एमालेमा ‘१० बुँदे’ समूहका अधिकांश नेताले पाए टिकट, अष्टलक्ष्मी नयाँलाई छाड्ने पक्षमा – Nepal Press

एमालेमा ‘१० बुँदे’ समूहका अधिकांश नेताले पाए टिकट, अष्टलक्ष्मी नयाँलाई छाड्ने पक्षमा

काठमाडौं । नेकपा एमालेमा ‘१० बुँदे’ समूह भनेर चिनिने अधिकांश नेताले टिकट पाएका छन् । एमाले विभाजनको बेलामा १० बुँदे सहमति गरेर बसेका अधिकांश शीर्ष नेताहरूले टिकट पाएका हुन् । उपाध्यक्ष युवराज ज्ञवालीले भने आफू उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् ।

१० बुँदे सहमति गराउने मध्येका भीम रावल, घनश्याम भुसालबाहेक अधिकांशले टिकट पाउँदा प्रतिनिधिसभा र प्रदेशसभामा समेटिएका छन् । प्रतिनिधिसभा भन्दा प्रदेशमा धेरैले टिकट पाएका छन् । यद्यपि, टिकट नपाएकै कारणले नेता भुसालले एमाले छाडेको घोषणा गरिसकेका छन् ।

प्रदेश १ अन्तर्गत ताप्लेजुङबाट योगेश भट्टराई, ओखलढुंगाबाट यज्ञराज सुनुवार र सुनसरी २ बाट भीम आचार्यले टिकट पाएका छन् । ती तीनै वटै क्षेत्रमा नेकपा विभाजनका बेला प्रचण्ड माधव समूह छाडेर ओलीतिर लागेका नेताहरू दाबेदार थिए ।

तर प्रदेशमा व्यवस्थापन गरेर प्रतिनिधिसभामा १० बुँदे पक्षधरलाई दिइएको हो । महाधिवेशनपछि पार्टी काममा अध्यक्षकै स्पिरिटमा रहेका र जनता कार्यकर्ताबीच लोकप्रिय नेताहरूलाई पक्षधरता हेरेर वञ्चित नगरिएको उपाध्यक्ष सुवास नेम्वाङले बताए । उनले एमालेमा अहिले कुनै गुट वा समूह नै नरहेकाले को कुन पक्षधर भन्नुको अर्थ नरहने दाबी गरे ।

यस्तै, बागमती प्रदेश अन्तर्गत चितवन १ बाट सुरेन्द्र पाण्डे, नुवाकोट २ बाट नारायण खतिवडा र काठमाडौं ८ बाट अष्टलक्ष्मी शाक्यले टिकट पाएका छन् तर शाक्यले उठ्न मानेकी छैनन् । शाक्य संसदीय राजनीतिबाट बिदा लिने घोषणा गरेको भए पनि एमालेले टिकट दिएको हो ।

चितवन २ का कृष्णभक्त पोखरेल पनि फागुन २३ को सर्वोच्चको फैसलापछि एमाले ब्युँतिएको केही समयपछिमात्र माधव नेपाल समूह छाडेर संस्थापन पक्षमा लागेका थिए । सुर्खेतका ध्रुव शाही पनि त्यसपछि नै लागेका हुन् ।

लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा २ बाट ठाकुर गैरेले अवसर पाएका छन्। एकलौटी टिकट पाउँदै आएका सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेपछि गैरेले पहिलो पटक अवसर पाएका हुन् ।

गुल्मी २ मा सचिव गोकर्ण विष्टले टिकट पाएका छन् । नेता विष्टसँग गठबन्धनको एकीकृत समाजवादीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री प्रतिस्पर्धा गर्दैछिन् । एमाले विभाजनको बेलामा अलग बाटोमा लागेका विष्ट र झाँक्रीबीच गुल्मीमा रोचक प्रतिस्पर्धा हुँदैछ। सो क्षेत्रबाट विष्टले जित्दै आइरहेका छन् ।

यस्तै, कैलाली २ बाट झपट रावल, जाजरकोटबाट निरज आचार्य र समानुपातिकतर्फ रघुजी पन्त १० बुँदे पक्षधरका नेताहरू समेटिएका छन् । पन्त समानुपातिकतर्फ खस आर्य क्लस्टरको एक नम्बरमा छन् ।

विभाजनका बेला नेकपा एसतिर लागेर फर्किएका तारा लामाले कञ्चनपुर १ मा टिकट पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर