यी नेता व्यवस्थापन माधव नेपालको बाध्यता, प्रचण्डले नबुझ्दा खटपट – Nepal Press

यी नेता व्यवस्थापन माधव नेपालको बाध्यता, प्रचण्डले नबुझ्दा खटपट

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि केही नेताको व्यवस्थापन गर्नुपर्ने दबाब छ । तर जुन जुन नेता व्यवस्थापन गर्नु पर्ने हो त्यहि ठाउँमा माओवादीको सशक्त दाबी र मापदण्डबाट समेत माओवादीले पाउने भएपछि नेकपा एसमा निराशा र अशन्तोष छाएको छ ।

आफ्ना नेता व्यवस्थापन गर्नुपर्ने बाध्यता माओवादीले नबुझिदिएको भन्दै प्रचण्डसँग माधव नेपालको खटपट समेत भएको छ । दैनिकजसो छलफल भए पनि निष्कर्षमा नेताहरु पुग्न सकेका छैनन् । माधव नेपालको बाध्यता बुझेर शेरबहादुर देउवाले भने ती क्षेत्रमा दाबी छाडेका छन् ।

वार्ता टोलीका एक सदस्यका अनुसार नेकपा एसका नेताहरु राजेन्द्र पाण्डे,जगन्नाथ खतिवडा,प्रकाश ज्वाला,शेरवहादुर कुँवर,भानुभक्त जोशी र शिव भण्डारीको लागि माधव नेपालले अडान छाडेका छैनन् । अन्य सीटमा भने लगभग सहमति छ ।

राजेन्द्र पाण्डे उम्मेदवार बन्ने धादिङ २ मा माओवादीका शालिकराम जमरकट्टेलको सशक्त दावी छ । जमरकट्टेल भावी मुख्यमन्त्रीको ग्यारेन्टी नभएसम्म प्रतिनिधिसभा छाड्ने पक्षमा छैनन् । जबकी मुख्यमन्त्रीका लागि कांग्रेसका प्रदेश सभापति इन्द्र बानिया प्रदेश सभाको उम्मेदवार बन्दैछन् ।

त्यस्तै उपमहासचिव प्रकाश ज्वालाका लागि नेकपा एसले सल्यानमा अडान राखेको छ । तर माओवादीले जितिराखेको क्षेत्र मापदण्ड अनुसार पनि उसैको भागमा पर्ने भएकाले शीर्ष तहमा वार्ता चलिरहेको छ । प्रकाश ज्वालाले कर्णालीमा माओवादी सरकार टिकाउन सांसद पद माया मारेर आफ्नै पार्टीमा विद्रोह गरेका थिए ।

आफूहरुको योगदानको मुल्यांकन हुनुपर्ने नेकपा एसका नेताहरुको भनाइ छ । केन्द्रमा केपी ओलीलाई ढाल्न र प्रदेश सरकारहरुबाट एमालेलाई सबैतिर हटाउन आफूहरु निर्णायक भएकाले त्यसको मुल्यांकन हुनुपर्ने नेकपा एसको भनाइ छ ।

नेकपा एसका अर्का उपमहासचिव जगन्नाथ खतिवडाको व्यवस्थापन माधव नेपालको अर्को बाध्यता हो । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए । माओवादीले त्यहाँ पनि छाड्न मानेको छैन ।

माओवादीले छाड्न नमानेको अर्को क्षेत्र दोलखा पनि हो । दोलखामा माधव नेपालले पूराना नेता शिव भण्डारीलाई व्यवस्थापन गर्न खोजेका छन् । कांग्रेसले रामेछाप लिएर दोलखा माओवादीले लिने चर्चा चलेका बेला नेकपा एसले दोलखाको प्रतिनिधिसभा सीट दावी गरेको छ ।

श्रममन्त्री शेरवहादुर कुँवरको व्यवस्थापन माधव नेपालको अर्को बाध्यता हो । अछाम १ मा कुँवरको दावी छ । तर माओवादीले सोही क्षेत्रमा पाउने हुँदा कुँवर बाहिरिनेछन् । उनले बन्द कोठाका षड्यन्त्र नमान्ने भन्दै कलम चिन्ह लिएर जनताबीच आउने बताइसकेका छन् ।

त्यसो काठमाडौं २ माधव नेपालले छाडेपछि ९ नम्बर क्षेत्र उपमहासचिव डा।बिजय पौडेलको लागि नेकपा एसले अडान लिएको छ । तर सो क्षेत्रमा माओवादीका हितमान शाक्य उम्मेवार बन्ने गरी माओवादीले आफ्नो भागमा पार्न लागेको छ ।

बझाङमा भानुभक्त जोशीको सन्दर्भमा भने लगभग सहमति भएको बताइएको छ । कांग्रेसले उल्लेखित सीटहरुमा नेकपा एसका लागि सकारात्मक भए पनि माओवादी नमानेपछि प्रचण्ड माधवबीच खटपट भएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

One thought on “यी नेता व्यवस्थापन माधव नेपालको बाध्यता, प्रचण्डले नबुझ्दा खटपट

  1. यो गठबन्धन बनेदेखि अहिलेसम्म ५०० भन्दा बढी पटक बैठक बसिसकेछ । प्रचण्ड, माधवहरूको त काम छैन यसो बैठक भनेर वालुवाटार धायो,राज्यकोषबाट पाकेको मिष्ठान्न खायो बेलुका घर आयो । मेडिया घेर्न आईहाल्छन, विभिन्न पदमा नियुक्ति दिलाएर कमाईएकै छ राम्रै भैराखेको छ । तर देशको वागडोर नै जिम्माा लिएका देउवालाई पनि कति फुर्सद हो ! हुन त कामै नगरि करिव डेढ वर्ष वितायर देशको महत्वपूर्ण समय बर्बाद पारे । देशको ढुकुटी रित्तयाए । विचौलिया, दलाल , भ्रष्टाचारीहरूको नेता बने , विदेशीको अगाडि लाजमर्दो व्यवहार देखाए । नेपाली जनताहरू हो अब पनि यहि गठबन्धनलाई भोट दिएर आउने ५ वर्ष देशलाई अन्धकारमा डुवाउने ? काम गर्ने, देशको स्वाभिमानलाई उचो राख्ने, देशको कायापलट गर्ने ओलिलाई बहुमत दिउँ । विवेक पुर्याउँ । जुनसुकै पार्टीका भए पनि यसपटक एमालेलाई बहुमत दिलाओै र देशको मुहार फेरौ । गठबन्धनको दुष्चक्रबाट देशलाई मुक्त गरौ ।विदेशीलाई पनि देखाईदिउँ कि नेपाली जनता चाहिँ महान छन् केवल नेता मात्र विकाउ हुन् भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर