ताेसिमाकाे जीत कुरिरहेका ललितपुर ३ का मतदाताहरु भन्छन्: अब पुरानाको काम छैन – Nepal Press

ताेसिमाकाे जीत कुरिरहेका ललितपुर ३ का मतदाताहरु भन्छन्: अब पुरानाको काम छैन

ललितपुर । ललितपुर ठेचोका ७६ वर्षीय बुद्धि श्रेष्ठ तीन दिनदेखि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको गेट बाहिर ललितपुर क्षेत्र नं ३ को मत परिणाम कुरिरहेको भेटिइन्छन् ।

अन्य व्यक्तिहरुसँग हौसिँदै गफ गरिरहेका श्रेष्ठलाई हामीले सोध्यौं, ‘तपाईं तीन दिनदेखि यहीं देखिनुहुन्छ किन आउनुभएको हो ?’

उनले सजिलै जवाफ दिए, ‘बुद्धिजीवीलाई जिताउन आएको हो ।’

‘तपाईंको बुद्धिजीवी को हो ?’, अर्को प्रश्नमा श्रेष्ठ भन्छन्, ‘घण्टी, घण्टी । अब घण्टीले जित्छ ।’

सोही गेट बाहिर मत परिणाम कुरेर बसिरहेका अर्का ललितपुर महानगरपालिका- १० का ६९ वर्षीय टेकबहादुर कार्की पनि हौसिँदै अरुलाई भनिरहेका थिए, ‘अब पुरानाको काम छैन, नयाँलाई जिताउन आएको हो । अहिलेसम्म जति पनि प्रतिनिधि आए सबैले जनतालाई भन्दा आफूलाई मात्र हेरे । पहिलेका प्रतिनिधिले के के गलत गरे भन्ने तथ्यांकसहित म देखाइदिन सक्छु ।’

सबैभन्दा बढी मत परिणाम सुन्ने हतारोमा देखिएका ६२ वर्षीय देवेन्द्र कार्की कहिले भित्र र कहिले बाहिर गरिरहेका थिए । यहाँ उपस्थित भएकाहरुमध्ये मत परिणामको सबैभन्दा चासो उनलाई नै छ । कारण कार्की ललितपुर क्षेत्र नं ३ की राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीका बुबा हुन् ।

छोरी जिताएरमात्र फर्कने लक्ष्यमा रहेका उनी हामीलाई भन्छन्, ‘अहिलेसम्मको माहोल राम्रो छ । तर, अझै मत गन्न बाँकी नै छ । ५० प्रतिशतमात्र मत गनियो ।’

यद्यपि, उनको अभिव्यक्तिले छोरीको जीतमा ढुक्क जस्तै देखिएको बुझ्न कठिन छैन । उनी जस्तै झुण्ड झुण्ड बनाएर निर्वाचन मत परिणामका विषयमा आआफ्ना विचार अभिव्यक्त गर्नेहरु निकै भेटिन्छन् ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको गेट बाहिरको घण्टीको आवाजले गेट बाहिर रहेका समर्थकलाई मात्र होइन सडकमा यात्रा गरिरहेकाहरुको पनि ध्यान तानिरहेको छ । यात्रामा रहेकाहरु पनि एकछिन सो ठाउँमा पुगेपछि रोकिन्छन् ।

मतगणनामा अग्रता लिइरहेकी तोसिमा आइतबार यता हरेक साँझ मत गणनास्थल पुग्छिन् । आइतबार उनैले पत्रकारहरुलाई पछिल्लो मतगणनाको अपडेट गराएकी थिइन् । त्यहाँ अन्य उम्मेदवार भने त्यति देखिएका छैनन् ।

४० प्रतिशतभन्दा बढी मत गन्न बाँकी

तोसिमाको जीतको समाचार केही न्युज पोर्टलहरुले बुधबार बिहानै प्रकाशित गरेपछि उनलाई बधाई दिनेहरुको आइरो सामाजिक सञ्जालमा देखियो । मत गणना हुँदै गर्दा जीतको समाचार बनाउन हतारो गर्ने मिडियालाई केहीले भने गाली गरिरहेका थिए । समाचारलाई आधार बनाएर बधाई दिनेहरु बढ्न थालेपछि तोसिमाले सामाजिक सञ्जालमार्फतै यथार्थ स्थितिबारे जानकारी दिएकी थिइन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनिन, ‘विजयी घोषणा तथा बधाई समाचारहरु आइरहेको छ । अझ ४० प्रतिशत बढी मत गणना हुन बाँकी नै छ । धैर्य गरिदिनहुन सबैमा अनुरोधसहित धन्यवाद ।’

अहिले पनि सो क्षेत्रमा मत गणना भइरहेको छ । कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी गणना भइसकेको छ । तर, फराकिलो अन्तरले डा. तोसिमा कार्कीले नै अग्रता लिइरहेकी छन् ।

सो क्षेत्रमा सुरुवाती गणनामा नेकपा एमालेले लिड गरेको थियो । त्यसपछि निरन्तर घण्टीले लिड गरिरहेको छ । सो क्षेत्रबाट लगातार जितिरहेकी पम्फा भुसाल भने तेस्रो स्थानमा छिन् । यो समाचार तयार पार्दासमेत करिब ३३ हजार बढी मत गणना भएको छ । यो क्षेत्रमा कुल ६१ हजार मत खसेको थियो ।


प्रतिक्रिया

One thought on “ताेसिमाकाे जीत कुरिरहेका ललितपुर ३ का मतदाताहरु भन्छन्: अब पुरानाको काम छैन

  1. जसलाई पुरै राज्य लागेर खेद्यो उसलाई जनताले साथ दिए !! मन्त्री भएर सिकाउनु अब राज्य कस्तो हुन्छ र हुनुपर्छ भनेर !!
    धेरै बधाई अनी शुभकामना 🌹🌹🎉🎉

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर