काठमाडौं १ मा डम्बर साहुको दाउ: प्रकाशमान हराउन अरु उम्मेदवारको मोर्चाबन्दी (भिडिओ) – Nepal Press

काठमाडौं १ मा डम्बर साहुको दाउ: प्रकाशमान हराउन अरु उम्मेदवारको मोर्चाबन्दी (भिडिओ)

काठमाडौं । आगामी चुनावमा अत्यधिक चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक हो- काठमाडौं १ । यस क्षेत्रमा कांग्रेसका हेभीवेट प्रकाशमान सिंहलाई एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रले चुनौती दिइरहेका छन् ।

यही क्षेत्रबाट अरु पनि चर्चित उम्मेदवार छन्, जस्तै रमेश खरेल, पुकार बम र डम्बर साहु । उनीहरुमध्ये डम्बर साहुले लौरो चुनाव चिन्हबाट उम्मेदवारी दिएका थिए । स्थानीय चुनावपछि स्वतन्त्र उम्मेदवारहरुको समन्वय गर्नेमा साहुले अगुवाइ गरेका थिए । अहिले स्वतन्त्र उम्मेदवारहरुको सञ्जालले ‘हाम्रो पार्टी नेपाल’ गठन गरेर लौरो चुनाव चिन्हबाट विभिन्न क्षेत्रमा उम्मेदवारी दिएको छ ।

काठमाडौं १ मा प्रतिस्पर्धा गरिरहेका साहुको एउटामात्र मिसन छ– कांग्रेसका प्रकाशमानलाई जसरी पनि हराउने । उनी पटक–पटक अवसर पाएर पनि असफल भइसकेका नेता फेरि दोहोरिन नहुने साहु तर्क गर्छन् ।

नेपालप्रेससँग कुरा गर्दै साहुले भने, ‘अब प्रकाशमानको भविष्य छैन । उहाँले गणेशमान सिंहको लिगेसी, फेम र ब्रान्ड बेचेर ३ पटक चुनाव जित्नुभएको थियो । सिंहले साँवा र व्याजसमेत खाइसक्नुभएको छ । अब प्रकाशमान दाइ, तपाईं घरमा नै बस्नुस्, पार्टी राजनीति गर्नुस् । प्रत्यक्ष चुनावमा नआउनुस् । छोरा, भाइ वा युवालाई राजनीतिमा प्रतिनिधित्व गराउनुस् ।’

प्रकाशमान सिंहलाई हराउन अन्य उम्मेदवार एकजुट हुनुपर्ने र परेमा बलिदानी दिन पनि तयार हुनुपर्ने बताउँछन् साहु । उनले एमालेका पौडेल, राप्रपाका मिश्र र सुशासन पार्टीका खरेलसँग मिलेर जान तत्पर रहेको उल्लेख गरे ।

आफूहरुमध्ये कोही एकजनालाई साझा उम्मेदवार मानेर अरुले सहयोग गर्नुपर्ने उनको प्रस्ताव छ । ‘म यो विषयमा सबै उम्मेदवारसँग छलफल गरिरहेको छु’, उनले भने, ‘सिंहले जित्ने अवस्था आएमा उनीबाहेकको गठबन्धन बन्नसक्छ ।’

लौरो चुनाव चिन्ह लिएर काठमाडौं क्षेत्र नम्बर १ बाट उठेका ७ जना उम्मेदवारहरुले भोलिबाट ‘प्रकाशमान सिंह हराउ अभियान’ सुरु गर्नेसमेत साहुले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर