लिङ्गे पिङको संरक्षणका लागि गाउँपालिकाले दशैंका बेला दियो लट्ठा – Nepal Press

लिङ्गे पिङको संरक्षणका लागि गाउँपालिकाले दशैंका बेला दियो लट्ठा

पदकबाट विभूषित हुने राष्ट्रिय प्रतिभाहरूलाई गाउँपालिकाको सम्मान

सिन्धुपाल्चोक । लोप हुँदै गएको लिङ्गे पिङको संरक्षण गर्ने उद्देश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले सबै वडाहरूमा पिङ थाप्नका लागि डोरी(लट्ठा) उपलब्ध गराएको छ ।

विजया दशमीको अवसरमा गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले वडाध्यक्षहरूलाई पिङको लट्ठा उपलब्ध गराएका थिए ।

‘गाउँ घरमा अहिले लिङ्गे पिङ लोप हुँदै गएको छ, परम्परागत पिङको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व पनि हो, गाउँपालिका अध्यक्ष तिमल्सिनाले भने–‘हामीले यो वर्षदेखि वडाका सबै प्रमुख स्थानहरूमा पिङ थापेर त्यसको संरक्षण गर्छौ ।’

गाउँपालिकाले दशैंको अवसरमा ३० थान लिङ्गे पिङको लट्ठा खरिद गरेर सातै वडाका अध्यक्षहरूलाई वितरण गरेको छ ।

वडाका मुख्य मुख्य बस्तीहरू स्थानीयको सहभागितामा पिङ बनाउने गाउँपालिका अध्यक्ष तिमल्सिनाले जानकारी दिए । अहिले दशैंमा मनोरञ्जनका धेरै विधि भए पनि परम्परागत मनोरञ्जनको साधन पिङ भएकाले यो वर्षदेखि गाउँपालिकाले यसको संरक्षणको सुरुवात गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

केही वर्ष अघिसम्म स्थानीय जम्मा हुने चोक–चोकमा लिङ्गे पुल बनाउने चलन भए पनि अहिले सिन्धुपाल्चोकमा कमै स्थानमा मात्रै यस्ता पिङ थाप्ने चलन छ । गाउँपालिकाले पिङको डोरी(लट्ठा) उपलब्ध गराएपछि वडाध्यक्षहरूकै सक्रियतामा पिङ थाप्न सुरु गरिएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष ईश्वर तामाङले जानकारी दिए ।

पदकबाट पाउनेलाई सम्मान

यसैबीच संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभिन्न पद तथा मान पदवीबाट विभूषित हुने सुनकोशी गाउँपालिकाका दुई युवाहरूलाई सुनकोशी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा पदक प्राप्त गर्ने दुई जनालाई सम्मान गरिएको हो ।

संविधान दिवस २०७८ मा सुनकोशी–६ का बासिन्दा समेत रहेका ह्याम्स अस्पतालका अध्यक्ष आरएस(रामशरण) भण्डारी सुर्कीर्तिमय राष्ट्रदिप पदकबाट विभूषित भएका थिए भने २०७९ को अवसरमा सुनकोशी–६ का राजु कार्की जनसेवा श्री पदकबाट विभूषित गर्ने सरकारले निर्णय गरेको थियो ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै ह्याम्स अस्पतालका अध्यक्ष समेत रहेका भण्डारीलाई पदक बाट विभूषित गरेपछि आफ्नो क्षेत्रका प्रतिभालाई गाउँपालिकाले सम्मान गरेको अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै बन्जी जम्प लगायत साहसिक खेल मार्फत स्वदेशी र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको भन्दै पर्यटन व्यवसायी राजु कार्कीलाई पदकबाट विभूषित गर्ने निर्णय भएको थियो ।

सुनकोशी गाउँपालिका भित्रका विद्यालयहरूबाट एसइई परीक्षा २०७८ मा उत्कृष्ट हुने विद्यार्थीहरूलाई समेत गाउँपालिकाले नगद पुरस्कार सहित सम्मान गरेको थियो । सामुदायिक विद्यालय तर्फ उत्कृष्ट हुने महेन्द्रदोय माविका मिलन केसी र छात्रातर्फ पनि सोही विद्यालयकी दिया दंगाललाई नगद ११ हजार सहित सम्मान गरिएको थियो ।

त्यस्तै संस्थागत विद्यालय तर्फ सदाबहार एकेडेमीका रामकृष्ण विकलाई पनि नगद ११ हजार सहित सम्मान गरिएको थियो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सना, उपाध्यक्ष कान्छी तामाङ र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *