसार १ अर्ब रुपैयाँमात्रै बढेको छ ।

राष्ट्र बैंकका अनुसार कात्तिक १ गतेसम्म ५१ खर्ब ६९ अर्ब निक्षेप थियो । कार्तिक मसान्तसम्म निक्षेप ५१ खर्ब ७० अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेल बताउँछन् ।

बैंकर्स संघको तथ्यांकले पनि वाणिज्य बैंकमा ठूलो निक्षेप आएको देखाउँदैन । असोज १ गतेको तुलनामा असोज मसान्तसम्म ३५ अर्ब रुपैयाँले वाणिज्य बैंकमा निक्षेप बढेको देखिन्छ । कात्तिक पहिलो साता आइपुग्दा ६ अर्ब निक्षेप बैंकबाट झिकिएको थियो ।

संघका अनुसार कात्तिक दोस्रो साता थप १७ अर्ब रुपैयाँ निक्षेप वाणिज्य बैंकहरुबाट बाहिरिएको थियो । तर, कात्तिक तेस्रो साता २१ अर्ब निक्षेप बढेको संघले जनाएको छ । संघका अनुसार कात्तिक अन्तिम सातामा थप १७ अर्ब निक्षेप बढेको थियो ।

बैंक तथा वित्तीय संस्थाको समग्र अवस्था हेर्दा कात्तिक १ देखि मंसिर ७ गतेसम्म १४ अर्ब रुपैयाँ निक्षेप आएको देखिएको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ अर्थतन्त्रको भेरियबल्स नै परिर्वतन हुने गरी बैंकमा पैसा नआएको बताउँछन् । सामान्य रकम बैंकमा आए पनि अझै बैंकिङ प्रणालीमा लगानी योग्य रकम सहज नभएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘अहिले बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँमात्र तरलता रहेको केन्द्रीय बैंकको सिस्टममा देखिन्छ । महिनाभरको औसत तरलताको अवस्था हेर्ने हो भने दैनिक ११ देखि १२ अर्ब रुपैयाँसम्म देखिन्छ ।’­

कहाँ गयो चुनावी खर्च ?

उसो भए चुनावमा उम्मेदवारले गरेको खर्च कता गयो ? सामान्यतया चुनाव सकिएको तीन सातापछि अर्थतन्त्रको परिवर्तन देख्न सकिने अर्थविद् नरबहादुर थापा बताउँछन् । थापाका अनुसार अर्थतन्त्रमा चुनावकै कारण ठूलो परिवर्तन आउने देखिँदैन ।

अर्का अर्थविद् केशव आचार्य खर्च भएको सबै रकम बैंकिङ प्रणालीमा नआउने बताउँछन् । यद्यपि चुनावको असर पुससम्ममा देखिनसक्ने उनको आँकलन छ ।

‘यो पटक चुनावी खर्च पहिलेको तुलनामा अत्यन्त कम भएको देखिन्छ । यसको पहिलो कारण निर्वाचन आयोगले क्याम्पियन अवधि दुई हप्तामा सीमित पार्‍यो’, उनी भन्छन्, ‘अर्को कारण क्याम्पियनका लागि विभिन्न ठाउँमा झण्डा टाँस्ने, ब्यानर टाँस्ने, पर्चा र पम्पलेट बाटोभरि छर्ने काम बन्द भयो । यस पटक मन्दीको अवस्था पनि थियो ।’

उनका अनुसार पहिले चुनावका कारणले अर्थतन्त्रमा जसरी सकारात्मक प्रभाव पर्थ्यो त्यो यसपटक देखिएको छैन । ‘यो पटक उत्साह पनि थिएन र उम्मेदवारको पछि लाग्ने कार्यकर्ता पनि कम भए । यसले खर्च कम भयो । चुनाव आउँदैछ भनेर सत्तामा भएको राजनीतिक दलहरु तथा सरकारले बढी खर्च गर्ने गरेकोमा त्यस्तो देखिएन’, अर्थविद् थापा थप्छन् ।

चुनावी महिनामा १ खर्ब ३१ अर्बको आयात

कात्तिाक महिनामा १ खर्ब ३१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको भन्सार विभागले जनाएको छ । गत वर्षको तुलनामा यो १८ प्रतिशत कम हो ।

चालु आर्थिक वर्षको साउनमा १ खर्ब ३१ अर्बको आयात भएको थियो । भदौमा १ खर्ब ४२ अर्बको आयात हुँदा असोजमा १ खर्ब २७ अर्बको आयात भएको भन्सार विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *