जनकपुरधामका डोम समुदाय भन्छन्- भोट माग्दै आउनेसँग यसअघिका वाचाको हिसाब खोज्छौं (भिडिओ) – Nepal Press
मतदातामाझ नेपाल प्रेस

जनकपुरधामका डोम समुदाय भन्छन्- भोट माग्दै आउनेसँग यसअघिका वाचाको हिसाब खोज्छौं (भिडिओ)

जनकपुरधाम । मंसिर ४ नजिकिएसँगै गाउँदेखि शहरसम्म चुनावको माहोल छ । उम्मेदवारहरू भोट माग्न व्यस्त छन् । चुनावी पर्चा पम्पलेटले जताततै घरका भित्ताहरु रंगीन देखिन्छ । चुनावमा कसले बाजी मार्ला भनेर जताततै चर्चा परिचर्चा भइरहेको छ ।

धनुषा क्षेत्र नम्बर ३ मा मधेस प्रदेशको राजधानी जनकपुरधाम पनि परेकाले यहाँ चुनावी माहोल बढी तातेको छ । तर, जनकपुरधाम उपमहानगरपालिका-७ मै रहेको डोम बस्तीमा चुनावी गतिविधि छैन । डोम समुदाय चुनावी गतिविधिबाट अनभिज्ञ छ । उनीहरुको घरदैलोमा कुनै दलका उम्मेदवार पुगेका छैनन् । उनीहरुबीच चुनावी चर्चा पनि भएको सुनिँदैन ।

५ वर्षमा नेताहरू सम्झिएर आउने तर पुराना वाचा केही पूरा नगर्ने भन्दै अधिकांशले गुनासो गरे । आफूहरूको काम चुनाव-चुनावमा मात्र आउने भन्दै विगतमा उम्मेदवारले गर्छु भनेका कामको हिसाब-किताब खोज्ने भनेर बसेका छन् उनीहरू ।

स्थानीय ३५ वर्षीया पुनम मल्लिक सडकमै बसेर बाँसजन्य सामग्री बनाउन व्यस्त थिइन् । चुनावमा को को उम्मेदवार छन् भन्ने उनलाई थाहा छैन । अहिलेसम्म कुनै नेता (उम्मेदवार) भोट माग्न नआएको उनले बताइन् । कसलाई भोट दिने विषयमा पनि उनले अहिलेसम्म केही सोचेकी छैन । ‘को को चुनाव लडेका छन् मलाई थाहा छैन’, उनले भनिन्, ‘म त्यति बुझ्ने मान्छे छैन ।’

मतलाई अमूल्य मानिन्छ । चुनावमा एउटा मतले पनि विशेष महत्व राख्छ । तर, उनी सुरुमा सबैले जसलाई दिन्छन्, उसैलाई भोट दिने बताउँछन् । पछि उनले उम्मेदवारबाट एउटा अपेक्षामात्र राखिन्, ‘ऐलानी जग्गामा बस्दै आएको छु । घर जग्गा छैन । जसले जग्गा दिन्छन् र घर बनाइदिन्छन् । त्यसलाई भोट दिन्छु ।’

भोट माग्न आउने नेतालाई के भन्नुहुन्छ भन्ने जिज्ञासामा उनले थपिन्, ‘अरु सबै ठाउँमा दलितलाई घर दिएको छ । तर, हामीलाई जग्गा न घर दिएको छ । म नेतालाई के भन्छु र ? घर दिनुस्, भोट दिन्छु ।’

अर्का स्थानीय ४० वर्षीय प्रदीप मल्लिक अघिल्लो संसदीय निर्वाचनमा खाडी मुलुकमा थिए । २०७४ को निर्वाचनमा यहाँबाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का राजेन्द्र महतो निर्वाचित भएका थिए । प्रदीप भने आफ्नै क्षेत्रबाट निर्वाचित नेता महतोलाई समेत चिन्दैनन् ।

यो पटक पनि चुनावमा को को लडेका छन् उनलाई थाहा छैन । उनले सुरक्षा दिने, सडक राम्रो बनाउने र समस्या पर्दा साथ सहयोग दिनेलाई जनताले जिताउने गरेको र त्यस्तो नेता हुनुपर्ने बताए । प्रदीपले भने, ‘सुरक्षा गर्ने, राम्रो व्यवहार गर्ने र सुझबुझ भएको नेतालाई भोट दिन्छु । भ्रष्टाचार गर्नेलाई होइन, उम्मेदवार राम्रो हुनुपर्छ ।’

सामान्य वर्षा हुँदा बस्ती नै डुबानमा पर्ने गरेको उनले गुनासो पोखे । ‘वर्षायामका वेला सडक डुबानमा पर्छ’, उनले भने, ‘घरमा कोही बिरामी पर्दा अस्पताल लग्न मुस्किल हुन्छ । त्यसैले राम्रो सडक बनाउनुपर्छ ।’

राम्रो काम गर्ने नेताले चुनाव जितोस् भन्दै उनले भने, ‘हामीलाई पनि खुश राखोस् र आफै पनि खुशी होस् ।’

पुनम जस्तै प्रदीपको गुनासो पनि एउटै छ, ‘हामी जस्ता गरिबलाई सरकारले किन घर दिएन ?’ उनले श्रीमती, दुई छोरी र एक छोरा भाडाको घरमा बसिरहेको सुनाए । फुसकै घरको भाडा मासिक ३ हजार तिरिरहेको उनको भनाइ छ । पहुँच हुने दलितलाई मात्र सरकारले घर दिएको तर आफूहरु नबुझ्ने भएकै कारण कुनै सुविधा नपाउने गरेको उनको गुनासो छ । उनले भोट माग्न आउनेसँग ‘घर र जग्गा’ माग्ने सुनाए ।

अल्पसंख्यक डोम समुदाय मधेसमा सबभन्दा बढी विपन्न मानिन्छ । उनीहरु नै असली सुकुमबासी हुन् । तर, सरकारको नजरमा डोम समुदाय अझै पर्न सकेको छैन । जनकपुरधाम ७ मै करिब सयौं डोम परिवारमध्ये कोही ऐंलानीमा त कोही भाडामा बस्छन् ।

जनकपुरधाम उपमहानगरपालिकामा सरसफाइ गर्ने कर्मचारी रहेका नागेश्वर मरिक यो पटक नेताहरु भोट माग्न आएपछि हिसाब लिने बताउँछन् । २०७४ मा निर्वाचन जितेका राजेन्द्र महतोमाथि आक्रोश पोख्दै उनले भने, ‘भोट माग्न आउँदा के के गरिदिन्छु भनेका थिए । तर, केही गर्नुभएन ।’

महतोले ठगेको र अब त्यस्ता नेतालाई भोट नदिने उनको भनाई छ । सुगर बिरामी नागेश्वरले केही दिन अगाडि जानकी हेल्थ केयरमा तीन दिन भर्ना हुँदा ४० हजार बढी खर्च भएको सुनाए । उनले थपे, ‘सरकारी अस्पतालमै राम्रो उपचार भएको भए प्राइभेटमा यति धेरै खर्च गर्न जाँदैन थिएँ । सरकारी अस्पतालका डाक्टरहरु निजी क्लिनिक खोलेर कमाउ धन्दामा लागेका छन् ।’

उनी थप्छन्, ‘एउटा डेलिभरी गराउन सरकारीमा जाँदा त इलाज हुँदैन । प्राइभेटमा लग्दा कसैलाई अढाई लाख त कसैलाई ५ लाख रुपैयाँसम्म असुल्छन् । कसैको घडेरी बिक्छ, कसैको खेत ।’

नेताहरुलाई भन्दाभन्दा आफू थाकिसकेको भन्दै नागेश्वरले भने, ‘यहाँका जति दलित छन्, सबैले नेताहरुलाई चिनिसके । चुनाव जितेपछि कोही जनतालाई हेर्दैनन् । भोट माग्न नेताहरु यहाँ आएपछि त सबैले थर्काउँछन् ।’

दलित गरिबलाई उपचार गराउन १ लाख, २ लाख, ५ लाख कहाँबाट आउँछन् ?, उनको प्रश्न थियो, ‘गरिब दलितलाई सरकारी अस्पतालमै निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ ।’

उनका अनुसार यो क्षेत्रमा मात्रै करिब ४ सय डोम मतदाता छन् । प्रायः अशिक्षित उनीहरु पुर्ख्यौली पेसा बाँसजन्य सामग्री बनाइ बेचेर गुजारा गर्छन् । राज्यको नजरबाट टाढा उनीहरुको सुरक्षा, स्वास्थ्य, शिक्षा र रोजगारीका लागि चुनावका वेला नेता तथा उम्मेदवारहरु आश्वासन त दिन्छन् । तर, अहिलेसम्म कसैले पनि केही गर्न सकेका छैनन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यस क्षेत्रबाट दर्जनौं उम्मेदवार छन् । प्रतिनिधिसभाका उम्मेदवारहरुमध्ये जसपा-एमाले गठबन्धनबाट जुली महतो र सत्ता गठबन्धनबाट अनिल झा मुख्य प्रतिस्पर्धी हुन् । पटक-पटक मन्त्री बनेर पनि डोम समुदायका लागि केही गर्न नसकेका उनीहरु अहिले पनि आफ्नो एजेण्डामा केही समावेश गरेको देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर