मतगणना नसकिँदै सुमन सायमीले विराजलाई दिए बधाई, नतिजाबारे यसो भन्छन् – Nepal Press

मतगणना नसकिँदै सुमन सायमीले विराजलाई दिए बधाई, नतिजाबारे यसो भन्छन्

काठमाडौं । काठमाडौं– ८ मा लौरो चुनावचिन्हबाट लडेका सुमन सायमीले मतगणना नसकिँदै पराजय स्वीकारेका छन् । मतगणनामा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठलाई उनले बधाई समेत दिए ।

करिब ८ हजार मत गन्न बाँकी छँदा नै सायमीले विराजलाई जित सुनिश्चित बनेको भन्दै बधाई दिएका हुन् । मतगणनाको पछिल्लो अपडेटअनुसार विराज २५ सयभन्दा बढी मतले अगाडि छन् । गन्न बाँकी मतबाट आफू पहिलो हुन नसक्ने निष्कर्ष सायमी स्वयम्ले निकालेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै सायमीले आफूले चुनावी परिणामलाई सहज रुपमा स्वीकार गरेको बताए । उनले भने, ‘म दुखी छैन । चुनावमा हारजित भइहाल्छ । कम्तीमा एउटा प्रदेशमा हामीले जित हासिल गरेका छौँ । त्यो पनि धेरै खुशीको कुरा हो ।’

यद्यपि, चुनावमा राजनीतिक साँठगाँठका कारण आफू पराजित भएको उनको निष्कर्ष छ ।

सायमीले थपे, ‘चुनावमा पोलिटिकल टाइअप भयो । मैले सोचेको थिइनँ यस्तो होला भन्ने । मेरो त सबै अर्ग्यानिक भोट हो । मत किनेर होइन, मन जितेर यो भोट ल्याएको हुँ ।’

राजनीतिक लेनदेनमा कांग्रेस–राप्रपाले घण्टीलाई सघाएको उनको आशय छ । तर, विराजको जितमा आफूलाई गुनासो नरहेको सायमीले बताए ।

‘पुराना दलहरूले नै जितेको भए सायद चुक्चुकाउनुपर्थ्यो होला । तर, यस क्षेत्रले नयाँ अनुहार पाएको छ । मैले जिते पनि उसले जिते पनि हाम्रो एजेन्डा उस्तै हो । त्यसमा खुशी नै छु ।’ उनले भने ।

सायमीले अब आफू संगठन बिस्तारमा लाग्ने बताए ।

‘चुनाव जितेको भए संसदभित्रै बिजी हुन्थेँ होला । हारेपछि अब बाहिर संगठन बिस्तारमा निस्किन पाइयो नि । अब अर्को चुनावसम्म एउटा बलियो वैकल्पिक शक्ति निर्माण गर्नु मेरो उद्देश्य हुनेछ,’ उनले भने ।

मतदाताबाट पाएको मायाले आफूलाई उत्साह दिएको उनले बताए । आफू जुन उद्देश्यका लागि हिँडेको छ, त्यसमा दायाँबायाँ नगर्ने उनको अठोट छ ।

उनले भने, ‘म उद्देश्यका लागि र मुद्दाका लागि हिँडेको हुँ । यसबाट कहिले पनि विचलित हुन्न । चुनाव जित्ने नाममा साम दाम दण्ड भेद सबै प्रयोग गर्ने मेरो सोच थिएन र अब पनि हुँदैन । भोलि पनि म आफ्नै प्रिन्सिपलमा चल्छु । अझै अपग्रेड भएर जनतामाझ आउँछु ।’

उनले विजयोन्मुख उम्मेदवार श्रेष्ठलाई बोली र व्यवहारमा एकरूपता राख्न सुझाव दिए । राजनीतिमा भाषण मात्र गरेर नहुने र संस्कार पनि चाहिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर