राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो – Nepal Press

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।

अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरू त्रसित भएका छन् ।

घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रय स्थलमा आश्रय लिएर बसेका छन् ।

अत्यावश्यक सामाग्री लिएर स्थानीयहरू आश्रय स्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ ।

अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ । राप्तीनदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

राप्तीनदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत स्थानमा बाढी आउँछ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको छ ।

बाढी र डुबान सुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारणहरू अहिले त्रसित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर