विष्णुको वचन : कालीगण्डकी डाइभर्सन थाल्नेदेखि अधुरा योजनाको पूर्णतासम्म (पूर्णपाठ) – Nepal Press

विष्णुको वचन : कालीगण्डकी डाइभर्सन थाल्नेदेखि अधुरा योजनाको पूर्णतासम्म (पूर्णपाठ)

रूपन्देही । रुपन्देही क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

बुटवलमा आज एक कार्यक्रमबीच एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभा उम्मेदवार पौडेलले आफूले गरेका घोषणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

पौडेलले यसअघि पनि आफ्नो ड्रिम प्रोजेक्टको रूपमा राखेको कालीगण्डकी-तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने बताएका छन् । प्रतिबद्धतापत्रमा लेखिएको छ, ‘सिँचाइ, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण कार्य अघि बढाइनेछ ।’

बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर वृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन उनको घोषणा । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका क्षेत्रमा रहेका ऐतिहासिक एवम् पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन्, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

यस्तै वृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको घोषणापत्रमा उल्लेख छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ, ‘यस आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गरिने छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकहरूमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने छ ।’

यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका पौडेलले प्रतिवद्धतापत्रमार्फत पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणघाट र बुटवल-गोरुसिङ्गे-चन्द्रौटा खण्डलाई अत्याधुनिक छ लेन सडकमा स्तरोन्नति गरिने जनाएका छन् । यस्तै, सिद्धार्थ राजमार्गको बुटवल-सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशीघ्र सम्पन्न गरिने जनाइएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा सुरुङ मार्ग निर्माण गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । पूर्व-पश्चिम राजमार्गको बुटवलस्थित तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुलको एजेण्डा पनि उनले अघि सारेका छन् ।

पौडेलले आफ्नो एजेण्डामा निजी क्षेत्रको लगानीमा केबुलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीयस्थलमा विकास गर्ने उल्लेख गरेका छन् ।

पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोट गढीको उत्खनन, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने पनि उल्लेख छ ।

बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर