पुरुषहरु जोगिनुस् ! अनलाइनबाट युवती सप्लाई गर्ने भन्दै यसरी हुँदैछ ठगी (अडियोसहित) – Nepal Press

पुरुषहरु जोगिनुस् ! अनलाइनबाट युवती सप्लाई गर्ने भन्दै यसरी हुँदैछ ठगी (अडियोसहित)

काठमाडौं । एक आईटी कम्पनीमा काम गर्ने नारायण देवकोटा (नाम परिवर्तन) को मोबाइल नम्बरमा एकसाता अघि अनौठो म्यासेज आयो ।

अपरिचित नम्बरबाट आएको म्यासेज थियो- ‘हेलो सर म अनु सिंह । डु यु वान्ट वान नाइट गर्ल फर फन… इफ आर यू इन्ट्रेस्टेड देन कल रिटर्न… हन्ड्रेड पर्सेन्ट प्राइभेसी (तपाईंलाई रमाइलो गर्न एक रातको लागि युवती चाहिएको भए फोन गर्नुस् । शत प्रतिशत गोपनीयता रहनेछ ।)’

बलात्कारका मुद्दा-मामिला बढिरहेको समयमा आएको यस्तो म्यासेजले सुरुमा त उनी झस्किए । तर, कौतुहल पनि बढ्यो । अनि नजिकका साथीहरुसँग शेयर गरे । सबैको निष्कर्ष निस्कियो- बुझौं न, यिनीहरुले कसरी काम गर्ने रहेछन् ।

कसैले फसाउन खोजेको पो हो कि भन्नेमा पनि उनीहरु सचेत थिए । थप अनुसन्धान गर्ने ध्येयले नारायणले म्यासेज आएको नम्बरमा फोन गरे । साँच्चै एक युवतीले उठाइन् । प्रोफेसनल जस्तो लाग्ने लवजमा उनले आफूहरुको व्यवसायबारे विस्तार गरिन् । नेपालभर जहाँ पनि युवतीहरु उपलब्ध गराउन सक्ने र सबै काम अनलाइनमार्फत हुने उनको भनाइ थियो ।

नारायणले उत्सुकतापूर्वक प्रश्न राखे- ‘मेरो मोबाइल नम्बर कसरी पाउनुभयो ?’

उनले जवाफ दिइन्, ‘हामीले रेन्डम (जोसुकैलाई) म्यासेज पठाउने हो । त्यस्तो म्यासेज प्रहरीकै नम्बरमा पनि पुग्न सक्छ (हाँस्दै) । सबै मानिसहरुलाई चाहिने कुरा भएकाले हामीले सुरक्षित रुपमा यो काम गर्छौं ।

उनी यसरी निर्धक्कसाथ बोलिरहेकी थिइन्, मानौं कारबाहीको कुनै चिन्ता छैन । ती युवतीले आफूहरु एजेन्सीका रुपमा काम गरिरहेको र प्राप्त रकम ग्राहकले ‘सन्तुष्टि’ नपाएसम्म सम्बन्धित युवतीलाई नपठाइने प्रत्याभूतिसमेत दिलाइन् ।

यतिमात्र होइन, नारायणलाई विश्वास दिलाउन उनले ह्वाट्स एपमा केही सुन्दर युवतीका तस्वीरहरु पठाइन् ।

‘युवतीहरु तपाईंले छान्न सक्नुहुन्छ । उनीहरुको रेट फरक-फरक छ । जुन युवती छनोट गर्नुहुन्छ, त्यसको रेटअनुसार पैसा ई–सेवामा पठाएपछि हामी तपाईंलाई सप्लाइ गर्छौं’, उनले भनिन् ।

युवतीले बताएअनुसार उनीहरुसँग हेरीहेरी एक रातको ३५ सयदेखि १५ हजार रुपैयाँसम्मका केटीहरु छन् । यहाँभन्दा कुरा अगाडि बढाउन चाहिँ ई-सेवामा पैसा पठाउनुपर्ने उनले बताइन् । नारायणले सोचे- एकपटक ट्राइ गरिहेरौं न त, साँच्चैको व्यवसाय हो कि ठगी हो ?

आफूलाई प्राप्त तस्वीरमध्ये एउटी युवतीको छनोट गरेर ‘रेट’ सोधे । जवाफ आयो ‘१० हजार’ । उनले उपलब्ध ई-सेवा नम्बरमा १० हजार रुपैयाँ पनि पठाइदिए ।

‘तपाईंले छानेको केटीले केही बेरमा तपाईंकै नम्बरमा कल गर्छिन्’, युवतीले भनिन् ।

नभन्दै नारायणलाई फोन पनि आयो । फोनमा बोल्ने केटीले साँझ ६ बजेतिर फेरि फोन गरेर लैनचोरमा भेट्ने बताइन् । त्यसपछि नारायण फोन कुरेर बसे । तर फोन आएन । न म्यासेज गर्ने युवती सम्पर्कमा आइन् न त तस्वीरमा भएकी युवती ।

नारायणले निष्कर्ष निकाले- अनलाइनबाट केटी मिलाइदिने नाममा एउटा गिरोहले यसरी खुलेआम ठगी गरिरहेछ ।

मोबाइल नम्बरमा फोन गरेको र ई-सेवामा पैसा पठाएकाले उनीहरु सजिलै समातिनसक्ने उनलाई लागेको थियो । प्रहरीलाई उनले यस विषयमा जानकारी पनि दिए । तर, प्रहरीले हाँसेर टारिदिएको उनी बताउँछन् ।

खासमा प्रहरीका विभिन्न युनिटले यो विषयमा अनुसन्धान गरेका पनि रहेछन् । तर, सीमा क्षेत्रबाट गिरोह सक्रिय रहेको र ठगीमा मुद्दा चलाउन बिगो रकम निकै कम भएकाले समस्या देखिएको एक अनुसन्धान अधिकारी बताउँछन् ।

‘काठमाडौंमा भएजसरी कुरा गर्ने भए पनि तत्कालै प्राविधिक हिसाबले अनुसन्धान गर्दा कैलालीमा देखिन्छ । ठगिने रकम पनि थोरै भएकाले पक्राउ परिहाले मुद्दा चलाउनै समस्या हुन्छ’, ती अनुसन्धान अधिकृतले भने ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले नै यसबारे अनुसन्धान गर्न विभिन्न युनिटहरुलाई प्रमाणहरु पठाएर निर्देशन दिएको थियो ।

‘प्रहरी प्रधान कार्यालयमा पनि यसरी ठगी भइरहेको छ भनेर निवेदन परेको रहेछ’, ती अधिकृतले भने । गिरोहले फेसबुकमा अपलोड भएका जोकोही युवतीका तस्वीर डाउनलोड गरेर पठाउने गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले घटनाबारे प्रहरी प्रधान कार्यालय जानकार रहेको र यसमा साइबर व्युरोले पनि अनुसन्धान गरिरहेको बताए ।

‘यसमा मान्छे पक्राउ र कारबाहीसमेत भएको छ’, डीआइजी राईले भने ।

लाजले सम्पर्कमै आउँदैनन् ‘पीडित’

यसरी ठगिनेहरु धेरै हुन सक्ने भए पनि प्रहरी सम्पर्कमा भने निकै कम संख्यामा आउने गरेको प्रहरी अधिकारी बताउँछन् ।

‘वेश्यावृत्तिको विषय भएकाले पीडितहरु बरु पैसा माया मार्छन् । तर, उजुरी गर्न आउँदैनन्’, हनी ट्रयापलगायत विभिन्न गम्भीर घटनाको अनुसन्धान गरेका एक अधिकृत भन्छन् । गिरोहले यही कमजोरीलाई आधार बनाएर ठग्ने गरेको उनको भनाइ छ ।

अनलाइनबाट पैसा पठाए पनि विभिन्न व्यक्तिको नामबाट निकालिएका सिमकार्ड हुने र थोरै पैसाको कारोबारमा विवरणहरु पनि भर्न नपर्ने कारणले गिरोहले सजिलै ठगिरहेको उनले बताए ।

‘कतिले त पैसा निकालेपछि खाता बन्द पनि गरिहाल्छन्’, उनले भने, ‘यसमा चेतनाको स्तर बढाउनुपर्ने र मानिसहरु आफैं सजग हुनुपर्छ ।’

नेपालमा बलात्कारसम्बन्धी कानून निकै कडा छ । पछिल्लो समय चर्चित सेलिब्रिटी पनि सामान्य गल्तीका कारण ठूला मुद्दामा फसिरहेको अवस्थामा यस्तो धन्धाले जोकोहीलाई ‘शिकार’ बनाउनसक्ने खतरा उत्तिकै छ । त्यसैले पुरुषहरु सचेत भएको राम्रो ।


प्रतिक्रिया

One thought on “पुरुषहरु जोगिनुस् ! अनलाइनबाट युवती सप्लाई गर्ने भन्दै यसरी हुँदैछ ठगी (अडियोसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर